कोरोना संक्रमण घटेपनि जोखिम उस्तै

कोरोना संक्रमण घटेपनि जोखिम उस्तै

चितवनमा कोरोना संक्रमितको संख्या घटे पनि जोखिम भने कायमै रहेको छ । संक्रमण घट्दै गएपनि आवश्यक सावधानी र जनस्वास्थ्यका मापदण्ड पालना नहुँदा जोखिम यथावत रहेको स्वास्थ्य कार्यालय चितवनका वरिष्ठ जनस्वास्थ्य प्रशासक दिपकबाबु तिवारी बताउनुहुन्छ ।

चितवनमा अहिले सक्रिय कोरोना संक्रमितको संख्या ५ सय माथि रहेको छ । तर, विद्यालय र बजारहरु भने पूर्णरुपमा खुलेका छन् ।

पीसीआर परीक्षणमा १० प्रतिशतभन्दा थोरैमा संक्रमण देखिने गरेको छ । कोरोनाका गम्भीर प्रकृतिका बिरामी घट्दै जानु र मृत्युदरमा कमी आउनुले पनि संक्रमणदर घटेको देखिएको स्वास्थ्य कार्यालय चितवनले बताएको छ ।

जिल्लावासीले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न छाडेर सावधानी नअपनाइ दैनिक कामकाज सुरु गरेको अवस्थामा फेरि पनि कोरोना सङ्क्रमण बढ्नसक्ने तिवारीको भनाइ छ । आवश्यक सावधानी र जनस्वास्थ्यका मापदण्ड पालनामा हेलचेक्र्याइँ नगर्न उहाँले अनोरोधसमेत गर्नुभयो ।

चितवनमा हालसम्म २ लाख ७० हजार बढीले कोरोना विरुद्धको खोप लगाएको उल्लेख गर्दै तिवारीले जसमध्ये एक लाख ५० हजारले पूर्ण खोप पाइसकेका बताउनुभयो । खोप लगाउने क्रम बढ्दै गएको भए पनि कोरोना भाइरसले स्वरुप परिवर्तन गरिरहने भएकाले सावधानी अपनाउनुपर्नेमा उहाँको जोड छ ।

टिप्पणीहरू