राजधानीका सडकपेटी साँझ परेपछि हाटबजारमा परिणत

राजधानीका सडकपेटी साँझ परेपछि हाटबजारमा परिणत

साँझ परेपछि उपत्यकाका अधिकांश सडकका फुटपाथ खुद्रा व्यवसायको कारण पूरै ढाकिन्छ । त्यतिबेला सडकमा मानिसहरुको चहलपहल पनि ह्वात्तै बढ्न थाल्छ । सडक र फुटपाथको छेउछाउमा ढाकिएका पसलहरु निकै अस्तव्यस्त देखिन्छन् । उसै त साँघुरो फुटपाथ, त्यसमा असरल्ल पसल र सामानले सर्वसाधारणलाई आउजाउ गर्न निकै नै हम्मेहम्मे परिरहेको हुन्छ ।

जताततै छरपस्ट कपडा,तरकारी र खेलौनाका साथै अन्य सामानले फुटपाथ र सडक नै अव्यवस्थित बनाउने गरेका छन् । सँगै फुटपाथमा राखिने पकवानहरुको ठेलाले पनि पैदल यात्रु हैरान हुने गरेका छन् । त्यसैले पैदल यात्रुलाई बेलुकीपख राजधानीका सडक र फुटपाथमा निस्कनु कुनै युद्ध लडेबराबर हुने गरेको छ ।

त्यही हुलमुलमा दैनिक हजारौं सवारी साधन सडकमा गुड्छन् । फुटपाथमा पसल राख्ने फुटपाथ व्यवसायीहरुबीच हुने बेला बेलाको लडाईं र भनाभनले पनि अर्को रमाइलो थप्ने गरेको पैदल यात्रुहरु बताउँछन् ।

त्यति गर्दा पनि बचेको फुटपाथको केही भार र सडक किनारमा पार्किङ गरिएका सवारी साधनले पैदल यात्रीलाई थप सास्ती दिने गरेको छ । उपत्यकाका सडकमा ठूलो संख्यामा पैदल यात्रीहरुको ओहोर हुन्छ । त्यो पनि साँझको समयमा सबैभन्दा बढी हुन्छ ।

तर उपत्यकाको सडक र फुटपाथले तिनै पैदल यात्रीलाई चिन्दैन । सडकपेटी ओगटेर राखिएका फुटपाथ पसल,ठेला र मनपरी ढंगले गरिएको सवारी साधन पार्किङले राजधानी उपत्यकाको स्वरुप नै कुरुप बनाइदिएको छ ।

काठ्माडौंको रत्नपार्क,सुन्धारा, न्यूरोड,कोटेश्वर, चाबहिल, बानेश्वर, नयाँ सडक, इन्द्रचोकका सडकपेटी साँझ परेपछि हाटमा परिणत हुने गरेका छन् । त्यस्तै भक्तपुरको सूर्यविनायक,सल्लाघारी, गठ्ठाघर र ललितपुरको लगनखेललगायतका क्षेत्र फुटपाथ व्यवसायीहरुको अखडा बन्ने गरेका छन् ।

सडकपेटी सबै पसलले ढाकिदिएपछि पैदल यात्रीबीच सडकबाट हिँड्नुको विकल्प हुँदैन । त्यस्तो अवस्थामा सडकमा गुडिरहेको गाडी र त्यहिँ जोत्तिन आइपुग्ने पैदल यात्रुको चापले ट्राफिक नै अस्तब्यस्त बनाइदिन्छ । यसतर्फ राजधानीका महानगरहरु र नगरपालिकाको पर्याप्त ध्यान गएको देखिँदैन ।

महानगरले बेला बेलामा गर्ने छड्के जाँच र अनुगमनको क्रममा ती क्षेत्रमा फुटपाथ व्यवसायीहरुबीच भागदौड चल्ने गरेको छ । वैकल्पिक व्यवस्था नगरी गर्ने गरिएको अनुगमनले पनि समाधान नदिने व्यवसायीहरु बताउँछन् । महानगर र नगरपालिकाले गर्ने एकाध दिनको अनुगमनको प्रभावकारिता पनि कम हुँदै गएको बताइन्छ ।

उपत्यकाको सडकमा दिनहुँ ओहोरदोहोर गर्ने ललितपुरकी प्रतिमा श्रेष्ठले साँघुरो बाटोमा फुटपाथ पसल सञ्चालन गर्न दिँदा पैदल हिँड्नेलाई निकै समस्या हुने गरेको बताइन् । उनले फुटपाथ व्यवसायलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नुपर्नेमा जोड दिएकी छन् । भन्छिन्, ‘फुटपाथ व्यवसाय चाहिन्छ, हिँड्ने ठाउँ पनि चाहिन्छ ।’

अर्की पैदल यात्री सुनिता कार्की फुटपाथ व्यवसायीको कारण सडक दुर्घटना बढेको बताउँछिन् । जथाभावी फुटपाथ पसल सञ्चालन गर्न दिँदा पैदल यात्रीलाई सँधै सकस हुने गरेको उनको गुनासो छ ।

फुटपाथमा पसल सञ्चालन गर्नेहरुका पनि आफ्नै दुखेसा छन् । उनीहरुको व्यवसायलाई व्यवस्थित गर्न नसक्नुमा महानगर र नगरपालिकाहरुको पनि कमजोरी देखिएको छ । भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले फुटपाथ व्यवसायलाई व्यवस्थित गर्न आफूहरुले निकै कोशिश गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘तर खासै प्रगति हुन सकेको छैन । जनशक्ति अभावले दिनहुँजसो अनुगमन गर्न गाह्रो भइरहेको छ ।’

यता काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले पनि फुटपाथ र व्यवसायीको व्यवस्थापन गर्न प्रहरीसँग समन्वय भइरहेको बताउनुभयो ।

टिप्पणीहरू