प्रचण्डलाई बादलको नाम सम्झँदै एलर्जी

प्रचण्डलाई बादलको नाम सम्झँदै एलर्जी

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुको नाम सम्झिँदा आफूलाई एलर्जी हुने बताउनुभएको छ । आज योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) को पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले रामबहादुर थापा बादलको नामै लिएर तिनको नाम सम्झँदै एलर्जी हुने टिप्पणी गर्नुभएको हो ।

उहाँले आफूले विश्वास गरेर पार्टीका तर्फबाट सरकारको नेतृत्व गर्न पठाएको तर बादलले धोका दिएको पनि बताउनुभयो । ‘बादल मेरो हिजोको साथी, बढि त नभनौँ अहिले तर अहिले एलर्जी हुन्छ, सम्झिँदा पनि । कहाँबाट ल्याएर गृहमन्त्रीसहित सरकारको तपाईं नेतृत्व गर्नुस् भनेर बनाएको अहिले हेर्नुस् त पारा !’ प्रचण्डले भन्नुभयो ।

एमालेमा गएका अर्का नेता टोपबहादुर रायमाझीमाथि पनि प्रचण्डले तीखो टिप्पणी गर्नुभएको छ । आफूले विश्वास गरेर पटक–पटक मन्त्री बनाएको तर रायमाझीले धोका दिएको उहाँको भनाइ छ । माओवादी सिंगो रुपमा ठीक ठाउँमा रहेको दाबी गर्दै उहाँले चुनाव जितेका केही टाठाबाठा मात्रै बिग्रिएको पनि बताउनुभयो ।

आउँदो चुनावमा माओवादी पहिलो नम्बरको पार्टी हुने प्रचण्डको दाबी छ । पार्टीलाई एक नम्बरको बनाउन ०६४ सालमा जस्तै माहोल सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सो क्रममा उहाँले माओवादी चुप लागेर बसेकाले हेप्न खोजिएको भन्दै ईंटको जवाफ पत्थरले दिन वाइसीएललाई निर्देशन समेत दिनुभयो ।

टिप्पणीहरू