​जुुस भन्दै खुसखुस

झाराटार्ने ढंगले काम गर्दै जागिर पचाउने बानी परेका नेपालका कर्मचारीले एक महिनाअघि नेपालमा सम्पन्न एउटा अन्तर्राष्ट्रिय सम्मेलनको समीक्षा दुई साताअघि गरेका छन् । विगतमा झैं आगामी दिनमा यसो गर्ने भन्दै निर्णय पनि गरेका छन् । 

हुन त फेरि त्यस्तै कार्यक्रम आयोजना गर्नुप¥यो भने त्यसबेला साउन १४ गते गरेको निर्णयपुस्तिका हेर्लान्, नहेर्लान्– भन्न सकिन्न । तर, ‘अब यसो गर्न’ भन्दै उनीहरूले गरेको समीक्षाचाहिँ राम्रो छ । साउन २६ र २७ गते काठमाडौंमा सम्पन्न विमस्टेकको पन्ध्रौं मन्त्रीस्तरीय बैठक र १८ औँ परराष्ट्रसचिवस्तरीय बैठकका सम्बन्धमा गरिएको डिब्रिफिङ बैठकमा संलग्न अधिकारीले विशिष्ट पाउनाको आगमन र विवादमा एयरपोर्टमा देखापरेका समस्याबारे टिप्पणी गरे । विमानस्थल व्यवस्थापनसँगै समन्वयमा अभाव देखा पर्दा र सिफ्ट प्रणालीमा काम गर्ने कर्मचारी परिवर्तन हुँदा, पर्याप्त मात्रामा एयरपोर्ट पास पाउन नसक्दा सम्बन्धित देशका लियाजन अफिसरसमेत भित्रसम्म पुग्न नसकी विशिष्ट पाहुनालाई विमानस्थलमा खटिएका सुरक्षाकर्मीले नै एस्कर्ट गर्नुपरेकामा सबैले आपत्ति जनाए ।

बैठकमा अन अराइभल भिसाका लागि समय लागेको, विमानस्थलमा अर्को थप होल्डिङ कक्ष आवश्यक देखिएको, विशिष्ट पाहुना आउने र जाने क्रममा बस्ने कक्ष फरक–फरक चाहिनेजस्ता कुरा बैठकमा उठ्यो । त्यति मात्र होइन, विशिष्ट कक्षमा चिया, कफी, जुस आदिको व्यवस्थापनमा देखिएको समस्याबारे पनि बैठकमा कुरा भयो । एयरपोर्टमा खटिने कर्मचारीको खाजा र खानाबारे चासो व्यक्त गरियो । सो बैठकमा सम्मेलनस्थल व्यवस्थापनसँग सम्बन्धित विषय उठ्यो । परराष्ट्र मन्त्रालयसँग यथेष्ट जनशक्ति कुन हुँदा छोटो समयमा आयोजना गर्नुपर्ने हुनाले इभेन्ट म्यानेजमेन्ट गर्न निजी स्रोतलाई दिनुपर्ने कुरा भयो ।

त्यसैगरी लजिस्टिकको तयारी एक महिना अघिदेखि नै गर्न सहसचिव वा उपसचिवस्तरको संयोजक तोक्ने, उद्घाटन समारोह, बैठक कक्ष, पत्रकार सम्मेलनलगायत द्विपक्षीय बैठक गर्न उपयुक्त हलको व्यवस्था गर्नुपर्ने र उद्घाटन समारोहको सजावट, झन्डा एवं सिट प्लानिङमा विशेष ध्यान दिनुपर्ने, पाहुनालाई उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीले स्वागत गर्नेदेखि सम्मेलनस्थलमा सवारीसाधनका लागि इन्धनको कुपन बाँड्ने व्यवस्था गर्ने विषयमा पनि सो बैठकमा छलफल भयो । 

टिप्पणीहरू