​दसैं जागरण

नेपाली जनताको महान् चाड दसैं पनि अब नजिकै आइपुग्यो भन्दा हुन्छ । दसैं आयो कि नेपालीरूको मनमा एउटा उमंग, खुसी र उत्साह ल्याइदिन्छ । त्यसैले नेपाली समाजमा दसैंको छुट्टै महत्व छ । तर, केही वर्ष भयो, दसैंले नेपाली समाजमा यस्तो उमंग, खुसी र उत्साह मात्र ल्याएको होइन, एउटा नयाँ खाले जागरण पनि ल्याइदिएको छ । दसैंमा मात्र आउने जागरण भएकाले यसलाई ‘दसैं जागरण’ पनि भन्न सकिन्छ । 

यो कस्तो जागरण हो भने दसैं शुरु भयो कि सरकारको नापतौल विभागलाई एउटा जागरण आउँछ – कतै पसलेहरूले नापतौल नपुग्ने गरी त सामान बेच्ने ग¥या छैन ? कतै नापतौलमा त ग्राहकलाई ठग्ने ग¥या छैन ? त्यस्तै गुणस्तर विभागलाई पनि त्यसै खाले अर्को जागरण आइदिन्छ – हैन, कतै बजारमा गुणस्तरै नभएको सामान त बेचिरहेको छैन ? कुहिएको, गन्हाएको, सडेगलेको सामानहरू त बजारमा बेच्न 
ल्याएन ? सरसफाइवालालाई पनि यसै बेला जागरण आइदिन्छ – बजारमा बेचिन राखेका सामानहरू कतै फोहोर त छैनन् ? ती सामान पकाउने ठाउँ कस्तो छ ? कति सफा छ ?

अथवा बजारमा कुनै सामान महँगोमा त बेचिँदै छैन ? सरकारलाई यो जागरण पनि यसैबेला आइदिन्छ ।  

यहाँसम्म पनि ट्राफिक प्रहरीलाई समेत ठीक यति नै बेला जागरण आइदिन्छ – होइन, सडकमा गाडी गुडाउने ड्राइभर भाइहरूको  लाइसेन्स त रिन्यु भएको छ ? अथवा गाडीको बिल बुल त रिन्यु भएको छ ? 

सबै जनालाई यही बेला जागरण आइदिन्छ । किनभने दसैं हामीलाई मात्र होइन उहाँहरूलाई पनि आएको जो हुन्छ नि ! होइन र ? 

टिप्पणीहरू