​हाम्रो सरकार

प्रधानमन्त्री शेरबहादुर देउवाले अन्ततः इतिहासकै सबैभन्दा ठूलो मन्त्रिमण्डल बनाउनुभएको छ । कुल मिलाएर ५४ सदस्यीय मन्त्रिमण्डल । अब सायद मन्त्रिमण्डलको अर्को बैठक पनि ‘राजधानीको कुनै पार्टी प्यालेस’ मा पो बस्ने हुन् कि ? सिंहदरबारमा त यति ठूलो मन्त्रिमण्डलको बैठक बस्ने ठाउँ पनि छैन होला ।

तर जे होस्, प्रधानमन्त्री शेरबहादुर देउवालाई मान्नै पर्छ कि उहाँले यति ठूलो सरकार बनाउने आँटचाहिँ गर्नुभयो । त्यसो त उहाँ जे गर्नुहुन्छ ठूलै गर्नुहुन्छ । जे गरे पनि ठूलै गर्ने स्वभावका हुनुहुन्छ उहाँ । बूढानीलकण्ठमा घर बनाउनुभयो, ठूलै बनाउनुभयो । भ्रष्टाचार गरे पनि ठूलै गर्नुहुन्छ । गन्जागोल गरे पनि ठूलै गर्नुहुन्छ । अब मन्त्रिमण्डल पनि ठूलै बनाउनुभयो । विपक्षीले उहाँलाई सधैँ आरोप लगाउने गर्छ, प्रधानमन्त्रीले केही गरेन । सायद अबचाहिँ त्यस्तो भन्ने छैन । किनभने यसपालि त उहाँले केही गर्नुभयो नि ! यत्रो ठूलो सरकार बनाएर देखाइदिनुभयो । देश सानो भएर के भयो र सरकार त ठूलो छ नि ! यसमा हामी गर्व गर्न सक्छौँ ।

उहाँले बनाउनुभएको यो सरकार संसारकै सबैभन्दा ठूलो सरकार हुन सक्छ । जनसंख्याको प्रतिशत हिसाब गर्ने हो भने अरू देशले नभ्याउने निश्चित छ । यति ठूलो सरकार हामीसँग छ । संसारको सबैभन्दा अग्लो हिमाल पनि नेपालमै, संसारको सबैभन्दा ठूलो सरकार पनि नेपालमै । पर्यटन उद्योगका लागि यो एउटा नयाँ खुराक हुन सक्छ । ०७२ सालको भूकम्पले नेपालको धेरै सम्पदा नष्ट गरिदियो । त्यसैले अब पर्यटक ध्वस्त भएको सम्पदा होइन, नयाँ बनेको सरकार हेर्न नेपाल घुम्न आउनेछन् । यतिचाहिँ पक्का छ ।    

टिप्पणीहरू