​दाग नलागोस्, कसैमाथि

मुलुक ठूलो र अत्यन्तै महŒवपूर्ण यज्ञको तयारीमा छ । तर, सो महान् यज्ञ पूरा गर्न र त्यसमा आइपर्न सक्ने विघ्नबाधा हटाउन यज्ञ आयोजकले गर्नुपर्ने पूर्वतयारी भने त्यति राम्ररी गरिएको छैन कि भन्ने आभाष भइरहेको छ ।

नेपाललाई एउटा नयाँ युगमा प्रवेश गराउन मंसिर १० र २१ गते सम्पन्न हुन गइरहेको निर्वाचन नामक यज्ञको ठूलो भूमिका रहनेमा दुई मत छैन तर त्यसलाई सम्पन्न गर्ने जिम्मेवारी पाएको निर्वाचन आयोगले यसलाई कति गम्भीरतापूर्वक लिएको छ भन्ने कुरा महŒवपूर्ण बन्दै छ । त्यसमाथि शान्तिपूर्ण, विवाद र धाँधलीरहित ढंगले चुनाव गराएर आफ्नो सबैभन्दा प्रमुख काम सफलतापूर्वक सम्पन्न गराउन गर्नुपर्ने सरकारले नै परोक्ष रूपमा चुनाव सार्न प्रयत्न गरेको भन्ने जुन चर्चा यसबीच सुनिए, देखिए ती आफैंमा आपत्तिजनक घटना हुन् । अहिले सर्वत्र देखिएको चासो यो हो कि स्वयं सरकारले नचाहेको निर्वाचन कसरी निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित बन्न सक्छ ?

यदि निर्वाचनमाथि प्रश्नचिह्न उठ्यो वा यसको निष्पक्षताबारे भोलि चर्चा गर्नुपर्ने स्थिति आयो भने त्यो बेला मुलुकका लागि नै दुर्भाग्यको घडी बन्न सक्छ । सबै वैधानिकता गुमाइसकेको सरकारले थप कुनै कदम चाल्न सक्ने ठाउँ हुँदैन भने धु्रवीकृत बन्दै गएको नेपाली राजनीतिमा बेचैन बनाएका शक्तिले धमिलो पानीमा माछा मार्ने मौका प्राप्त गर्नेछन् । त्यसबेला नेपालको स्वतन्त्रता मात्र होइन कि राष्ट्रिय अखण्डता र सार्वभौमिकतासमेत धरापमा पर्न सक्छ । यो कोणबाट हेर्दा अबका दुई महिना नेपालका लागि अत्यन्तै चुनौतीपूर्ण र महŒवपूर्ण निर्णय गर्ने कालखण्ड हो । यदि यो समयको संवेदनशीलतालाई नेपालको शीर्ष राजनीतिक नेतृत्व तथा प्रमुख दलले मनन गर्न सकेनन् भने स्थिति भयानक हुन सक्छ । नेपालीले दशकौं लगाएर जम्मा पारेको लोकतन्त्रका अवयव छरपष्ट हुन सक्छन् । र, एउटा अन्योलपूर्ण राजनीतिक भविष्यतर्फ मुलुक अघि बढ्न सक्छ । मंसिर १० गतेका लागि उच्च पहाडी र हिमाली क्षेत्रमा चुनाव लागिसकेको छ ।

मनोनयन दर्ता भइसकेको छ भने प्रदेश सभा र प्रतिनिधिसभामा अब यो व्यक्ति पठाउँछु भन्ने मानसिकता तयार गर्न मतदाता थालिसकेका छन् । अर्को अर्थमा भन्नुपर्दा मुलुक चुनावरूपी महाकुण्डमा हामफालिसकेको छ । अब त्यहाँबाट सफलतापूर्वक बाहिर निकाल्ने र नेपाली जनतालाई आफ्नै प्रतिनिधिद्वारा लिखित संविधानको पूर्ण उपभोगको मौका दिनु हाम्रा नेता विशेषगरी सरकारको नेतृत्व गरेका व्यक्तिहरूको हो । त्यसै पनि चुनाव गराउन नसक्ने, अक्षम, हरेक विषयमा कमजोर, सही समयमा सही निर्णय गर्न नसक्ने व्यक्तिका रूपमा आफ्नो परिचय बनाएका देउवाले अब सो परिचय बदल्ने मौका पाएका छन् । यो अवसरलाई उनले सही ढंगले प्रयोग गर्ने हो भने एकप्रकारले सक्षम नेतृत्वको खडेरी नै देखिएको कांग्रेसमा देउवाको वर्चस्व जीवन रहुञ्जेल रहने पक्का छ । तर, यदि चुनाव गराउन चुके र त्यही दोष लागेर हात्तीजत्रो पार्टी एकैचोटि छुचुन्द्रोजत्रो भयो भने उनीमाथि लाग्ने दाग पखाल्न फेरि अर्को जन्म लिनुपर्ने हुन्छ ।

टिप्पणीहरू