मादी हत्याकाण्डको कलंक र लुकाइएको मोबाइल

मादी हत्याकाण्डको कलंक र लुकाइएको मोबाइल

‘मादी हत्याकाण्डको अनुसन्धान अभियान पूर्णरूपले पूरा भएको छ । यसका लागि दिनरात खट्ने प्र्रहरी टिमसहित प्रदेश १ का डिआईजी अरुण बिसीलाई विशेष धन्यवाद ।’ संघीय प्रहरी इकाइ धरान अपराध अनुसन्धान शाखाका एसपी भीम दाहालले २६ भदौमा आफ्नो फेसबुक वालमा माथिको स्टाटस लेखेका थिए । किनभने संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा २१ भदौ बिहान एकै घरका ५५ वर्षीय तेजकुमार कार्की, उनकी आमा ८४ वर्षीया पार्वती, श्रीमती ५४ वर्षीया मनमाया, बुहारी ३२ वर्षीया रञ्जना, नाति ८ वर्षीय दीपेन कार्की र नातिनी ५ वर्षीया गोमा कार्कीको एकै दिन, एकै ठाउँमा भएको हत्याको रहस्य पत्ता लगाउन एसपी दाहालसहित प्रदेश १ का डिआईजी अरुण विसी र संखुवासभाका डिएसपी लालध्वज सुवेदीसहित ५० जना प्रहरी ६ दिनसम्म अहोरात्र खटिएका थिए ।

घटनाको छैटौँ दिन प्रहरीले तेजबहादुरका भतिजा २६ वर्षीय लोकबहादुर कार्कीलाई सबैको हत्या गर्ने व्यक्ति किटान गर्दै पक्राउ गरेको थियो । २७ भदौमा डिआइजी बिसीको मुख्य उपस्थितिमा चैनपुरमा पत्रकार सम्मेलन गरेर तेजबहादुर र उनको परिवारका अन्य पाँच जनाको हत्या गर्ने व्यक्ति एक जना मात्रै हो भन्दै लोकबहादुरलाई सार्वजनिक गरिएको थियो । प्रहरीले उक्त हत्या लोकबहादुरले अपमानको बदला लिन आवेगमा आएर एक्लैले गरेको दाबी गरेको थियो । यसैले चाँडै क्रूर हत्याका हत्यारालाई चाँडै पक्राउ गर्न सफल भएको भन्दै प्रहरीलाई बधाई दिनेको ओइरो लागेको थियो । आइजिपी शैलेस थापाले पनि अनुसन्धानमा खटिएका डिआइजी, एसपी, डिएसपी र इन्स्पेक्टरदेखि अरु सबैलाई तहअनुसार रेकर्डमा जनिने गरी पुरस्कृत गरेका थिए ।

आफू मानसिक रोगी हुँ र अपमानको बदला लिन हत्या एक्लैले गरेको भनेर प्रहरीसमक्ष दिएको झुटो साविती बयानमा विश्वास गर्दा नेपाल प्रहरीबाट मुख्य योजनाकारसहित एकै घरका अन्य चार जना आरोपी जोगिन पुगेका थिए । प्रहरीले लोकबहादुरलाई सार्वजनिक गरेर अनुसन्धान पूरा भयो भनेको साता नबित्दै उक्त हत्या एक व्यक्तिले आवेगमा आएर नभई सहोदर नाताभित्रकै परिवारले संगठित योजना बनाएर गरेको खुलेपछि प्रहरी कलंकबाट बालबाल जोगिएको छ । उक्त हत्यामा लोकबहादुरका बाबु ४९ वर्षीय रणबहादुर कार्की, १७ वर्षीय भाइ नरेश, लोकबहादुरका काका ४७ वर्षीय खड्गबहादुर र उनका छोरा २८ वर्षीय हस्त बहादुरसमेत ५ जना प्रत्यक्ष संलग्न रहेको खुलेको छ ।

