बिप्लवमाथि दिनहुँ खसी खाएको बात

बिप्लवमाथि दिनहुँ खसी खाएको बात

नेकपा विप्लवको तनहुँको बन्दीपुरमा चलेको केन्द्रीय समिति बैठक मंगलबार राति सकिएको छ । एघारौं पूर्ण बैठकले महाधिवेशनमा जाने निर्णय गरेको छ । शुक्रबारबाट शुरु भएको बैठक मंगलबार राति सकिएको हो ।

बैठकले आगामी फागुनमा महाधिवेशन गर्ने निर्णय गरे पनि मिति भने तय भएको छैन । ‘सम्भवतः फागुन १ गते जनयुद्ध दिवसको दिन पारेर महाधिवेशन हुन्छ,’ बैठकमा सहभागी एक जना सदस्यले जनआस्थालाई बताए । उनका अनुसार ढिलोमा फागुन २१ गतेको सुखानी दिवस पारेर भए पनि महाधिवेशन हुनेछ ।

यता,बैठकलाई लिएर सञ्चारमाध्यममा आएका खबरले आफूहरुलाई गम्भीर बनाएको पनि ती नेताले बताएका छन् । विप्लवको बन्दीपुर बैठकमा दिनको एउटा खसी ढालिएको र १० लाख रुपैयाँ खर्च गरिएको स्रोत के हो भन्ने आशयसहित एउटा नेपाली राष्ट्रिय अंग्रेजी दैनिकले लेखेको समाचार सम्बन्धमा बैठकमा राम्रैसँग कुरो उठेको उनले जानकारी दिए ।

बन्दीपुर बैठकमा कुखुरोसमेत नखाइएको प्रष्ट पार्दै उनैले भने, ‘झूठो लेखेर जनतालाई दिग्भ्रमित पार्ने कोशिस भइरहेको छ । तर हामी आफ्नो अडान र सिद्धान्तमा प्रतिबद्ध छौं ।’
बैठक बन्दीपुरको होटल माउण्ट रिसोर्टमा भएको हो । रिसोर्टमा १ सय ३० जनाका लागि कोठा बुक गरिएको थियो । बैठकस्थलको सुरक्षाका लागि पूर्वजनमुक्ति सेनाका सदस्यहरु खटाइएको थियो भने पत्रकारलाई प्रवेश निषेध गरिएको थियो ।

नेकपा विप्लवले यसअघि मकवानपुरको एउटा गाउँमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को भेला गरेको थियो । उक्त भेलामा पनि महासचिव विप्लवसहितका नेताहरुले सहभागिता जनाएका थिए ।

टिप्पणीहरू