हाम्रो पार्टी माओवादीसँग मिसिने कुरा सतप्रतिशत झूठ होः अध्यक्ष नेपाल

हाम्रो पार्टी माओवादीसँग मिसिने कुरा सतप्रतिशत झूठ होः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीका मान्छेहरुले आफ्नो पार्टी प्रचण्डलाई लगेर बुझाउँछन् भन्दै हिँडेको दावीसहित सो को प्रतिवाद गर्नुभएको छ । हेटौँडामा आयोजित जिल्ला कमिटीको सपथ ग्रहण तथा जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा उहाँले भन्नुभयो–‘त्यो कुरा सत प्रतिशत झूठो हो ।’

उहाँले केपी ओलीका कारण कम्युनिष्ट आन्दोलन कमजोर बनिरहेका बेला उज्यालो तारा बनेर नेकपा एकीकृत समाजवादी स्थापना भएको बताउनुभयो । ‘केपी ओलीको दम्भ,घमण्डका कारण आफै घोडाबाट लडेर कहाँबाट कहाँ पुगिसक्नुभयो’, नेपालले भन्नुभयो–‘तैपनि कराउन,गाली गर्न छोड्नु भएको छैन,जनमत अन्तै पुगिसक्यो ।’

अध्यक्ष नेपालले केही दिनभित्रै मन्त्रिपरिषद बिस्तार हुने बताउनुभयो । उहाँले प्रदेश सरकार पनि निर्माण हुने र त्यसलगत्तै पाँचदलीय गठबन्धनलाई जिल्लास्तरमा समेत बिस्तार गरेर अघि बढ्ने बताउनुभयो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा स्थायी कमिटी सदस्य बिरोध खतिवडाले ओली पक्षले ५ सय दिन संसदमा नारा लगाएपनि १४ जना सांसदको पद नजाने बताउनुभयो । उहाँले नारा जुलुस गरेर पद जाने हो भने संसदको हत्यारा केपी ओली बिरुद्ध आफूहरु १६० जनाले नारा लगाउने बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य मुनु सिग्देल,बागमती प्रदेश कमिटी सदस्य तथा सभासद राजाराम स्याङ्तान,उपाध्यक्ष मीना लामा लगायतले बोल्नुभएको थियो । अध्यक्ष श्रीधर पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २ सय जना बढी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको अध्यक्ष पोखरेलले बताउनुभयो । कार्यक्रममा समाजवादी युवा संघ जिल्ला कमिटी,अनेमसंघ जिल्ला कमिटी, युवा संघ नगर कमिटी घोषणा गरिएको छ ।

टिप्पणीहरू