अरुको धनमा बाँचेर कतिञ्जेल नेता बन्छौ ?

अरुको धनमा बाँचेर कतिञ्जेल नेता बन्छौ ?

अहिलेलाई नेकपा (एस) लाई पुरानै दल हो भन्दा हुन्छ र नयाँ दल हो पनि भन्न सकिन्छ । यो किनभने उता पुरानोमा रहँदा यो नयाँ दल बनाउने कमरेडहरूको मार्गदर्शक सिद्धान्त र लक्ष्य/गन्तव्य जे थियो आज नयाँ बनाउँदा पनि उही नै छ– माक्र्सवाद–लेनिनवाद, जबज र समाजवाद ! यो हिसाबले हेर्दा यो पुरानै दल हो ।

तर, फेरि यो पनि सत्य हो कि विभिन्न कठिनाइ झेलेर बल्लबल्ल दर्ता भई नयाँ नाम पाएको दल पनि हो यो । साथै नयाँ बनेपछि सबै कमरेडको जिम्मेवारी फेरिएको छ । यो हिसाबबाट हेर्दा नितान्त नयाँ दल पनि हो यो । त्यसकारण यो पुरानै दल हो कि नयाँ दल के हो भनेर सिद्ध गर्ने काम यो नयाँ दलले गर्नुपर्ने छ अन्यथा पुरानोलाई त्याग्नुको कुनै अर्थ रहनेछैन, खरानी बन्न बेरै लाग्दैन ।

उसोभए यो दलले के के गरेको खण्डमा नयाँ बन्छ वा बनाएको मानिने छ त? अहिलेसम्मको अभ्यासले देखाएको कुरा के हो भने सिद्धान्त , बिचार तथा लक्ष्य जेसुकै लिएको वा राखेको भए पनि मुख्य कुरा भनेको चुनाव लडेर जित्ने र जितेपछि फेरि अर्को पटक जसरी पनि जित्नका लागि निरन्तर वातावरण बनाइरहने नै एकमात्र लक्ष्य हो ।

यसो गर्न टोलका गुण्डा हातमा लिनेदेखि हप्ता असुली गर्ने डन, गिट्टी, बालुवाका ठेकेदारदेखि राष्ट्रिय स्तरका ठेकेदार, सबैखाले उद्योगी, व्यापारीदेखि लुच्चा लफंगा सबैलाई समात्ने, संरक्षण गर्ने र सहयोग लिने दिने । चरी, घैंटे, लामा, चक्रे, मनांगे यी तमाम नाम चलेका मान्छे हुन् जोसंग अहिले पनि जनता डराउँछन् जसलाई दलहरूले संरक्षण गरिरहेका छन् । यस्ता असामाजिक मान्छेको साथ र सहारामा चुनाव लडेर जितिरहने राजनीति कायमै रहन्छ कि आफूले लिएको लक्ष्यअनुसार जनता, कार्यकर्ताको साथ लिएर राजनीति गरिन्छ ? पुरानै ढर्रा अँगालेर नयाँ बन्न सकिन्न ।

समाजवादी हुने वा माक्र्सवादी हुने भनेको ओंठे प्रतिबद्धता वा भक्ति होइन । समाजवादी हुनु भनेको सादा जीवन र उच्च विचारद्वारा निर्देशित जीवनशैली अपनाउनु हो । र, यस्तो जीवनशैली दैनिक जीवनमा प्रकट हुनुपर्छ, त्यो प्रकट भएको सबैबाट देखिने हुनुपर्छ अर्थात् भनिने होइन देखिने समाजवादी हुनुपर्छ । हामीले देखेका हाम्रा कमरेडहरू अधिकांशतः वर्गबाटै आउनुभएको छ ।

तर ती अधिकांश कमरेडहरूको जीवनशैली अत्यन्तै अस्वाभाविक र अपारदर्शी छ । धेरै टाढा होइन पारिपट्टि भारतकै कम्युनिस्ट पार्टीका नेताहरूको सम्पत्तिमा वृद्धि भएको रेकर्ड छैन । तिनीहरू पनि सांसद मन्त्री त कैयौंपटक भएका छन् । अहिले नेता भएका ऊ बेलाका हाम्रा विद्यार्थी नेताले उतिबेलै काठमाडौंमा घर बनाएको त यिनै आँखाले देखेको हो । अबको यात्रामा यस्ता अपारदर्शी र अरूको धनमा बाँच्ने प्रवृत्तिको समूल अन्त्य गरेर नआउने हो भने एस पुरानै रहनेछ, नयाँ बन्ने छैन ।

समाजवादका केही विशिष्टता छन् तर ती एमालेमा देख्न हिजो पाइएन र भोलि पनि पाइने छैन । जस्तो कि समाजवादमा जाने भनेको सामूहिक स्वामित्वलाई अवलम्बन गर्ने हो । यो सामूहिक स्वामित्व भनेको के हो भने राज्यका रणनीतिक महत्वका विषय जस्तो ः जमिन, यातायात, शिक्षा, स्वास्थ्य, दूरसञ्चार, कृषि उद्योग, जलविद्युत् तथा सिञ्चाइ, हवाई सेवा आदिमा सामूहिक स्वामित्व हुनुपर्छ र यसबाट प्राप्त हुने लाभमा सबैको समान हिस्सेदारी हुनुपर्छ भन्ने हो । तर, एमाले यी सबै क्षेत्रलाई निजी क्षेत्रको हातमा दिन चाहन्छ । नयाँ बनेको हो भन्नेहरूले पनि निजीकरण नै गर्ने हो, नाफाखोर दलाल पुँजीपतिलाई नै सुम्पिने हो कि राज्यले जिम्मा लिने हो भन्ने कुरा लिखतमै हुनुपर्छ ।

