​मन्त्रीहरूलाई साह्रै मुस्किल

मन्त्रीहरूको गाडीको सोख पनि कस्तो ! मन्त्रालय फेरिएपछि नयाँ मन्त्रालयमा नयाँ गाडी नै चाहिने । यस्तो गरे, दीपक बोहराले ।
माओवादी मन्त्रीहरूलाई बिनाविभागीय बनाउनुअघिका विज्ञानमन्त्री र त्यसपछिका स्वास्थ्यमन्त्री हुन् उनी ।

बिनाविभागीय बनाइए पनि मन्त्री भएकै नाताले गिरिराजमणिले चढिआएको गाडी छाडेनन् । त्यही गाडी कहाँ छ भन्दै बोहराले ताकेता गर्दा स्वास्थ्यका हाकिमहरू समस्यामा परेका हुन् । पुरानो चलनअनुसार क्याबिनेट मन्त्रीका लागि गाडीको व्यवस्था मन्त्रिपरिषद् सचिवालयले गर्छ र उसले दिने गाडी गृह मन्त्रालयमा हुन्छन् । तर, ती गाडी पुरानो मोडेलका कार, कालो रंगका ।

ती गाडीमा चढ्नाले धेरै मन्त्रीले बाटो–बाटोमा धोका खाएपछि गृहले पठाएका ती गाडी आजकलका मन्त्रीले हत्तपत्त चढ्न मान्दैनन् । तर, शपथग्रहण, औपचारिक भ्रमण, राष्ट्रिय दिवसजस्ता समारोहमा मन्त्रीका लागि तिनै कालो रंगका थोत्रा गाडी अनिवार्य गरिएका कारण अक्सर मन्त्री क्वार्टरमा मन्त्रीले नियमित नचढ्ने कालो गाडी पनि राख्ने गरिएको हुन्छ । अहिले स्वास्थ्यका हाकिम गिरिराजमणिलाई अर्को गाडी पठाइदिने भन्दै उनले लगेको गाडी फिर्ताका लागि ताकेता गरिरहेका छन् । बिनाविभागीय भएका पूर्वगृहमन्त्री जनार्दन शर्मा अहिले रुकुममा चुनावी कार्यक्रममा छन् । उनले गृहमन्त्री भएर पाएको गाडी साथै लगेका छन् । राज्यमन्त्री श्याम श्रेष्ठ कुशलले पनि त्यही गाडी लगेका छन् र उनी पनि रामेछापमा उम्मेदवार नै छन् । बिनाविभागीय बनाइनुअघिका परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग पनि अहिले त्यहीँको गाडी छ ।

अहिले सबभन्दा बिजोग त बिनाविभागीय बनाइएका राज्यमन्त्रीहरूको छ । क्याबिनेटस्तरका मन्त्री बिनाविभागीय भएपछि प्रधानमन्त्री कार्यालयमा जान्छन् र कुनै कोठा, टेबुल कुर्सी प्रयोग गर्न सक्छन् । तर, राज्यमन्त्रीहरूका लागि न बस्ने कुर्सी छ, न उनीहरूलाई सञ्चो–सुबिस्ता सोध्ने कर्मचारी नै छन् । मन्त्रालयमा हुँदा तलब पनि कर्मचारीले टेबुलमै ल्याइदिन्थे । अहिले प्रधानमन्त्री कार्यालयको लेखा शाखामा गएर ‘म बिनाविभागीय राज्यमन्त्री, तलब लिन आएको’ भनेपछि बल्ल कर्मचारीले नमस्कार गर्छन् । 

उता, स्वास्थ्य मन्त्रालयमा दीपक बोहराको हर्ताकर्ता भएका छन् यशोबद्र्धन प्रधान । उनी पहिला स्वास्थ्यसेवा विभागका महानिर्देशक थिए । जसरी गिरिराजमणिका पालामा डा.महेश मास्के अघोषित सल्लाहकार थिए, यशोबद्र्धन पनि त्यस्तै हुन् ।

टिप्पणीहरू