बिराटनगरमा दिनदिनै बिजोग

बिराटनगरमा दिनदिनै बिजोग

विराटनगर महानगरपालिकामा आकाशे पुल बनाउने योजना झण्डै तीन बर्षदेखि अलपत्र परेको छ । सम्बन्धित निकायको समन्वयकारी भूमिकाको अभाव तथा स्थान सुनिश्चित नगरी योजना कार्यान्वयन गर्न खोज्दा झण्डै साढे २ करोड रुपैयाँको योजना अलपत्र परेको हो ।

२०७७ साल चैत्र २ गते विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरक्षेत्रको बरगाछीमा आकाशे पुलको विधिवत् शिलान्यास गरेका थिए । त्यसयता पुलको डिजाईन गरी ठेक्कासमेत लगाइएपनि हालसम्म पुल निर्माणले पूर्णता पाउन सकेको छैन ।

पुल बनाउने ठाँउको स्थलगत अध्ययन नगरी निर्माण प्रक्रियालाई अघि बढाइएको तर सम्बन्धित निकायको ढिलासुस्तीका कारण निर्माण अलपत्र परेको स्थानीय तथा सरोकारवालाहरुले बताउने गरेका छन् । महानगरपालिकाले आकाशे पुल निर्माणका लागि भन्दै २०७६ साल फागुन १६ गते टेण्डर निकालेको थियो । त्यसको झण्डै एक बर्षपछि अर्थात् २०७७ माघ २८ गतेमात्र महानगरले ढिलागरी ठेकेदारहरुको टेण्डर स्वीकृत गरेको थियो ।

नगरक्षेत्रको सुन्दरता अभिबृद्धि र सडक वारपार गर्न पैदल यात्रीलाई सहजताका निम्ति महानगरको घाँसचोक, बरगाछी र कंचनबाडीचोकमा गरी तीनवटा फलामे संरचनाको आकाशे पुल बनाउनेगरी योजना अघि बढाएको छ ।

त्यसमध्ये बरगाछीको दुई स्थानमा आकाशे पुल निर्माणको ठेक्का विराटनगर १२ को कला बिल्डर्सले पाएको छ भने कन्चन बाडीचोकमा आरके बिल्डर्सले निर्माणको ठेक्का पाएको छ । महानगरले तीनवटै पुलका लागि २ करोड ४७ लाख रुपैयाँमा ठेक्का लगाएको छ ।

पुल निर्माण गर्न लागिएको छेउका जग्गा धनीहरुसँग समन्वय नगरी त्यहाँ निर्माण गर्न खोजिएपछि सम्बन्धित जग्गा धनीहरुले निर्माण रोक्न महानगरमा निवेदन दिएपछि काम रोकिएको कला बिल्डर्सका प्रोप्राइटर सञ्जय यादवको भनाइ छ ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले भने महानगरको विकाससँग जोडिएको बिषयवस्तुमा सबैले सहयोग गर्नुपर्ने बताएका छन् । विवादहरुलाई समाधान गरेर चाँडै निर्माणलाई पूर्णता दिने उनको भनाई छ ।

टिप्पणीहरू