​केटीहरू सजिलै विदेशीको कब्जामा

विदेशी ठगका लागि नेपाल कतिसम्म सजिलो भयो भने, नाइजेरियाको मान्छे आएको एक महिनादेखि नै यहाँको प्रविधि, प्रहरी, प्रशासन सबलाई चुनौति दिँदै यहीँका नागरिकसम्मलाई ठग्न भ्याउँछ । यसरी इमेल ह्याक गरेर ठगीधन्दा चलाउँदा अहिले २१ वर्षीया नेपाली युवतीदेखि २९ वर्षीय नाइजेयिन नागरिकसम्म खोरमा छन् ।

नेपाल आउन चाहेका जर्मन नागरिक अरमिन ओट्टो रिजिर काठमाडौंका ट्रेकिङ एजेन्ट मिङमार लामाको इमेल सम्पर्कमा थिए । २१ जुलाई, अर्थात् साउन २ गते काठमाडौं टेकेका नाइजेरियन युवक डग्लस अमोबिकोरोजी र जुलियस फेस्टुस चिजीकुवाले हप्ता–दश दिनदेखि नै मेल मनिटरिङ गर्न थाले । यसक्रममा मिङमार लामाको इमेल अकाउन्ट ह्याक गरे । त्यसपछि डग्लस र जुलियस नै मिङमार लामा बनेर जर्मन नागरिकलाई नेपाल भ्रमणको लागि अमेरिकी डलर १९ सय ८० रुपैयाँ पठाउन अनुरोध गरे । यी दुई नाइजेरियन सोह्रखुट्टेस्थित चर्च दी पोर्टर हाउसमा सधैँ जान्थे । त्यही क्रममा गोरखा, आँपपिपलकी स्नेहा श्रेष्ठसँग चिनजान गरे । नाइजेरियाबाट दाइले पैसा पठाउँछन् भन्दै स्नेहालाई फकाएर उनको नाममा रहेको एभरेष्ट बैंकको खाता नम्बर लिए । स्नेहाको खातामा आएको रकम बराबरको दुई लाख दुई हजार रुपैयाँ डग्लसले चेकमार्फत झिके । 

उनीहरुले यसपछि नेपालीलाई नै ठग्न थाले । संखुवासभा स्थापुन–९ घर भएका २४ वर्षीय अमृत दाहाल नेपाली सेनाका जवान हुन् । अमृतसँग यी नाइजेरियन एक वर्ष अघिदेखि फेसबुकमा जोडिएका थिए । डग्लसले आफू अमेरिकी नागरिक बताएका थिए । अमृतको पनि फेसबुक साथी रहेका अमेरिकी सेनामा कार्यरत मिराबेल विल्सनसँग डग्लस पनि साथी थिए । अमृतलाई अमेरिकाको युएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीमा जागिर लगाइदिने भनेर ६ हजार आठ सय ९० डलर मागे । अमृतले माग गरिएभन्दा थोरै अर्थात, नेपाली रकम ९७ हजार चार सय ७० स्नेहाकै खातामा जम्मा गरिदिए । बाँकी दुई लाख ९२ हजार चार सय रुपैयाँ रकम नयाँबजारका केशव गुरुङको नाममा आइएमई गरे । 

यसपछि नेपाली युवतीसँगै यी नाइजेरियन लागे विदेशी ठग्न । नेपाल आउन लागेका फ्रेञ्च नागरिक फार सोफियनको युरो दुई हजार आठ सय ३५ भक्तपुर, सूर्यबिनायकका ट्रेकिङ व्यवसायी तोकबहादुर लामाको इमेल ह्याक गरेर स्नेहाको खातामा जम्मा गर्न लगाए । यता, तोकबहादुरलाई पैसा नपठाएका कारण उनले कुनै पनि ट्राभल डकुमेन्ट, सेड्युल र होटल बुकिङ फ्रेञ्चलाई पठाएनन् । पैसा पठाएर पनि जवाफ नआएपछि तोकबहादुरलाई फोन गरेर सोधे । तोकबहादुरलाई बल्ल थाहा भयो, आफ्नो इमेल ह्याकरको फन्दामा परेको ।

यसपछि नेपाल आउन चाहेका रसियन नागरिक मेर्कुलोभ इभर्जेन्टीको इमेल ह्याक गरे । त्यहाँबाट अमेरिकी डलर पाँच हजार चार सय ८० स्नेहाको खातामा जम्मा गराउन सफल भए ।

यसरी ठगी त गरे । तर, पीडितले किन छाड्थे र † प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) मा उजुर गरे । इमेल ह्याकर विदेशी, तर लोकेसन काठमाडौं नै देखाएपछि सिआइबीले अपराध महाशाखालाई अनुसन्धानको जिम्मा दियो । यसरी उनीहरु असोज अन्तिम साता ललितपुर, सौगलबाट पक्राउ परे । दुई नाइजेरियनसहित नेपाली युवती स्नेहा र धादिङ, नीलकण्ठ– ६ का केशव गुरुङ पनि प्रहरी नियन्त्रणमा पुगे । उनीहरुमाथि ठगीको महलअन्तर्गत बिगोबमोजिम जरिवाना र पाँच वर्ष कैद हुने प्रहरीले जनाएको छ ।

टिप्पणीहरू