​काँग्रेसलाई दुखेका कुरा

बिराटनगरमा बसेर नेपाली काँग्रेसका नेता शेखर कोइरालाले भन्दैछन्– ‘वाम एलाइन्सले मुलुकमा राम्रै बहुमत ल्याउने खतरा देखियो ।’ स्रोतकाअनुसार उनी मधेशीहरूसँग गठबन्धन बन्न नसकेकोमा निकै दुःखी छन् । मधेशीलाई देउवाले ध्यान नदिएको उनको विश्लेषण छ । संविधान संशोधनको लागि संसदमा पटक–पटक प्रस्ताव दर्ता गरियो । अनेक खालका काम भए तर आखिर मधेशीहरू काँग्रेससँग खुशी त रहेनछन् भन्ने ठहर उनको रहेको बताइन्छ । अब सबैभन्दा बढी आशा गरेको २ नम्बर प्रदेशमा समेत नेपाली काँग्रेसलाई गाह्रो भएको छ । उपेन्द्र यादवले बरु राम्रो नतिजा ल्याउने भए भन्ने चिन्ता उनले व्यक्त गर्दै रहेको बुझिएको छ ।

भारतसँग पनि कोइरालाको निकै ठूलो गुनासो छ । स्रोतकाअनुसार, आफ्ना निकटस्थहरूसँग उनी भन्छन्, ‘भारतले पनि अनावश्यक हस्तक्षेप ग¥यो र काँग्रेसको अन्ततः यो हालत भो, पार्टी बदनाम भो । एमाले र माओवादीबीच तालमेलमा समस्या होला भन्ने थियो तर त्यस्तो देखिएन बरु हाम्रैमा पो धेरै सकस भो ।’ उता भोजपुरमा भने उपेन्द्र यादवको फोरमको लागि काँग्रेसले एक सिट छाडिदिएको छ । उपेन्द्र मोरङ– ५, सुनसरी–४ वा सप्तरी–२ कहाँबाट उठ्ने भन्नेमा अन्योलमा छन् । मोरङको त्यो क्षेत्रमा एमाले–माओवादी गठबन्धनबाट शिवकुमार मण्डल उठ्दैछन् भने सुनसरी ५ मा काँग्रेसले ज्ञानेन्द्रबहादुर कार्कीलाई उठाउने भएको छ । त्यो क्षेत्रमा ३५ हजार पहाडे मूलको मत संख्या छ । त्यस्तै २० हजार मुस्लिम मत रहेको छ । यसअघि उपेन्द्र त्यही क्षेत्रबाट उठेका थिए । अहिले जफर जमालीलाई प्रदेशसभामा उठाएर उपेन्द्रले आफू केन्द्रीय संसदमा उठ्ने तयारी गरेका हुन् । सप्तरी–२ मा यादवको १० हजार मत छ ।

जातीय रुपमा यादवहरू बढी भएको यो क्षेत्रमा राजविराज नगरपालिका पनि पर्छ । शरद्सिंह भण्डारी बर्दिबासभन्दा दक्षिणबाट उठ्ने योजनामा छन् । डेमोक्रेटिक एलायन्स मधेशमा राजपाले दुई तिहाई र देशभर एकतिहाई माग गरेपछि भाँडिएको हो । बाबुरामलाई काँग्रेसले गोर्खामा सघाउँदैछ जबकि प्रचण्ड र ओलीसँग बाबुरामले पार्टी एकताको कुरा गर्दाचाहिँ अनिष्ट भो भन्दै वाम अधिनायकत्वको सम्भावना त्यही काँग्रेसले देख्दैथियो ।

टिप्पणीहरू