​मस्तीमै छ हाकिमको मन

दसैंबिदा सुरु हुनअघि नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत केही महिला कर्मचारी प्रधान कार्यालय बबरमहल पुगे । उनीहरूले त्यहाँ कार्यरत महानिर्देशक र उपमहानिर्देशकलाई समेत भेटी आफूमाथि भएका यौनजन्य दुव्र्यवहारबारे बताए ।

उनीहरूले प्राधिकरण कार्यालय एयरपोर्टका प्रमुख देवानन्द उपाध्यायले अनुचित आशा राखी यौनजन्य दुव्र्यवहार गरेको बताएपछि सुनिरहेकाले मौखिक रूपले होइन लिखित उजुरी दिनुभएमा छानबिन प्रक्रिया अघि बढाउन सजिलो हुने प्रस्ट्याए । तर, ती महिला कर्मचारीले आफ्नै बदनामीको भयले लिखित उजुरी दिने साहस गरेनन् । बरु यस्ता व्यवहार खेपी आफूलाई अवहेलित महसुस गरिरहनुको सट्टा तत्कालै त्यहाँबाट सरुवा गरिदिन पनि अनुरोध गरे । कार्यालयका प्रमुखले यौनजन्य दुव्र्यवहार गरेको मौखिक उजुरी गरे पनि लिखित दिन नचाहने कारण भने जनकपुर र भैरहवामा कार्यरत रहँदा देवानन्दका यस्तै दुव्र्यवहारका उजुरी सजायबिना नै टुंगिनु रहेको छ । जनकपुरमा विमानस्थल प्रमुखका रूपमा कार्यरत रहँदा उनले त्यहाँ काम गर्ने युवकमाथि जबर्जस्ती यौन दुव्र्यहार गरे ।

निकै हीनता र अपमानित महसुस गरेका युवकले स्थानीय भलाद्मीको सल्लाहमा जिल्ला प्रशासन कार्यालयमा घटना विवरणसहित उजुरी हाले । जिप्रकाको पहलमा राम्रै रकम खर्चिएर देवानन्द र युवकबीच मिलापत्र भयो । यति मात्र होइन, भैरहवा विमानस्थलमा कार्यरत रहेका बेला पनि त्यहीं कार्यरत अधिकृत तहकै कर्मचारीकी श्रीमतीलाई देवानन्दले जबर्जस्ती यौनआकांक्षाको सिकार बनाए । यसको लिखित उजुरी केन्द्रीय कार्यालयमै प¥यो । हालका महानिर्देशक राजीव गौतमको संयोजकत्वमा छानबिन कमिटी बन्यो । तर, हालसम्म पनि न छानबिनको रिपोर्ट बाहिर आएको छ, न देवानन्दमाथि कुनै कारबाही भएको छ । त्रिभुवन विमानस्थलमा साढे ४ सयजति नागरिक उड्डयन प्राधिकरणका कर्मचारी कार्यरत छन् र यीमध्ये डेढ सयजति महिला छन् ।

यौनका निकै पारखी देवानन्दले उनको कार्यकक्षमा उनले नचाहेसम्म अरू कसैले पनि ढोका खोल्नै नसक्ने विद्युतीय उपकरण जडान गराएका छन् । कार्यालयको कामले कोही कर्मचारीभित्र छिर्न चाहेमा वा अरू कसैले भेट्न चाहे उनी स्वयंले नै स्वचालित रिमोटकन्ट्रोल दबाएपछि मात्र ढोका खोलिन्छ । सरकारी कार्यालयका प्रमुखले माफियाले जसरी बस्नुपर्ने जरुरत किन पर्छ ? त्यहीं कार्यरत भुक्तभोगी कर्मचारीको दुखेसो छ । आउट सोर्सिंगबाट जागिरमा खटाइएका सुरक्षाको जिम्मेवारीमा रहेका तथा सफाइका लागि खटिने महिला कर्मचारीसमेत उनको नजरबाट नबचेका प्रसंग एयरपोर्टदेखि बबरमहलसम्म व्याप्त छन् । तैपनि, उनी नै मन्त्रीलाई रिझाएर हाल कार्यरत महानिर्देशकलाई हटाई प्राधिकरणको महानिर्देशक बन्ने दौडमा अग्रपंक्तिमा रहेका पर्यटन मन्त्रालय स्रोतले उल्लेख गरेको छ ।

टिप्पणीहरू