सात महिना पहिल्यै काम सम्पन्न

सात महिना पहिल्यै काम सम्पन्न

ठेक्का सम्झौता अवधिमा काम सम्पन्न नगर्ने परिपाटी बढिरहेका बेला धनुषामा सात महिना अगाडि नै तीनवटा पुल निर्माण कार्य सम्पन्न भएको छ । ढल्केबर जटही सडकखण्ड अन्तर्गत मिथिला र क्षिरेश्वरनाथ नगरपालिकाको वीचमा पर्ने औरही नदीमा निर्धारित समयभन्दा सात महिनाअगाडि नै तीनवटा पुल निर्माण सम्पन्न भएको हो ।

रसुवा निर्माण कम्पनीले ठेक्का सम्झौताको सात महिनाअगाडि नै तीन वटै पुल निर्माण गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

ढल्केबर-जनकपुर जटही सडकलाई ६ लेनमा स्तरोन्नति गरेपछि महेन्द्रनगरस्थित औरही खोलामा सरकारले ६ लेनको सडकलाई मिल्नेगरी तीन वटा पुल निर्माण गरेको हो । सडक विस्तार भएदेखि सवारी साधनको चाप बढेको र भएको पुरानो पुलबाट आउजाउ गर्न समस्या भइरहेका बेला एकै चोटी तीन तीनवटा पुल बनेपछि सवारी साधनलाई आउजाउ गर्न सहज भएको छ ।

सरकारसंग भएको सम्झौताअनुसार २०७८ चैत्र मसान्तमा तीन वटै पुल हस्तान्तरण गर्नुपर्ने भएपनि काम सम्पन्न हुनुपर्ने मितिभन्दा सात महिनाअगाडि नै ७७ करोड २७ लाख रुपैयाँको लागतमा पुल निर्माणको काम सम्पन्न भएको हो । सरकार र रसुवा कन्स्ट्रक्सनबीच २०७६ असोज ३० गते सम्झौता भएको हो । मंसिरदेखि काम शुरु भएका तीनवटै पुल सवारी साधनका लागि खुला गरिएको छ ।

औरही खोलामा निर्माण सम्पन्न तीनवटा पुलमध्ये दुईवटा पुल ६ लेन सडकका लागि हुन् भने एउटा पुललाई सर्भिस लेनको रुपमा राखिएको छ । पुलको लम्बाई १ सय ४३ दशमलव ५ मीटर र चौडाई ११ दशमलव ६ मीटर छ ।

एकतिरबाट एकपटकमा तीन वटा सवारी साधन चलाउन सकिने र छुट्टाछुट्टै लेनका लागि फरक फरक पुल नेपालमा पहिलो पटक यही निर्माण भएको रसुवा निर्माण कम्पनीका इन्जिनियर धिरेन्द्र साहनीले बताउनुभएको छ । सम्झौता अगाडि नै पुल निर्माण सम्पन्न गरेर रसुवा कन्स्ट्रक्सन उदाहरण बनेको छ ।

टिप्पणीहरू