सबै नागरिकमा आर्थिक, सामाजिक तथा राजनीतिक समानता हुनुपर्छ । तर एमालेमा यस्तो छैन । व्यवहारतः एमाले हाइ¥याँकिङमा नयाँ भुइँफुट्टा वर्गको जन्म भएको छ। व्यापारी तथा दलालहरूसँगको साँठगाँठमा प्राकृतिक स्रोतमाथि तिनले कब्जा जमाएका छन् । पार्टीभित्र गुटबन्दी छ । तिनीहरूको निगाहमा नपरी योग्य भए पनि न पार्टीको कुनै कमिटी न त सत्ताको कुनै अंगमा जिम्मेवारी पाउनसक्ने अवस्था छ । समाजमा पनि हुनेखाने र हुँदाखाने वर्गबीच ठूलो खाडल छ । नयाँ बन्ने हो भने पार्टीको नीति तथा कार्यक्रममै यी यी कुरामा यसरी–यसरी न्याय, समानता र अधिकार सुनिश्चित गरिनेछ भनेर उल्लेख गर्ने र त्यो लागू गर्ने प्रतिबद्धता जाहेर गर्नुपर्छ अन्यथा यो नयाँ बन्न सक्ने छैन, नयाँ बोतलमा पुरानै रक्सी भरेजस्तै हुनेछ ।

पार्टीसँग आर्थिक योजनाको स्पष्ट मार्गचित्र हुनुपर्छ – समाजवादी आर्थिक योजना! एमालेमा यस्तो योजना छैन । चुनाव जितेर सरकारमा जाने र रामशरण महतहरूले नियुक्त गरेका योजना आयोग तथा नवउदारवादका अनुयायी सचिवहरूद्वारा बनाइने आर्थिक नीति तथा कार्यक्रम नै एमालेको आर्थिक योजना हो । नयाँ बन्ने हो भने पार्टीको स्पष्ट समाजवादी आर्थिक योजना बनाउनुपर्छ र सोही अनुसार लागू गरिने कुराको भरोसा दिलाउनुपर्छ । अन्यथा यो नयाँ बन्न सक्ने छैन ।

एमालेसँग रोजगारी सिर्जना गर्ने तथा रोजगारी उपलब्ध गराउने कुनै नीति छैन । बरु यो दल त कामदार निर्यात गर्न आयातकर्ताको खोजीमा पो देखिन्छ । नेपाली श्रम नेपालमै प्रयोग गर्न उद्योग, कलकारखानालगायत कृषि, पर्यटन, वन, जडीबुटीको क्षेत्रमा रोजगारी निर्माण गर्ने र योग्यताअनुसार काम र आवश्यकताअनुसार ज्याला उपलब्ध गराउने नीति बनाउनुपर्छ र लागू गर्ने कुरामा विश्वास दिलाउनुपर्छ ।

उही पोखरीको पानी, उही पोखरीको माछा भयो भने त्यो नयाँ एस नबनेर पुरानै एमाले रहनेछ । पार्टी निर्माणको महत्वपूर्ण पक्ष विचार र सिद्धान्तजस्तै आन्तरिक लोकतन्त्र पनि हो । पार्टीको आन्तरिक जीवन लोकतान्त्रिक हुन सकेन भने त्यो अलोकतान्त्रिकतिरै मोडिन्छ । त्यसले एमालेमा जुन दुर्घटना भयो त्यस्तै दुर्घटना निम्त्याउने छ । पार्टीमा सचेत कार्यकर्ता पंक्ति होइन भाट र दासहरू जन्माउनेछ । तिनीहरूको काम एउटाको पक्ष लिएर आफ्नै कमरेडहरूको उछित्तो काढ्ने, बदनाम गर्ने र उनीहरूको चरित्रहत्या गर्ने हुनेछ, जस्तो अहिले गरिरहेका छन् ।

विधि र पद्धति केवल विधानमा सीमित राखेर टिके तथा टिपे प्रथाद्वारा जिम्मेवारी दिने काम जसरी एमालेमा भइरहेको छ त्यो नयाँ बनाउने हो भने हुनुहुँदैन । प्रतिनिधि वा नेता छान्ने काम लोकतान्त्रिक विधि र प्रक्रियामार्फत नै गरिने कुराको सुनिश्चितता हुनुपर्छ । यो पार्टीमा सबै फूलहरूले फुल्न र खिल्न समान वातावरण पाउने छन् भन्ने कुराको आभाष सबैले गर्न सक्ने हुनुपर्छ । र, मुख्य कुरा, पार्टीको अध्यक्ष, पार्टीको तर्फबाट बन्ने प्रधानमन्त्री तथा पार्टीका महत्वपूर्ण पदमा दुई कार्यकालभन्दा बढी नेतृत्व गरेर बस्न नपाइने व्यवस्था अनिवार्य गर्नुपर्छ । नयाँ यसरी बन्न सकिन्छ । यस्तो गरिएन र उही एमाले प्रवृत्ति दोहोरियो भने यो नयाँ होइन कि बरु झन् पुरानो र थोत्रो हुनेछ ।

टिप्पणीहरू