विष्णु पौडेलको ठोकुवा-माधव नेपाल माओवादीमा पसे पसे

विष्णु पौडेलको ठोकुवा-माधव नेपाल माओवादीमा पसे पसे

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका सम्धी सोमप्रसाद पाण्डेको गृह जिल्ला पाल्पा पुगेर माधव नेपाललाई गम्भीर आरोप लगाएका छन । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका पौडेलले माधव कमरेडले माओवादीमा विलय हुनका लागि एमाले फुटाएको बताएका हुन् ।

पाल्पाको जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले ‘एमालेबाट छुट्टिएर गएको माधव नेपालको समूह आउँदो केहि महिनामै माओवादीमा विलय हुने ठोकुवा गरेको पाल्पा एमालेका अध्यक्ष देवी बस्यालले जानकारी दिए । ” प्रचण्डपथमा विलय हुने वातावरण बनाउन नेपाल समूह लागिपरेको र सोहिअनुसार उक्त समूहले गृहकार्य शुरु गरेको छ,” पौडेलले सभालाई सँवोधन गर्दै भनेका छन् ।

नेकपा एमालेबाट माधव अलग्गिनुका पछाडि माओवादी अध्यक्ष प्रचण्डकै हातो र नातो भएको दावीसमेत उपमहासचिव पौडेलको छ । पौडेलले माओवादीमा विलय भएर दोस्रो अध्यक्ष बन्नसमेत चुनौती दिएका छन् । “नेकपा एमालेबाट माधव नेपाल अलग भएकोमा सबैभन्दा खुशी प्रचण्डलगायत माओवादी भएको दावीसमेत उनले थपे-“तर कोहि खुशी हुँदैमा एमाले कमजोर हुँदैन ।”

०४८ सालमा पाल्पाबाटै सँसदीय चुनावमा झिनो मतले हारेका पौडेलले माधव नेपाल समूहलाई नेकपा एमालेले राजनीतिक शक्तिको रुपमा कदापि स्वीकार्न नसक्ने बताए ।

अगुवा कार्यकर्ता भेलामा एमाले केन्द्रीय सदस्य दलबहादुर राना, ठाकुर गैरे,दधिराम न्यौपानेलगायतले पनि बोलेका छन् ।

टिप्पणीहरू