नेकपा एकीकृत समाजवादी र एमाले दुबै बैठकमा व्यस्त

नेकपा एकीकृत समाजवादी र एमाले दुबै बैठकमा व्यस्त

आज राजधानीमा विभिन्न कार्यक्रम हुने जानकारी प्राप्त भएको छ । आज पनि बिरोध प्रदर्शन र धर्नासँगै बैठक,सभा र सम्मेलनको चापाचाप छ ।

आज सबेरै नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठक डाकिएको छ । बिहान ७ बजेदेखि बोलाइएको संघको सचिवालय बैठक क्वालिटी ब्याङ्क्वेट, बुद्धनगरमा शुरु भएको छ ।

उता नेकपा (एमाले) ले केन्द्रीय कमिटी बैठक डाकेको छ । बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बस्ने जानकारी गराइएको छ ।

काँग्रेसको केन्द्रीय कार्यालय, सानेपामा सँधैझैँ आज धर्ना र अनशन जारी रहने बताइएको छ । धर्ना बिहान ९ बजेबाट हुने छ ।

नेपाल मजदुर किसान पार्टीले देको मिबा ईतापाके जग्गा एकीकरण आयोजना पीडितहरुको तर्फबाट सरोकारवाला निकायमा र्यालीसहित ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेको छ । बिहान ९ बजे भक्तपुर नगरपालिका भवन अगाडिको टुरिष्ट बसपार्कबाट जुलुस निकालिने उसले जनाएको छ ।

एनसेलको कार्यालय, लैनचौरमा आज पनि कर्मचारीले धर्ना कार्यक्रम राखेका छन् । बिहान १० बजेबाट धर्ना शुरु हुने जानकारी दिइएको छ ।

उता नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालयमा जारी धर्ना आज पनि बिहान साढे १० बजेदेखि साढे १२ बजेसम्म हुने छ । धर्नाकारीले सँधै व्यवस्थापन विरुद्ध नाराबाजी गर्दै आएका छन् ।

आज राष्ट्रिय सभाको बैठक डाकिएको छ । बैठक संघीय संसद भवन,नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने छ । त्यसैगरी संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक समितिको सभाकक्ष, सिंहदरबारमा बिहान साढे ११ बजे बस्ने जनाइएको छ ।

हाम्रो पार्टी नेपाल र नेकपा (जनवादी) पार्टीले एमसीसी रोक्ने विषयमा खुला सभा गर्ने जनाएको छ । कार्यक्रम दिउँसो साढे २ बजे नयाँ बसपार्क नजिकै हुने छ ।

त्यसैगरी नेपाल निजामती कर्मचारी संगठन उपत्यका प्रदेश कार्यसमितिको उपत्यकास्तरीय संगठक भेला राखिएको छ । कार्यक्रम दिउँसो साढे २ बजे सहरी विकास तथा भवन निर्माण विभागको सभाहल, बबरमहलमा हुने छ ।

बूढीगण्डकी राष्ट्रिय सरोकार समितिले आज पनि धर्ना र प्रदर्शन गर्ने जनाएको छ । बूढीगण्डकी आयोजना तत्काल थाल्नुपर्ने उनीहरुको माग छ । कार्यक्रम माइतीघरमा दिउँसो १२ बजेबाट शुरु हुने जनाइएको छ ।

नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले आज एमसीसीविरुद्ध बिरोध जुलुस निकाल्ने भएका छन् । उनीहरुले बिरोध जुलुस दिउँसो ३ बजे भक्तपुरको सल्लाघारी दुवाकोट चोकदेखि झौखेल वडा कार्यालयसम्म निकाल्ने जानकारी दिएका छन् ।

टिप्पणीहरू