ओलीको प्रतिवेदनमा लुकेका कुरा-राम्रा जति आफूलाई,नराम्रो जति अरुलाई

ओलीको प्रतिवेदनमा लुकेका कुरा-राम्रा जति आफूलाई,नराम्रो जति अरुलाई

एमाले अध्यक्ष केपी शर्मा ओलीले यो साताको शुरुमा बोलाइएको स्थायी समितिको बैठकमा पेश गर्नुभएको ६९ पृष्ठको राजनीतिक प्रतिवेदनलाई आजदेखि शुरु हुने केन्द्रीय समितिको बैठकमा पेश गर्दै हुनुहुन्छ । प्रतिवेदनमा राम्राको जस आफूलाई,नराम्राको अपजस अरुको थाप्लामा हालिदिनुभएको प्रष्टै देखिन्छ ।

०७१ सालमा आफू नेतृत्वमा आएदेखि अहिलेसम्म भए गरेका सबै राम्रा कामको जस व्यक्तिगत रुपमा आफूलाई दिइएको छ । एक जना केन्द्रीय नेताका अनुसार उहाँले आफूलाई बाहेक अरुलाई राम्रो लेख्नुभएको छैन । पार्टीको बिग्रे भत्केको निर्णय र गतिविधि सबै बिरोधी भनेर चिनिएकाको थाप्लोमा हालेर प्रतिवेदन बनाइएको छ ।

“आफूलाई फाइदा हुँदा थाती राख्ने,सार्वजनिक खपत गर्न पर्दा फुत्त झिक्ने चटकेको म्याजिक बक्स बनाउनुभएको छ उहाँले मदन भण्डारीको जबजलाई,यस्तो किनभने अब माधवतिर जानेलाई रोक्नु छ,चुनावमा जबज र मदनको लिगेसी देखाउनु छ । “

ती सदस्य भन्छन् ‘एउटा इमान्दार, सामान्य राजनीतिक व्यक्तित्वले त्यस्तो बेइमानीपूर्ण भाषा लेख्दैन । । कम्युनिष्ट पार्टीको दस्तावेजमा सामूहिक निर्णय र स्वामित्व ग्रहण गरिन्छ । तर एमालेको पछिल्लो राजनीतिक प्रतिवेदनमा त्यो देखिँदैन ।’ पार्टीले गरेको योगदानको बारेमा प्रतिवेदनमा कहिँ लेखिएको छैन । राम्रा कामको उल्लेख गरिएका सबै ठाउँमा ‘मेरो,आफ्नो र म’ भन्ने शब्दबाट सम्बोधन गरिएको छ । पार्टी पछिल्लो हालतमा आइपुग्दा ६९ पृष्ठको प्रतिवेदनमा कहिँ कतै पनि पश्चातापको एउटा अक्षर वा शब्द लेखिएको छैन ।

“कतिपय ठाउँमा कहिँ क्रान्ति भइसकेको,कहिँ पूरा नभएको,कहिँ भर्खर प्रारम्भ भएको आशय पोखिएको छ । “

जनताको बहुदलीय जनवादलाई ओलीले प्रतिवेदनका धेरैभन्दा धेरै ठाउँमा अस्वाभाविक ढंगले बढाइ चढाइ गरेको पाइएको छ । जबजको रोडम्याप बनाउँदै ओलीले प्रतिवेदनमा समाजवादसम्मको यात्राको प्रस्थान विन्दु भन्न भ्याउनुभएको छ । त्यहि जबजलाई उहाँले २०७५ जेठ ३ गते माओवादी केन्द्रसँग एकीकरण गर्दाको बखत बक्सामा बन्द गर्नुभएको थियो । मानौं त्यतिबेला पार्टी एकीकरण कसैको करकापमा गरिएको थियो । आफूलाई फाइदा हुँदा थाती राख्ने,सार्वजनिक खपत गर्न पर्दा फुत्त झिक्ने चटकेको म्याजिक बक्स बनाउनुभएको छ उहाँले मदन भण्डारीको जबजलाई,यस्तो किनभने अब माधवतिर जानेलाई रोक्नु छ,चुनावमा जबज र मदनको लिगेसी देखाउनु छ ।

अहिले ओलीले पेश गरेको प्रतिवेदन आगामी चुनावलक्षित हुँदै आन्तरिक रुपमा फेरि मदन भण्डारी र जबजलाई क्यास गर्नेगरी लेखिएको भन्न थालिएको छ । सैध्दान्तिक विचलनको रुपमा प्रतिवेदनका कतिपय ठाउँमा कहिँ क्रान्ति भइसकेको,कहिँ पूरा नभएको,कहिँ भर्खर प्रारम्भ भएको आशय पोखिएको छ ।

“पुँजीवादी क्रान्ति सम्पन्न भइसकेको लेखिएको छ । अर्को एक ठाउँमा उक्त क्रान्ति भनेजति पूर्ण नभएको पनि स्वीकारिएको छ”

उदाहरणको लागि प्रतिवेदनमा पुँजीवादी क्रान्ति सम्पन्न भइसकेको लेखिएको छ । अर्को एक ठाउँमा उक्त क्रान्ति भनेजति पूर्ण नभएको पनि स्वीकारिएको छ । मुख्यगरी जबज र पुँजीवादी क्रान्तिको बारेमा आफ्नो अनुकूल ढंगले ब्याख्या गरिनुलाई धेरैले ओलीमा देखिएको सैध्दान्तिक विचलनको रुपमा लिएका छन् ।

प्रतिवेदनको प्रारम्भिक लेखन सचिव प्रदीप ज्ञवालीले गर्नुभएको र त्यसमा पछि अध्यक्षले अलिअलि थपथाप गर्नुभएको समेत बैठकमा चर्चा भएको छ ।

टिप्पणीहरू