ओलीको फेरियो बोली- ‘इण्डो–प्यासिफिक चीनविरुध्द केन्द्रित ’

ओलीको फेरियो बोली- ‘इण्डो–प्यासिफिक चीनविरुध्द केन्द्रित ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इण्डो–प्यासिफिक रणनीति विश्व प्रतिस्पर्धाको केन्द्र एसिया-प्रशान्त क्षेत्रमा आफ्नो प्रभुत्व कायम गर्ने उद्देश्यमा केन्द्रित रहेको दाबी गर्नुभएको छ । एमालेको असोज १५ देखि १७ गतेसम्म काठमाडौँमा हुने विधान महाधिशनको तयारीसहित भोलि र पर्सि हुने केन्द्रीय समितिको बैठकका लागि स्थायी कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले विश्व प्रतिस्पर्धामा चीनको उदयसँगै इण्डो–प्यासिफिक रणनीति आएको समेत प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । ‘विश्व शक्ति सन्तुलनमा तीव्र परिवर्तन देखा परेको छ । लामो समयसम्म युरोप–अमेरिका केन्द्रित विश्व ढाँचामाथि चीनको उदय एवम् ब्रिक्स र एसियाली पूर्वाधार विकास बैंकको गठनजस्ता विषयले चुनौती दिएका छन्’, प्रतिवेदनको ‘अन्तर्राष्ट्रिय परिस्थिति,भूराजनीति र हाम्रो विदेश नीति’ उपशीर्षकमा भनिएको छ ।

विश्व प्रतिस्पर्धाको नयाँ क्षेत्रको रुपमा एसिया प्रशान्त क्षेत्र बन्न थालेको र अमेरिकाले अगाडि सारेको इण्डो–प्यासिफिक स्ट्राटेजी यसै विषयमा लक्षित रहेको प्रतिवेदनको ठहर छ ।नेपालमा विवादित रहेको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता इण्डो–प्यासिफिक रणनीतिको अंग भएकाले स्वीकार गर्न नहुनेमा पार्टीभित्रै आवाज उठिरहेका बेला एमसीसीको पक्षमा अडिग रहनुभएका ओली प्रतिपक्षमा पुगेसँगै तटस्थ रहनुभएको छ । एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषय सत्तापक्षकै हातमा रहेको बताउँदै आउनुभएका ओलीले त्यसैसँग जोडिएको भनिएको इण्डो–प्यासिफिक रणनीति सम्बन्धमा भने लिखित दस्तावेजमै आफ्ना धारणा लेख्नुभएको हो ।

ओलीले इण्डोप्यासिफिक रणनीतिको विषयलाई राजनीतिक प्रतिवेदनमा अन्तर्राष्ट्रिय परिस्थिति,भूराजनीति र हाम्रो विदेश नीति शीर्षकअन्तर्गत पृष्ठ ८ को बुँदा (ज) मा उल्लेख गर्नुभएको छ ।

एमसीसी सम्झौतालाई लिएर तत्कालीन नेकपाभित्रै विवाद र असन्तुष्टि चर्किंदा ओली भने जुनसुकै हालतमा संसदबाट सम्झौता अनुमोदन गर्नुपर्ने अडानमा हुनुहुन्थ्यो । नेकपा केन्द्रीय समितिको बहुमत संख्या एमसीसी सम्झौता अमेरिकाको इण्डो–प्यासिफिक रणनीतिअन्तर्गत रहेकाले अनुमोदन गर्न नहुने पक्षमा थियो ।

सम्झौता विवादित बनेपछि नेकपाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय अध्ययन तथा सुझाव कार्यदल नै गठन गरेको थियो । कार्यदलले यथाअवस्थामा सम्झौता अनुमोदन गर्न नहुने निष्कर्षसहितको प्रतिवेदन बुझाएको थियो । उसले बुझाएको प्रतिवेदनमा इण्डो–प्यासिफिक र एमसीसीको सम्बन्धबारे पनि आशंका गरिएको थियो ।

उक्त प्रतिवेदनमा एमसीसी सहायता सामान्य दुईपक्षीय अनुदान नभई अमेरिकाको विश्वव्यापी रणनीति र कार्यक्रमअन्तर्गत रहेको उल्लेख छ । तर,प्रतिवेदन ओलीकै अनिच्छाका कारण कार्यान्वयन हुन नसकेको आरोपसमेत लागेको थियो ।

त्यतिमात्र होइन,ओलीका विश्वासपात्र मानिने तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तत्कालीन अमेरिकी विदेशमन्त्री माइक पोम्पिओसँगको भेटमा नेपाल इण्डो–प्यासिफिक स्ट्राटेजीको पार्टनर भइसकेको अभिव्यक्ति दिएको भन्दै संसद बैठकमै सांसदहरुले प्रश्न उठाएका थिए ।

टिप्पणीहरू