​पति मारेको भन्दाभन्दै टिकट पक्का

श्रीमतीले मेरो श्रीमान्का हत्यारा यिनै हुन्, कारबाहीको दायरामा ल्याइपाऊँ भनी किटानी जाहेरी दिएका अभियुक्तलाई कांग्रेसले प्रदेशसभाको लागि सिफारिस गरेको छ । ०७२ साउन २८ गते राति कास्कीका देउवा समर्थक नेता रामजी पौडेल बादलको हत्या भयो ।

२८ गते दिउँसो देउवा र सुशील कोइराला समर्थक दुई समूहबीच भएको सामान्य भनाभन र हात हालाहालको स्थिति मिलाउन साँझ रामजीकै घरमा बस्ने भनी देउवा समूहका रामजी, बुद्धिमान तामाङ, मेघराज पौडेल, शरण प्रधान, मनोज गुरुङ, नारायण तिवारीहरूले सल्लाह गरे । दिन नढल्दैदेखि छलफलका लागि जम्मा भएका रामजीदेखि शरण प्रधानहरूले मदिरा सेवन गर्न थाले । राति ९ बजेसम्म पनि रामजी घर नआएपछि श्रीमती चन्द्रावतीले बुद्धिमानलाई फोन गरी सोधिन् । बुद्धिमानले चिन्ता नलिन भने । आश्वासनको घण्टा बित्दा पनि घर नफर्किएपछि चन्द्रावतीले पटक पटक बुद्धिमानलाई फोन गरिन् तर लागेन ।

राति १० बजेर ५५ मिनेटमा बुद्धिमान, नारायणहरि तिवारी र प्रहरी इञ्चार्ज चन्द्रावतीको घर गए । चन्द्राले दाइ आउनुभयो ? भनी नारायणलाई सोधिन् । नारायणले मनोजलाई घाइते बनाए, मेरो दाहिने पाखुरामा दाउराले हाने र दाइलाई दुईजनाले कुट्दै काठमिलतिर लगे भनी बताए । चन्द्राले म पनि खोज्न जान्छु भन्दा प्रहरी इञ्चार्ज र बुद्धिमान तपाईं जानु पर्दैन हामी नै खोज्छौं भनी फर्किए । यसको करिब २० मिनेटपछि बुद्धिमानले राति ११∶१९ मा चन्द्रालाई फोन गरी कतै कोहीसँग पनि कुरा नगर्नु र नआत्तिनु, घटनाबारे भोलि जाहेरी दिनुपर्छ भने । 

यसपछि बिचलित चन्द्राले देवर राममणि पौडेललाई फोन गरी सबै विवरण बताएपछि उनले भाइ गोपीलाई फोनबाटै बोलाए । गोपी र राममणिको भेट भएपछि गोपीको मोबाइलबाट क्रमशः दाइ (मृतक)रामजी, उनलाई मोटरसाइकलमा लिएर हिँडेको भनिएका मनोज गुरुङ र बुद्धिमानलाई फोन गरे । तर, कसैको पनि फोन सम्पर्क भएन ।

राति ११∶४८ मा बुद्धिमानको फोन उठेर सोध्दा तेरो दाइलाई केही भएको छैन, सुरक्षित छ । राति आउनुपर्दैन भनेको गोपी पौडेलले अदालती बयानका क्रममा दिएको जवाफ नम्बर ५ मा उल्लेख छ । प्रहरीमा हालेको उजुरीमा मृतकका भाइ राममणिले दाइलाई लेखनाथ नगरपालिकाको गगनगौंडा हुँदै मनोज गुरुङको बाइकको पछाडि बसी घर जाँदै गरेको बखत साँझ करिब ९ बजे बाटो कुरी बसेका रविन केसी, विश्वास गौतम र प्रकाश गुरुङले कुटपिट गरी राजु रानाभाटले हेल्मेटले हानी ढलाएको र प्रकाशले कठालोमा समाई काठमिलतिर लगी बेपत्ता बनाएको लेखेका छन् । तर, राति ९ बजे नै चोकमा त्यत्रो घटना हुँदा स्थानीय बासिन्दा कसैले देखेनन् र घटना भएको पनि थाहा पाएनन् ।

