लागुऔषध बेच्ने ठूलै गिरोह

लागुऔषध बेच्ने ठूलै गिरोह

नेपाल प्रहरी एउटा समूहको पाँच तहसम्मको लागुऔषध कारोबारीलाई पक्रन सफल भएको छ । भक्तपुर नगरपालिका क्वाछेँमा राजेश शाहीले चलाएको बा. ०२ ०१६ प ०१२६ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिहरुमाथि चेकजाँच गर्ने क्रममा उक्त सञ्जाल पत्ता लागेको हो ।

मोटरसाइकल पछाडि बसेकी सरिता शाहीले बोकेको प्लाष्टिकको झोलाबाट २ सय ८५ एम्पुल लागुऔषध प्रहरीले उनीहरुलाई पक्रेको छ । भक्तपुरको भोलाछेँ बस्ने २१ वर्षीय मोटरसाइकल चालक राजेश शाही र निजकी श्रीमती १९ वर्षीया सरिता शाहीलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ ।

शाही दम्पत्तिलाई पक्राउ गरेर अनुसन्धान गर्ने क्रममा केशव क्षेत्रीले लागुऔषध बेचेको रहस्य खुलेपछि प्रहरीले सूर्यविनायकबाट २ सय ४३ एम्पुल लागुऔषधसहित क्षेत्रीलाई पनि गिरफ्तार गरेको छ ।

आफूलाई रामविश्वास रायले भारतबाट लागुऔषध ल्याएर बेच्ने गरेको क्षेत्रीको बयानपछि प्रहरीले रायलाई पनि पक्रेको छ । उनलाई हिरासतमा लिएपछि प्रहरीले थप लागुऔषध कारोबारीहरुको खोजतलास गरेको बताइएको छ ।

त्यसपछि कोटेश्वरस्थित विश्राम गेष्ट हाउसबाट सर्लाही घर भएका मोहम्मद शेष इन्ताजलाई पनि उक्त गिरोहसँग साँठगाँठ रहेको आरोपमा प्रहरीले पक्रेको छ । उनले आफूले नै रामविश्वास राय र रविन देउलालाई समेत लागुऔषध बिक्रीवितरण गरेको स्वीकारेका छन् ।

पक्राउ परेका सबैको साथबाट नोफिन ६ सय ७६ थान, डाइजेपाम ६ सय ७६ थान, फेनरग्यान ५ सय ८१ थान, नाइटाभेट १८ सय ट्याब्लेट, प्रोमोटाजाइन ९५ थान, मोबाइल ९ थान, सिम कार्ड १३ थान, सिमको खोल ६ थान र नगद ४६ हजार रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू