रोमान्सको राजनीति, रमितेको रमझम « Jana Aastha News Online
Logo
१० असार २०७९, शुक्रबार
|  Fri Jun 24 2022
Logo
१० असार २०७९, शुक्रबार
|  Fri Jun 24 2022

रोमान्सको राजनीति, रमितेको रमझम

प्रकाशित मिति :  ३१ भाद्र २०७४, शनिबार १२:१४


  • रामकुमार एलन

स्टेफन किङले भनेका छन्, ‘फ्रेन्च यस्तो भाषा हो, यसले फोहोरलाई पनि रोमान्समा परिणत गर्छ ।’ सायद स्टेफनले अनुमान गरेनन्, ‘नेपालमा ह्वात्तै लोकतन्त्रलाई जोकतन्त्र मान्नेहरूको बहुमत हुनेछ, भ्रष्टहरू पुजिनेछन् । व्यवस्थाविरोधीहरू अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा आरक्षित हुनेछन् अनि जेल हाल्नुपर्ने नेतालाई मन्त्री हुने रहरको घाँस देखाइदिएपछि ऊ पार्टी फुटाएर पनि बुर्लुक्क उफ्रँदै आउनेछ, यिनलाई प्रधानमन्त्री दिने ‘प्रत्याभूति’ दिइयो भने पार्टी र प्रदेश होइन, देश पनि फोर्नेछन् ।’

अर्थात् फ्रेन्च भाषाजस्तै रोमान्चकारी जादू छ नेपाली लोकतन्त्रमा । लोकतन्त्र यस्तो थिएन, व्यवस्था फेरिए पनि नेता पुरानै परेकाले लोकतन्त्र पनि कुँजो भयो । अर्थात् कागजस्तो । हाँसजस्तो ढल्केर हिँड्न खोज्दा कागले दुःख पाएको भन्नेहरू छन् । न हाँसजस्तो ढल्केर हिँड्न जान्यो, न ढुकुरजसरी सिधा हिँड्न सक्यो । काग छड्के भएर हिँडेजस्तै लोकतन्त्र पनि कोल्टे हिँड्ने बानी प¥यो । सिधा पार्नु पर्ने नीतिले हो । नेता होइन, नीति ठूलो भन्ने पुष्पलाल अहिले राजनीतिमा छैनन् । उनको फोटोसमेत हुन छाड्यो ठाउँठाउँका कार्यक्रममा । 
पुराना फोटोहरूले स्मार्ट सिटीको इज्जत राख्दैनन् भन्ने अर्को रोमान्स हावी भएर कतै पुष्पलाल, बिपी, मदन भण्डारीका तस्बिर नउठेको फोहोरको डंगुरमा भेटिए पनि स्टेफनले भनेजस्तै हुनेछ, अर्थात् फोहोर पनि रोमान्समा परिणत हुने ताकत राख्न थालेको छ नेपाली लोकतन्त्रले, देखिस् त ? काठमाडौंलाई एकसय दिनमा स्मार्ट सिटी भएको हेरेकाहरूले अबको केही सातामै जितपुर सिमरा उपमहानगरपालिकालाई हाइजेनिक हबको भर्जिन सिटी संस्करणमा देख्न पाउनेछन् ।

हब कांग्रेसको, हाइजेनिक एमालेको र भर्जिन माओवादीको नारा हो, असोज २ गतेको निर्वाचनमा भोट माग्न । व्यापारीले सिमरालाई औद्योगिक करिडोर भन्थे, कांग्रेसले केको हब मानेको हो ? एमालेले किन हाइजेनिक बनाउन लाग्यो औद्योगिक क्षेत्रलाई अनि कम्युनिष्ट चेतको सक्कली कम्युनिष्टको आइएसओ नम्बर एमालेसँग होइन, हामीसँग छ भनेर फुर्ति गर्ने माओवादीले भनेको ‘भर्जिन’को अर्थ के होला ? माओवादीले खोजेको भर्जिन पनि इस्तानबुलको आतंकी हमलामा सरिक मुस्लिम छापामारकै जस्तै पो हो कि ? उसलाई पत्रकारले किन मान्छे मारेको भनेर सोध्दा भन्थ्यो रे, ‘मलाई जन्नतमा २० लड्की मिल्छ ।’

