राजेन्द्र राईलाई समेट्न पदाधिकारी हेरफेर

राजेन्द्र राईलाई समेट्न पदाधिकारी हेरफेर

नेकपा (एकीकृत समाजवादी)ले प्रस्ताव गरेको पदाधिकारीमा हेरफेर गरिएको छ । युवा नेता राजेन्द्र राईलाई समेट्न प्रस्तावित पदाधिकारीको नाम हेरफेर गरिएको हो ।

राईलाई सचिव बनाउन उपाध्यक्षको संख्या बढाएर पाँच पुर्याइएको छ । यसअघि सचिवमा प्रस्ताव गरिएका केशवलाल श्रेष्ठलाई उपाध्यक्ष बनाएर राईलाई सचिव बनाउन लागिएको हो । उपाध्यक्षमा श्रेष्ठसहित राजेन्द्र पाण्डे,प्रमेश हमाल,धर्मनाथ साह र जयन्ती राईलाई प्रस्ताव गरिएको छ ।

त्यस्तै,महासचिवमा डा. बेदुराम भुसाल सर्वसम्मत हुनुभएको छ। दुई उपमहासचिवमा तीन जना आकांक्षी देखिएका छन् । गंगालाल तुलाधर,प्रकाश ज्वाला र डा.विजय पौडेलमध्येबाट उपमहासचिव चयन हुने प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो।

जगन्नाथ खतिवडा,नागेन्द्र चौधरी र रामकुमारी झाँक्रीलाई सचिव प्रस्ताव गरिएकोमा अब राईसमेत थपिएका छन् । त्यस्तै,झापा आन्दोलनका पुराना नेता मुकुन्द न्यौपानेलाई पार्टीको तेस्रो वरियतामा राखिने भएको छ । अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालपछिको वरियतामा न्यौपानेलाई राख्ने सहमति जुटेको बताइएको छ ।

एकीकृत समाजवादीको विधानमा एक जना अध्यक्ष,एक वरिष्ठ नेता, सात उपाध्यक्ष,एक महासचिव,दुई उपमहासचिव र सात सचिव ७ गरी १७ जना पदाधिकारी रहने व्यवस्था छ ।

त्यस्तै, १५१ सदस्यीय केन्द्रीय समिति र ३१ सदस्य स्थायी कमिटी सदस्य रहने विधानमा व्यवस्था छ । आज बस्ने केन्द्रीय समिति बैठकले पदाधिकारीसँगै पोलिटब्यूरोसमेत घोषणा गर्ने छ ।

टिप्पणीहरू