लोकबहादुरका भाइ किशोरले हत्या भएकी भाउजू रञ्जनाको मोबाइल प्रयोग गरेको देखेपछि र पोष्टमार्टम रिपोर्टमा वृद्धाको मृत्यु निसास्सिएर भएको भनिएपछि सामसुम भैसकेको मादीकाण्डको थप अनुसन्धान गर्न प्रहरी बाध्य भएको थियो । पोष्टमार्टम रिपोर्टमा हत्यामा काठको चिर्पट मात्र नभएर छुरी पनि प्रयोग भएको भनिए पनि पहिले प्रहरीले छुरी प्रयोग भएको प्रमाण जुटाउन नसक्दा उक्त कुरा बाहिर ल्याएको थिएन । खडगबहादुरका जेठा छोरा लोकबहादुरको बयानअनुसार ऊ एक्लैले चिर्पटले पालैपालो हत्या गरेको सावितिमै प्रहरी भर परेको थियो ।

तर, हराइरहेको रञ्जनाको हाइटेक मोबाइल लोकबहादुरका भाइ नरेशले प्रयोग गरेको देखेपछि एसपी भीम दाहालको टोली पुनः संखुवासभा पुगेर थप अनुसन्धान थालियो । धन्न प्रहरीले चाँडै अनुसन्धान गर्ने अवसर पायो नत्र आफ्नै वंश नरसंहार गर्ने चार जना हत्यारा समाजमा खुलेआम छाती फुलाएर हिँड्ने थिए । तर ‘पाप धुरीबाट कराएर छाडछ ’ भने झैँ उनीहरूले सामूहिक रूपमा गरेको जघन्य अपराध लुक्न सकेन । कान्छो भाइ मोबाइलमा लोभिँदा सबै पापको घडा फुटेरै छाड्यो ।

प्लानअनुसार लोकबहादुरले तेजबहादुरलाई चिर्पटले हिर्काएर हत्या गरे । त्यसपछि छुरी लिएर आएका हस्तबहादुरले घाँटी रेटे । गुहार सुनेर आएकी बुहारी रञ्जनालाई पनि हत्या गरेर खोलामा खसाले र पछि एकै ठाउँमा शव ल्याएर राखे । त्यसपछि घरमा गएर आमा मनमायालाई मुख थुनी भित्तामा टाउको ठोक्काएर मारे । र, घरमा रहेका रञ्जनाका छोरीहरूको पनि हत्या गरे ।

कान नसुन्ने र आँखा पनि नदेख्ने भएकोले तेजबहादुरका बाबुलाई पनि छाडिदिए । त्यसपछि घरमा फर्केर घटनामा प्रयोग भएको चिर्पट अगेनामा खरानी बनाए । घाँटी रेट्न प्रयोग गरेको छुरीको रगत पखालेर बुइँगलमा लुकाए । रगत लागेका कपडा पनि लुकाए । तेजबहादुरकी बुहारी रञ्जनाले प्रयोग गर्ने मोबाइल घरमुनिको ओडारमा लुकाए । घटनाबारे प्रहरीले पत्ता लगाए लोकबहादुरले मानसिक औषधी खाने कारण जिम्मा लिने भन्ने सल्लाह गरेर अलग भए ।

प्रहरीले अनुसन्धान सकाएर लोकबहादुरलाई पक्राउ गरिसकेपछि गाउँ सामसुम भयो । तर, लोकबहादुरका भाइ नरेशलाई ओढारमा लुकाएको मोबाइलको लोभ लाग्यो र ल्याएर आफैले प्रयोग गर्न थाले । प्रहरीले पहिलेदेखि नै रञ्जनाको हराएको मोबाइल खोजिरहेको थियो । त्यो मोबाइल नरेशले प्रयोग गरेको देखेपछि उसलाई नियन्त्रणमा लिएर सबै बकायो । धमाधम सबै जना पक्राउ परे । अनि मात्र मादी हत्याकाण्डको अनुसन्धान मिसन पूरा भयो । र प्रहरी कलंकबाट बालबाल मात्र जोगिएन समाजमा अपराधीहरू खुला हिँड्न पाउँदैनन् भन्ने बुझाउन पनि सफल भयो ।

-पूजा लम्सालबाट

टिप्पणीहरू