अर्थात् नेपालमा मात्र होइन, जताततै अहिले ‘जन्नत’को लोभमा रगतको खोलो बगाउनेहरूले रोमान्स गरिरहेका छन् । राजनीति निःशुल्क र चाँडै उपलब्ध हुने रोमान्सघर बनिरहेको छ । जन्नतमा के मिल्छ, थाहा छैन, तर प्रजातन्त्र, सक्रिय राजतन्त्र, लोकतन्त्रमा मात्र होइन, गणतन्त्रमा पनि शेरबहादुर देउवालाई ९८ दिनमा ५२ मन्त्री, राज्यमन्त्री मिलेको छ । दीपक बोहोरालाई फेरि मन्त्री पद जुरेको छ । फ्रेन्च भाषा भन्दा हजार गुणा रोमान्चकारी शक्ति नेपाली राजनीतिमा उपलब्ध हुँदै गएपछि यसलाई संस्थागत गरिनेछ भनेर कागज गरिदिएका छन् पुष्पकमल दाहाल प्रचण्डले । जसोजसो बाहुन बाजे, उसोउसो स्वाहा भनेझैँ गजबको रोमान्समा हुर्किरहेको छ नेपाली गणतन्त्र । 

त्यसैले नेपाल आयल निगमको घोटाला प्रकरणमा संसदीय समितिले बोलाउँदा, म राज्यको जिम्मेवार हुँ, भेडाबाख्रा होइन भन्दै आपूर्ति सचिव कृष्णप्रसाद देवकोटाले संसदीय समितिलाई चुनौती दिँदा क्या बात ! भन्दै विदेशी संस्कार र डलरले प्रायोजित नेपाली बुद्धिजीवीहरू देवकोटाको दलाली गरिरहेका छन् । लोकतन्त्रको रोमान्स हो यो पनि । एउटा सचिवले जनअनुमोदित नेपाली जनताका प्रतिनिधिले आयल निगममा घोटालाबारे सोध्न बोलाउँदा सांसदको घरमा भकारो सोर्न बोलाएजसरी प्रस्तुत हुने सचिवहरू छन्, तिनलाई उक्साउने केही पत्रकारहरू छन् । एकदुई थान ग्यास र दशैँ खर्चको क्यासका भरमा सचिवलाई दलाली गर्नेहरूले राष्ट्रियता पढाउँछन्, बेलाबखत । हामीले चुपो लागेर सुनिदिनु पर्छ । अनि मुख्य सचिव बिचरो वैदेशिक रोजगारीका लागि हुँदाखाँदाको जागिर छाड्छ । यो पनि गणतन्त्रको रोमान्सभित्रै पर्छ सायद । 

गणतन्त्रको रोमान्सभित्र अरु थुप्रै विषयबस्तु पर्छन् । चुडामणि शर्माले कानुनमै टेकेर सम्पत्ति आर्जन गरेको भन्ने डाक्टर भीमार्जुन आचार्यलाई यही लोकतन्त्र मन परेको छैन । संघीयता फाप्दैन भन्छन् । चुडामणि शर्माको मुद्दा हेर्ने सुविधा उनलाई लोकतन्त्रले दिएको हो । उनले बोल्न पाउने अधिकार प्रत्याभूत छ । बरु रिपोर्टर्स क्लबमा गएर उनी पत्रकारलाई अनुशासन र नैतिकता सिकाउँछन् । सायद उनलाई गणतन्त्रको रोमान्समा अरु दुई चार चुडामणिको मुद्दा हेर्न रहर छ । किनभने विल रोजर्सले भनेका छन्, ‘एउटा मूर्ख र उसको पैसा चाँडै विजित भयो ।’ यो पनि त गणतन्त्रको कम ठूलो उपलब्धी हो र ? यो चानचुने रोमान्स हुँदै होइन । 

