​म्याडमलाई बुझाउनेको मस्ती

देशलाई चुनावले छोपिसक्यो । उम्मेदवार खर्चको जोहो गर्ने दौडधूपमा छन् । प्रधानमन्त्री पत्नी र प्रतिनिधिसभाकी उम्मेदवारसमेत रहेकी डा.आरजु देउवालाई भने चुनावअघि नै पाँच करोड जुटाउने तयारी उनका विश्वासपात्रहरूले मिलाइसकेका छन् ।

आरजुका लागि ५ करोड जुटाउने पैसा बिदेसिने गरिब नेपालीका छोरीछोरीले ऋण गरी दिनुपर्ने छ । अहिलेसम्म नेपालीका लागि रोजगारीको गन्तव्यका रूपमा रहेका मलेसियासहितका ६ वटा मुलुकमा जाने गरिब नेपालीले भिसा र टिकट फ्री पाउने र उनीहरूले मेनपावरलाई सेवा शुल्कबापत मात्र १० हजार दिनुपर्ने प्रावधान सरकारले लागू गरेको छ । आरजुलाई चुनावअघि नै ५ करोड दिएर वैदेशिक रोजगार व्यवसायीले सेवा शुल्कका नाममा वैधानकि रूपले लिन पाउने रकमको मात्रा बढाएर ३५ हजारसम्म पु¥याउने तयारी अन्तिम चरणमा पुगेको छ ।

आरजुलाई चुनाव खर्च जुटाउने तयारीस्वरूप मेनपावर व्यवसायी महासंघ र वैदेशिक रोजगार विभागका महानिर्देशकको पहलमा हाल निर्धारण गरिएको १० हजार सेवा शुल्कलाई बढाएर कामदारको एक महिनाको तलब बराबर पु¥याउन लागिएको हो । यसका लागि विभागका महानिर्देशक विश्वराज पाण्डे, बिचौलिया भरत गुरुङ तथा द रिभर ओभरसिजका रघु पुरी र एसओएसका हेम गुरुङहरूको दर्जनौं बैठक बसिसकेको छ । आरजुलाई दिने भनी रकम उठाउँदा नकारात्मक सन्देश जाने र व्यवसायीलाई समेत असहज हुने भएकाले पैसा उठाउन सहज हुनेगरी व्यवसायी महासंघले चोरबाटो खोलिदिएको छ । महासंघको नाममा तीनकुनेमा रहेको जग्गामा भवन निर्माण गर्ने निर्णय यसअघि नै भइसकेको हो । अहिले सोही प्रयोजनका लागि हेम गुरुङको संयोजकत्वमा भवन निर्माण समिति बनाइएको छ ।

भवन निर्माणका नाममा हाल चलिरहेका ७ सयभन्दा बढी मेनपावर कम्पनी प्रत्येकसँग कारोबार हेरी १ देखि डेढलाखसम्म रकम उठाउन लागिएको छ । गौशालास्थित रघुकै होटल इम्पेरियल र होटल द्वारिकाजमा बसेको विश्वराजसहितको बैठकबाट आरजुलाई ५ करोड दिने र अरू रकम पनि आ–आफैं शुभलाभ गर्ने योजना बनेको महासंघका एक पदाधिकारीले जनआस्थालाई बताए । रघु र हेमको अनुमान अनुसार ४ सय जति मेनपावरसँग डेढलाखका दरले र अरू ३ सयसँग एक लाखका हिसाबले भवन निर्माणका नाममा जम्मा ९ करोड उठाउन सकिनेछ । यसबाट ५ लाख आरजुका नाममा विश्वराज पाण्डे र भरत गुरुङको हातमा हालिने छ भने २ करोड भवन निर्माणका लागि खर्चिएर २ करोड रघु, हेम, विश्वराज र भरतले लिनेगरी सहमति भएको पनि बुझिएको छ ।

अझ रघु र हेमले त भवन निर्माण नभए पनि १० हजारको सेवा शुल्कलाई ३५ हजार गराउँदा व्यवसायीले एक÷डेढ लाखको हिसाब नखोज्ने भएकाले २ करोड पनि हात लगाउने योजना बनाएको महासंघ स्रोतले उल्लेख गरेको छ । वैरोविका महानिर्देशक विश्वराजले भनेजति रकम बुझाऊ आरजुलाई भनी जसरी पनि निर्णय गराउँछु भनेकाले रघु र हेम पैसा उठाउन लागेका हुन् । चितवनका भरत गुरुङ कांग्रेस महासमिति सदस्य हुन् र उनी विश्वराजका खास मानिस हुन् । उनको काम भनेकै जस्ता मामलामा पनि पैसा आउने भए बिचौलियाको भूमिका निर्वाह गर्नु हो । दीपक बोहरा श्रममन्त्री भएका बेला पनि सेवाशुल्क ३५ हजार पु¥याउने भनी हेम र रघुहरूले व्यवसायीसँग ४ करोड उठाए । दीपकलाई १ करोड बैनास्वरूप दिए पनि । तर, तत्कालीन सचिव विष्णु लम्सालले श्रमिकलाई मार पर्ने निर्णय गर्न सक्दिनँ भनेपछि यो अड्कियो । निर्णय गराउन नसकेपछि मन्त्री बोहराले ५० लाख फिर्ता गरे पनि ५० लाख भने नदिएको महासंघ स्रोतले उल्लेख गरेको छ ।

सूर्यमान गुरुङ मन्त्री हुँदा पनि विश्वराज र भरत खुब लागे । तर, उनले मानेनन् । हालका मन्त्री फरमुल्ला मनसुरलाई त मैले नै श्रममा ल्याएको हो भनी भरतले भन्ने गरेकाले पनि अब खाडीतिर कामका लागि भास्सिने नेपालीले सेवा शुल्कका नाममा ३५ हजार बुझाउनुपर्ने गरी सरकारी नियम बन्ने बताइन्छ । आरजुको चुनाव खर्चका लागि गरिब नेपालीले करोडौं बुझाउनुपर्ने निर्णय चुनावअघि नै भइसक्ने र यही पैसाले अरु गरिबलाई किनेर उनले चुनाव जित्ने अवस्था गणतान्त्रिक नेपालका लागि लज्जाको विषय होइन र ?

टिप्पणीहरू