काङग्रेस महाधिवेशन गुटको गलपासो,कसको के चासो ?

काङग्रेस महाधिवेशन गुटको गलपासो,कसको के चासो ?

नेपाली काङग्रेसभित्र १४ औँ महाधिवेशनको सरगर्मी बढेको छ । महाधिवेशनको तिथि जुन गतिमा नजिकिँदै छ त्यहि गतिमा गुटहरु पनि बन्ने र भत्कने क्रम पनि बढेको छ । हिजो बनेका गुट आज भत्किरहेका छन् र आज फेरि नयाँ गुट बनिरहेका छन् । यो क्रम निरन्तर रहने पक्का छ, किनभने यिनै बन्ने र भत्कने गुटको समिकरणले त नेतृत्व स्थापित गर्ने हो !

सबैलाई थाहा छ पार्टी सत्ता नै अन्तत: राजकीय सत्तासम्म पुग्ने मजबुत भर्याङ्ग हो । यसकारण दलहरुले आफ्नो आन्तरिक निर्वाचनलाई उत्सवको रुपमा मनाउँछन् । अहिले यो उत्सवमय वातावरण देशको राजकीय कमाण्ड सम्हालेको पार्टी नेपाली काङ्ग्रेसभित्र छाएको छ । अहिले वडा र पालिकामा रहेको यो उत्सव सरेर जिल्ला र प्रदेश हुँदै काठमाण्डौ आउने तयारीमा छ ।

“अवकाशको डिलमा रहेका केहि बाठाको समूह पनि छ ।”

यहि उत्सवले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई समेत छोएको छ । कुनै समय इतिहासकै जम्बो सरकार हाँकेका देउवा अहिले लुखुरे मन्त्रिमण्डल लिएर लुखुर लुखुर हिँडिरहेका छन् । उनलाई थाहा छ,अहिलेको यो चोटिलो परिस्थितिमा पार्टी सत्तामा आफू जम्न नसके निकट भविष्यमा राजकीय सत्ताबाट पनि चिप्लिइन्छ भन्ने ।

देउवाका दु:ख

प्रधानमन्त्री र सभापति दुवै कार्यकारी पद आफैसँग भएपनि देउवा अहिले सुरक्षित विन्दुमा छैनन् । १३ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार रहेका तत्कालीन महामन्त्री कृष्ण सिटौलाको आडमा निर्वाचित भएका देउवालाई अहिले आफ्नैको चुनौती रहेको छ । कुनै समय देउवाको सारथि मानिएका उपसभापति विमलेन्द्र निधि देउवाका सबभन्दा ठूला चुनौति बनेका छन् ।

“अन्यथा यो समूहको राजनीति तेह्रौं महाधिवेशनसँगै सकिने हो कि भनेर लख काट्न सकिन्छ । “

निधिको भित्री मक्सद जे होला,घोषणामा नै भएपनि निधिले देउवालाई चुनौती दिनेगरी आफैलाई सभापतिको उम्मेदवार बनाएका छन् । निधिवाहेक अर्का उपसभापति गोपालमान श्रेष्ठले पनि आफूलाई सभापतिको उम्मेदवार घोषणा गरेका छन् । समयमा यी दुईलाई व्यवस्थापन गर्न नसके श्रेष्ठ र निधि दुुवै देउवाका लागि लाज लाग्ने ठाँउको पिलो जस्तै न राख्न मिल्ने न फाल्न सक्ने बन्ने पक्का छ ।

निधि र श्रेष्ठ जसरी देउवाका लागि धराप बन्दैछन् त्यसैगरी देउवा समूहका महामन्त्रीका दावेदार हेर्दा उक्त गुटको अफ्ठ्यारो प्रष्टै बुझ्न सकिन्छ । देउवा गुटमा लामो समय बिताएर उक्त गुटलाई सशक्तिकरणमा योगदान गरेका बालकृष्ण खाँण,एनपी साउद, प्रकाशशरण महत र ज्ञानेन्द्र कार्की देउवा समूहमा महामन्त्री पदका दावेदार रहेका छन् ।

“पुरानो हार्ड डिस्कमा रेकर्ड गरिएको म्याटरजस्तो अवस्था रहेका पाकाहरुलाई नेता मान्दामान्दै कपालका काला रौँ सकिन अाँटेका युवा नेताहरुमा आँटको पित्को पनि देखिएन ।”

यी चार भाइबाहेक पछिल्लो समय देउवाको साथ निभाएका विश्वप्रकाश शर्मा पनि अर्कै कित्ताबाट महामन्त्रीको दौडमा देखिन्छन् । नेविसँघको राजनीतिबाट उदाएका यी नेताको व्यवस्थापन गर्ने चुनौतीमा देउवा रहेका छन् । उपसभापतिमा पूर्णहादुर खड्का , विजय गच्छेदार र भर्खरै राप्रपाबाट देउवा कोटरीमा छिरेका सुनिलबहादुर थापालाई मिलाउनुपर्ने दु:खमा देउवा रहेका छन् ।