युद्ध लडेका छापामारका बगिरहेका पीपले गणतन्त्र नै दुषित हुन्छ । खाटा नबसेका घाउ कोट्याएर रगत पीप बगाउँदा स्मार्ट सिटीको बेइजत हुन्छ । सन्तान बेपत्ता भएको पीडा सुनाएर कति दिन नुनिलो आँशुले जीवन गुजार्ने ? बेपत्ता भए त भए, अलिदिनमा नेताहरूले यसो भने पनि आठौँ आश्चर्य हुने छैन । किनभने जनतालाई रुमानी सपनामा लछप्पै भिजाएर अहिलेचाहिँ लोकतान्त्रिक अभ्यास गरिरहेको माओवादी पनि बहुमतको राजनीतिमा रत्तिएको छ । भागवण्डामा भूगोल बाँडेर निर्वाचित हुने रहरमा उसले हिजो बाँडेको सपना आफ्नै लागि मूल शत्रु बनेर उभिएको छ । अझ यसो भनौँ इम्मा गोल्डम्यानको भनाइ सापटी लिएर, ‘मताधिकारले सबै परिवर्तन गर्न थालिएपछि यसलाई पनि कुनै दिन अवैधानिक बनाइनेछ ।’ सायद माओवादीले अहिले गरिरहेको रोमान्स गणतन्त्रको उच्चतम अभ्यास भनियो भने विश्वका कम्युनिष्टहरू कति हास्लान् ? चिनिया कम्युनिष्ट नेताहरू त अहिले नै हाँस्न थालिसके । 

हामीले सोचेको लोकतन्त्र र गणतन्त्र यस्तो थिएन । धेरैले यसै भन्छन् । पाँच वटा महाधिवेशनमा खारिएर आएका हुन् शेरबहादुर देउवा । कोइराला कम्पनी भयो कांग्रेस भन्दै लडेका देउवाले अब कांग्रेसलाई बाटोमा हिँडालाउन् भन्ने थियो । त्यतिमात्रै होइन, वीरेन्द्र र ज्ञानेन्द्रको पनि भावभंगि बुझेका थिए देउवाले । लोकतन्त्रलाई संस्थागत गर्लान् भन्ने थियो । उनकै पालामा भ्रष्टहरूले चुनाव लड्न पाउने विषयमा संसदमा प्रस्ताव दर्ता भयो । यसो भनिरहँदा अनेक राम्रा काम भएका छन् प्रधानमन्त्री देउवाका कार्यकालमा । चीनसँगको सम्झौता, हिजोका दिनमा पनि विभिन्न आयोग निर्माणले देउवालाई राजनीतिक नायक बनाइरहन्छ । तर अहिले बहुमतको छाता ओढ्ने नाममा उनले गणतन्त्रको लोगो जसरी दुरूपयोग गरेका छन्, उमेर भएका र आशालाग्दा धेरै नेपाली नेताको भविष्यलाई देउवाले दाउमा लगाइदिएका छन् ।

जितमा देउवा देखिने, हार्दा नेपाली गणतन्त्र हार्ने जुन खेल भइरहेको छ । यसले आम नेपालीमा निरासा र विखण्डनको बिउ रोपिरहेको छ । हुन त हामीले राजनीतिबाट नैतिकता आशा गर्नु नै भूल हो । निकोलो मेचिभेलीले उहिले भनेका हुन् नि, ‘राजनीतिसँग नैतिकताको सम्बन्ध हुँदैन ।’ हो, राजनीति केवल रोमान्सलाई संस्थागत गर्ने काममा प्रयोग भइरहेको छ । त्यसैले दीपक बोहोरा मन्त्री हुँदा अनौठो हुँदैन, रोमान्सको मौसममा सबै रत्तिरहँदा कतै राष्ट्रियता बर्मामा क्षत्विक्षत् भइरहेको रोहिंगा मुसलमान समुदायजस्तै रक्तमुछेल पो हुँदैछ कि ? रोमान्समा रमाइरहेकाहरू होसमा नआए पनि हामी राष्ट्रलाई माया गर्नेहरू एकठ्ठा हुने बेला जो छ ।


प्रतिक्रिया दिनुहोस !