सार्कको कान्छो मुलुक चरम मानवीय संकटमा

सार्कको कान्छो मुलुक चरम मानवीय संकटमा

पछिल्लो दुई दशक आर्थिक रूपमा पूर्णतयाः अमेरिका र पश्चिम विश्वमा निर्भर रहेको अफगानिस्तानमा अहिले चर्को मानवीय संकट देखा पर्न थालेको छ ।

अमेरिका र केही युरोपेली मुलुकले अफगानिस्तानमा तालिवानको उदयसँगै आर्थिक सहयोगलाई ठप्प पारेका छन् । आन्तरिक जनजीवन बन्द भएको छ । कृषि, पेशा र व्यवसाय महिनौंदेखि जहिँकोतहिँ छ । सर्वत्र अभाव र त्रासका कारण अफगानिस्तान गहिरो मानवीय संकटतर्फ उन्मुख भएको हो ।

पछिल्लो राजनीतिक संकटको अनिश्चितता र तालिवान नेतृत्वमा गठित सरकारका कारण धमिलो भविष्यसँगै आर्थिक, सामाजिक र राजनीतिक संकट बिस्तारै मानवीय संकटमा परिणत हुन लागेको बताइन्छ ।

अफगानिस्तानमा देखिँदै गरेको मानवीय संकटलाई अमेरिका र पश्चिमा राष्ट्रहरुको दृष्टिकोण एवम् अफगानिस्तानको भित्री यथार्थ गरी दुई वटा कोणबाट हेरिएको छ ।

पहिलोमा पश्चिमा मिडिया, मानवधिकार संघ संगठनहरु र पश्चिमा विद्वानहरुले पछिल्लो दुई दशकमा अमेरिका र नेटो सेनालाई समर्थन गर्नेहरुविरुद्ध तालिवानले गर्न थालेको दुव्र्यवहार र बदला लिन थालेकोबारे बहस थालेका छन् ।

अर्कोतर्फ त्यहाँका जनताका लागि कुनैपनि खालको राजनीतिक मेलमिलापको प्रक्रिया नथाल्दै, स्थायित्व र अफगान जनताको भविष्यको योजना नबनाई अमेरिका र नेटो सेना अफगानिस्तानबाट हतारिएर निस्कनु नै अहिलेको मानवीय संकटको पहिलो कारक रहेको बताइन्छ ।

विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) का अनुसार, त्यहाँका ३ करोड ८० लाख जनसंख्याले एक तिहाई खाद्य असुरक्षाको सामना गरिरहेका छन् । जसमा २० लाख बालबालिका पहिले देखि कुपोषित छन् । अफगानिस्तानमा तालिबानले कब्जा जमाउनु अघिदेखि नै खाद्यान्नको चरम अभाव थियो ।

कोरोनाभाइरस महामारी शुरु हुनुभन्दा पहिले अफगानिस्तानमा ५४ दशमलब ५ प्रतिशत नागरिक गरिबीको रेखामुनि थिए । अहिले उक्त संख्या बढेर ७२ प्रतिशतमा पुगेको बताइन्छ ।

यसलाई रोक्न अन्तर्राष्ट्रिय समुदायले कम्तिमा पनि अफगान जनतालाई आवश्यक मानवीय सहायता प्रदान गर्नु पर्ने अवस्था बन्दै गएको हो । यसका लागि संयुक्त राज्य अमेरिका र अन्तर्राष्ट्रिय दातृ संस्थाहरुले अफगानिस्तानलाई उपलब्ध गराउन यसअघि दिएको आर्थिक सहयोगको प्रतिबद्धतालाई मानवीय दृष्टिकोणले जतिसक्दो छिटो कार्यान्वयन गर्नुको विकल्प नभएको मानवीय सहयोगका कार्यक्रममा सहभागी स्वयम्सेवकहरुले बताउन थालेका छन् ।

टिप्पणीहरू