प्रेमीलाई घुरक्याउँदै जब गयो प्राण

सामाजिक सञ्जालले मान्छेलाई बाँच्न मात्रै होइन, मर्न पनि सजिलो बनाएको छ । जहाँसुकैका मानिससँग प्रत्यक्ष जोड्ने फेसबुक भिडियो कलमै एकजना गायिकाले आत्महत्या गर्नुअघि प्रेमीलाई भनिन्, ‘हेर, म तिम्रो लागि मरिदिन्छु ।’ जिस्किएको ठानेर ‘धत्’ भनेका प्रेमी त्यतिबेला अक्क न बक्क भए, जब प्रमिलाले भिडियो कलमै घाँटीमा डोरीको पासो लगाइन् ।

दशैँ सकिँदै थियो । ७ वर्षपछि जापानबाट बुबा आइपुगेका थिए, छोराछोरी भनेर । दशैँ रमाइलै बिताएकी छोरीले तिहारको मुखमा ललितपुर, इमाडोलस्थित घरमै जब पासो लगाइन्, तब के भयो होला बुबाको मन !

१० महिना पहिले कोलगेट इमेज लोक कलाकारको प्रतिस्पर्धामा ‘फूलै हार केलाई’ शीर्षकको हाइपिच लोकगीत ‘पोखरीको पानी ल्याए प्यासै मेटिन्छ सबैको, नछाक टार्छ, न दुःख हर्छ फूलै हार केलाई’ गाएर उत्कृष्ट २५ मा परेकी रामेछाप, भीरपानी घर भई इमाडोल बस्ने प्रमिला श्रेष्ठले अन्ततः कतार बस्ने प्रेमीलाई देखाई–देखाई जीवन त्यागिन् । रामेछापको भीरपानी, अर्थात् काठमाडौंमा कुखुराको साँप्रो झुण्ड्याएर, हरियो पृष्ठभूमिका तन्दुरी रेस्टुरेण्ट चलाउनेहरुको गाउँ । वीरबहादुर श्रेष्ठ त्यहीँका एकजना यस्ता गरिब हुन्, जसले पहिला काठमाडौंको तन्दुरीमा भाँडा माझेर छोराछोरी हुर्काए । तिनै छोराछोरीका खातिर भाँडै माझ्न जापान पनि पुगे । आफू उतै दुःख गरेर बसे, यता परिवारलाई इमाडोलमा घर बनाइदिए । त्यही घरमा सात वर्षपछि खुशी साट्न फर्किएका थिए वीरबहादुर । तर, तिहारको मुखमा छोरीको लाश उठाउनुप¥यो, अनि आर्यघाटमा भएभरका खुशी खरानी भए ।

वास्तवमा प्रमिलालाई अलिक अगाडिदेखि नै मर्न मन लागेको छनक मिल्छ, फेसबुक स्ट्याटसबाट । असोजको ८ गते, दशैँ शुरु भइसक्दा बिहानै एउटा स्ट्याटस लेखिन्, ‘जिन्दगीदेखि पनि वाक्क लागिसक्यो, अब एउटा लामो डोरी किन्छु अनि अग्लो रुखमा गएर…….पिङ खेल्छु, दशैँ पनि आयो !’

असोज ३० गते । आमा आफन्तको घरमा, बहिनी मन्दिर र दाइ अफिस गएको, घरमा कोही थिएन । त्यही बेला प्रेमीलाई भिडियो कल गरिन् । कुरा के भयो, प्रेमीले अहिलेसम्म बताउन सकेका छैनन् । तर, उनले घुर्की लगाइन् । हेर्दाहेर्दै घाँटीमा पासो लगाएपछि कतारबाट प्रेमीले प्रेमिलाका साइँला हजुरबाको छोरा अमृतलाई फोन गरे । अमृत र उनीहरुको घर नजिकै । प्रमिलाले भिडियो कलमा देखाएको हर्कत सुनाए । अमृत हतार–हतार प्रमिलाकहाँ पुगे । तर, त्यतिञ्जेलमा प्रमिला लमतन्न झुण्डिसकेकी थिइन् ।

टिप्पणीहरू