अप्ठ्यारोमा पौडेल

कुनै समय सन्त नेता कृष्णप्रसाद भट्टराईबाट बाठो बाहुनको उपमा पाएका वरिष्ठ नेता रामचन्द्र पौडेल अहिले आफ्नै दु:खमा छन् । अझ एक अन्तर्वार्तामा सभापतिको दावेदारसमेत रहेका नेता डाक्टर शेखर कोइरालाले आफ्नो समूहलाई पौडेल समूह भनिएकोमा आपत्ति जनाउँदै कोइराला समूह भन्न माग गरेपछि पौडेल अहिले भीरको डिलमा रहेको मान्न सकिन्छ ।

कोइरालाले भनेका छन्-पौडेल पाको नेता भएकोले आफूहरुले माने पनि हाम्रो समूह पौडेल समूह होइन, कोइराला समूह हो । अहिले यो समूहबाट शेखर,सशाँक कोइराला र प्रकाशमान सिंहले पौडेललाई अफ्ठ्यारोमा पारेका छन् । बीपी पुत्र डाक्टर सशाँक बहालवाला महामन्त्री हुन् भने गणेशमान पुत्र प्रकाश पूर्व उपसभापति । यी नेताको चुनौती व्यवस्थापन गर्न नसके पौडेलका लागि पार्टी सत्ताको सबभन्दा माथिल्लो तह सभापति आकाशको फल नहोला भन्न सकिन्न ।

“यस्तो हुँदो हो त असीको आड टेकेका नेतालाई साठीको छेकोले सघाउन नपर्ने हुन्थ्यो । “

देउवाले जस्तै पौडेलले पनि सभापतिका आकाँक्षीहरुलाई मात्रै मिलाएर उम्किन नपाउने देखिन्छ । विगतमा पौडेललाई हराउने भूमिकामा रहेका गगन थापा अहिले पौडेल समूहबाट महामन्त्रीको दावेदार रहेका छन् । थापावाहेक गुरु घिमिरे,धनराज गुरुङ्ग,चन्द्र भण्डारी र मिनेन्द्र रिजालको पनि चित्त बुझाउन पर्ने बाध्यता पौडेललाई रहेको छ ।

सट्याक सुटुक सिटौला

पूर्व महामन्त्री तथा तेह्रौँ महाधिवेशनमा सभापतिका उम्मेदवार सिटौला पनि सभापतिका दावेदार हुन् । पछिल्लो समय केहि कमजोर देखिएका सिटौलाले कतै न कतै आफ्ना समर्थकहरु व्यवस्थापन गर्ने गरी गोटी नचाल्लान् भन्न सकिन्न । यो समूहबाट सिटौला सभापति र प्रदिप पौडेल महामन्त्रीका दावेदार देखिएका छन् ।

आँट नभएका युवा

नेपाली राजनीतिमा उमेर पाकेका नेताका कुरा सुन्ने र युवाहरुलाई कार्यकारीमा विश्वास गर्ने वातावरण अझै बनेन । यस्तो हुँदो हो त असीको आड टेकेका नेतालाई साठीको छेकोले सघाउन नपर्ने हुन्थ्यो । पुरानो हार्ड डिस्कमा रेकर्ड गरिएको म्याटरजस्तो अवस्था रहेका पाकाहरुलाई नेता मान्दामान्दै कपालका काला रौँ सकिन अाँटेका युवा नेताहरुमा आँटको पित्को पनि देखिएन । कल्याण गुरुङ्गमा जस्तो अन्य नेतामा आँट र आफैमाथि भरोसा नदेखिनु अनौठो छ ।

सत्तारुढ दलको १४औँ महाधिवेशनमा पनि युवा भनिनेहरुले आँट नगरे उनीहरु पाङग्रे कुर्सी र सभापतिको कुर्सी कुनमा छिटो पुग्ने हुन् भन्न सकिदैन ।

बाठाहरुको बठ्याइँ

नेपाली काङग्रेसभित्र अवकाशको डिलमा रहेका केहि बाठाको समूह पनि छ । यो समूहमा डाक्टर रामशरण महतअर्जुननरसिंह केसी,बलबहादुर केसी रहेका छन् । यो समूहले कोइराला पुत्रहरुको नेतृत्वमा आगमन रोक्न नसके आफ्नो अवकाश निश्चित रहेको ठान्छ । यसकारण यो समूहमा रहेका नेताहरु रामचन्द्रलाई सभापतिमा उठाउन सके आफूहरु पनि कतै न कतै सेटल हुन सकिने ठान्छन् । अन्यथा यो समूहको राजनीति तेह्रौं महाधिवेशनसँगै सकिने हो कि भनेर लख काट्न सकिन्छ ।

टिप्पणीहरू