चाडबाडको मध्यमा एमाले अधिवेशन : तीर एक,शिकार अनेक

प्रमुख प्रतिपक्षी दल एमालेले दशौं महाधिवेशन मंसिर १० गतेदेखि १२ गतेसम्म काठमाडौंमा गर्ने तयारी अघि बढाएको छ । त्यसअघि विधानमा आवश्यक परिमार्जन गर्न यो साताको अन्तमा विधान अधिवेशन बोलाइएको छ ।

त्यहि विधान अधिवेशनलाई लक्षित गर्दै गत साता स्थायी समिति बैठक बसेको थियो । अस्तिदेखि जारी केन्द्रीय समितिको बैठक आज सकिँदैछ । नेतृत्वले जवाफ र धारणा पस्केपछि बैठक सकिने छ ।

सत्ताबाट विमुख भएलगत्तै एमाले अधिवेशनमा होमिएको हो । तर, नेपाली समाजमा साउनदेखि शुरु भएको चाडपर्वको सिजनले मंसिरसम्म छोप्छ । यहीबीचमा कृषि कर्मका धेरै काम गर्नुपर्ने हुन्छ । तर, एमालेको महाधिवेशनका सबैजसो चरण चाडपर्वका मध्यमा राखिएको छ ।

अर्को साताको बिहीबारदेखि दशैं शुरु हुँदैछ । दशैंको लागि अहिलेदेखि नै मानिसहरु व्यस्त भइसकेका छन् । असोज पहिलो साता दशैँ सकिएलगत्तै कात्तिक ६ गतेदेखि एमालेको वडा अधिवेशन शुरु हुने भनिएको छ । कात्तिक ९ गतेदेखि पालिकास्तरको अधिवेशन तोकिएको छ ।

वडा अधिवेशन र पालिका अधिवेशन मुलुकभर एकैचोटी गर्ने योजना छ । त्यसपछि अर्को ठूलो चाड तिहार शुरु हुनेछ । कात्तिक १६ गतेदेखि तिहार र मंसिर २४ गते तराईको ठूलो पर्व छठ पर्व परेको छ । त्यसलगत्तै मंसिरमा महाधिवेशनको मिति तोकिएको छ ।

यस्तो हतारमा किन अधिवेशन र महाधिवेशन गरिएको होला ? भनेर सोधिएको जिज्ञासामा एमाले स्थायी समितिका एक जना सदस्य भन्छन्, ‘अरु केही होइन,लट्टीपट्टी पार्ने र ७० बर्षभित्रै पुन: अध्यक्ष भैसक्ने उद्देश्य हो ।’

उनी भन्छन्, ‘विधान अधिवेशन पनि औपचारिकता पूरा गरेर सकिनेछ । आजको केन्द्रीय समिति बैठक पनि थाल्नेबित्तिक्कै सकिने निश्चित छ । त्यसपछिको स्थायी समिति पनि त्यसैगरी सकिने छ ।’

सबैलाई चटारो भएको बेलामा गरिने जुनसुकै काम र निर्णयको उद्देश्य सबैले बुझेको उनको ठम्याइ छ । अधिकांशलाई दशैंको चटारो लागिसकेको छ । कतिपय अहिले पनि कोरोना संक्रमणको जोखिममा छन् । यस्तो बेलामा गाउँ र दूरदराजसम्म जान सवारी साधनको दुःख छ । पैसोको जोहो गर्नुपर्ने अवस्था छ । कतिपय हवाई जहाजको टिकट मिलाउन कुदेका छन् ।

तर, नेतृत्व यस्तैमा अधिवेशन र महाधिवेशन सकाउने चटारोमा लाग्नुलाई सबैले बेग्लै ढंगले हेरेका हुन् ।

टिप्पणीहरू