घटनास्थलका बासिन्दा अस्तिप आलेले राति ९ बजे सडकमा बाइक घिस्रिएर लडेको आवाज सुनेपछि छिमेकी साथी ध्रुवलाई फोनमा दुर्घटना भयो कि के हो भनी सोधेका थिए । त्यसपछि ध्रुवका बाबुछोरा बाहिर आई हेर्दा बाइक लडेको र एकजना त्यहीं लम्पसार परेको देखी प्रहरीलाई खबर गरेको, प्रहरी तुरुन्त आएको, स्थानीय पनि ५ दर्जनजति जम्मा भएको, बुद्धिमान पनि आइपुगेको, लडेको मानिसलाई ध्रुवका बाबु देवराजले बोलाएको तर नबोलेको, बरु त्यहीँ अघिपछि प्रायः नबस्ने गरेको भए पनि त्यतिबेला एउटा ट्याक्सी रोकिराखेको र एकजना प्रहरीले बाइकबाट लडेको भनिएका मनोज गुरुङलाई मणिपाल अस्पताल पु¥याएको, त्यही छेउमा एकजना मानिस मोटरसाइकलमा बसी मोबाइलबाट मेसेज पठाइरहेको घटनाक्रमले बताउँछ ।

अनि स्थानीयले तिमी को हौ र किन यहाँ बसेको भनी सोध्दा उनले (नारायण तिवारी) कांग्रेसको झगडा मिलाउन बुद्धिमान दाइको घरमा छलफल गर्दा कुरा नमिलेपछि रविन केसी, विश्वास गौतम, प्रकाश गुरुङ र राजु रानाभाटले यहाँ आई बाटो कुरेर मनोजको बाइक रोकी कुटपिट गर्दै काठमिलतिर लिएर गएको बताएका छन् । सबै मिलेर काठमिलदेखि सम्भावित सबै ठाउँमा खोज्छन् तर कतै पनि रामजी भेटिँदैनन् । भोलिपल्ट गगनगौंडाबाट सय मिटर पर कान्लामुनि मृत शरीर भेटिन्छ । राममणिले दिएको उजुरीका आधारमा रविन, विश्वास, प्रकाश, राजुलगायतलाई प्रहरीले पक्रिएर हत्या अभियोगमा थुनामा राख्छ र मुद्दा चलाउँछ ।

हालसम्म पनि उनीहरू हिरासतमै छन् । तर, पतिको १३ दिने कामपछि सार्वजनिक जीवनमा फर्किएकी चन्द्राले भने पतिको हत्यारा जेलबाहिरै रहेको सार्वजनिक अभिव्यक्ति दिएकी छन् । उनले बुद्धिमानको घरमा बसिरहेकै बेला रामजी मारिएको र हत्यामा उनकै संलग्नता रहेको बारम्बार नेपाली कांग्रेसले आयोजना गरेका कार्यक्रममा सार्वजनिक गरेकी थिइन् । उनले बुद्धिमानको नाम किटानी गरी हत्या अभियोगमा पक्रेर छानबिन गरिपाऊँ भनी उजुरी पनि जिल्ला कार्यालय कास्कीमा लगिन् । तर, दर्ता भएन । यसपछि गृह मन्त्रालयमै आएर नाम किटेरै बुद्धिमानलगायत मानिसविरुद्ध निवेदन दर्ता गरिन् । गृहले निवेदन अपराध अनुसन्धान महाशाखा, प्रहरी प्रधान कार्यालयलाई पठायो । तर यसको छानबिन हालसम्म पनि भएको छैन ।

०७२ भदौ २१ गते गृहमन्त्रीलाई संबोधन गर्दै थप जाहेरी दर्तासम्बन्धमा भन्दै मृतक पत्नी चन्द्रावती पौडेल (घिमिरे)का नामबाट हालिएको निवेदनमा भनिएको छ, ‘म निवेदक रामजी पौडेल बादलकी श्रीमती चन्द्रावती पौडेल घिमिरेले तत्काल पीडाको समयमा किटानी जाहेरी दिंदा छुट्न गएको योजनाकारको नामसमेत उल्लेख गरी थप किटानी जाहेरी दिँदा जिप्रका कास्कीले लिन नमानेकाले मन्त्रालयसमक्ष थप उजुरी निवेदन पेश गरेकी छु । बाहिर रहेका निज हत्याका योजनाकारलाई यसै उजुरीका आधारमा कारबाही गरिपाऊँ । चन्दाले यसरी हत्या योजनाकारको रूपमा बुद्धिमान तामाङ, मनोज तामाङ, शरण प्रधानलगायतको नाम उल्लेख गरेकी छन् । तर, हत्यामा संलग्न भनी चन्द्राले नामै किटानसहित पेस गरेको निवेदन हालसम्म कारबाहीमा आएको छैन र उल्टै बुद्धिमान तामाङ कांग्रेसबाट प्रदेशमा समानुपातिकको पक्का उम्मेदवार मानिएका छन् ।

टिप्पणीहरू