मुक्का खाएका मेयरको दोहोरो भूमिका,शान्ति सुरक्षामा मुद्दा

मुक्का खाएका मेयरको दोहोरो भूमिका,शान्ति सुरक्षामा मुद्दा

सोमवार बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले आफ्नै कार्यकर्ताबाट मुक्का खाएको चर्चा सेलाएको छैन । सुवेदीले मंगलबार आफूमाथि हातपात गर्ने युवालाई छाड्न प्रहरी कार्यालयलाई भनेतापनि हिजो प्रहरीले पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

सुवेदीले यसअघि जनआस्थासँगको कुराकानीमा घटनामा संलग्न अनेरास्ववियु रुपन्देही जिल्ला सदस्य तथा पहिरो प्रभावित गणेश पँगेनीलाई एकपटक सुध्रन मौका दिने बताउनुभएको थियो ।

‘यो विषय यहिँ टुङ्ग्याउँ,मलाई काम गर्नु छ,मैले सबैको भलो चाहन्छु भनेको थिएँ,’ भन्नुभयो ।

मेयरले आफूमाथि आक्रमण भएपछि पक्राउ परेका पँगेनीलाई तत्काल छाड्न भने पनि अर्को दिन इलाका प्रहरी कार्यालय,बुटवलले पाँच दिन म्याद थपेर अनुसन्धान प्रक्रिया अघि बढाइएको बताएको थियो । जनआस्थाले पुनः मेयरसँग सम्पर्क गर्दा उहाँले उक्त घटना आफूसँग असम्बन्धित रहेको जवाफ दिनुभएको छ ।

एकातिर सञ्चारकर्मी तथा जनतासँग आफू राम्रो बन्ने र अर्कोतर्फ मुक्का प्रहार गर्ने गणेशलाई आफ्नो संलग्नता नदेखाई कारबाही गर्ने मनशाय मेयरको रहेको भन्ने आरोप स्थानीयले लगाएका छन् ।

जनआस्थाले मेयरलाई प्रहरीले तपाईंले भनेको भरमा पँगेनीलाई छाड्ला त ? भनेर सोधेको थियो । प्रतिउत्तरमा उहाँले, ‘यो विषय यहिँ टुङ्ग्याउँ,मलाई काम गर्नु छ,मैले सबैको भलो चाहन्छु भनेको थिएँ,’ भन्नुभयो । पँगेनीलाई छुटाउन प्रहरीमा निवेदन दिए वा नदिएको विषयमा भने केही पनि उच्चारण गर्नुभएन ।

घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय,बुटवलले मेयरले छुटाउन निवेदन नदिएका कारण उनीमाथि सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याएवापत मुद्दा चलाइएको बताएको छ । जनआस्थासँग कुरा गर्दै प्रहरी नायव उपरिक्षक मदन कुँवरले पँगेनीविरुध्द कुनै जाहेरी नपरे पनि प्रहरी रिपोर्टका आधारमा मुद्दा चलाएको जानकारी दिनुभएको छ ।

उहाँले मेयर र पँगेनीको सम्बन्ध जस्तो भए पनि निवेदन विना छाड्न नमिल्ने भन्नुभयो । ‘हिजो मात्रै म्याद थप गरेर अनुसन्धान शुरु गरिएको छ । घटनाको अनुसन्धान नसकिँदासम्म गणेश हिरासतमै रहन्छन्,’कुँवरले भन्नुभयो ।

टिप्पणीहरू