क्रिकेटको दुनियाँमा यसपटक बेग्लै कीर्तिमान,साहिद अफ्रिदीको आगमन

क्रिकेटको दुनियाँमा यसपटक बेग्लै कीर्तिमान,साहिद अफ्रिदीको आगमन

आगामी शनिवारदेखि काठमाडौंमा शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपीएल) को यस पटक छुट्टै चर्चा छ । विदेशी खेलाडीसमेत सहभागी हुन पाइने व्यवस्था गरिएका कारण यसपटक पाहुनाको चर्चा ज्यादै भएको छ ।

काठमाडौं किङ्स इलेभनबाट खेल्नको लागि पाकिस्तानी क्रिकेटर साहिद खान अफ्रिदी आज काठमाडौं आइपुग्दै छन् । उनी कतार एअरवेजको उडान नम्बर क्यु आर ६५० बाट दिउँसो ३ बजे काठमाडौं ओर्लन लागेका हुन् । उनी आवद्ध काठमाडौं किङ्स इलेभनले दिएको जानकारीअनुसार पाँच दिने बसाइमा अफ्रिदी होटल सोल्टीमा बस्नेछन् ।

उनले प्रतियोगिताको पहिलो दिनको पहिलो म्याच र आगामी सोमबार पनि खेल्नेछन् । अफ्रिदीले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम छ भने त्यहि दिन काठमाडौं किङ्स इलेभनले आयोजना गर्ने पत्रकार सम्मेलनमा आफ्ना धारणासमेत राख्ने बताइन्छ ।

काठमाडौंमा रहँदा आइतबार बिहान माउण्टेन फ्लाइटबाट नेपालका हिमाल हेर्ने कार्यक्रम समेत रहेको बताइएको छ । त्यसैदिन दिउँसो विभिन्न व्यापारिक तथा व्यावसायिक प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने व्यस्त तालिका सार्वजनिक गरिएको छ ।

उनी सोमबार दिउँसो प्रतियोगिताको दोस्रो खेल खेलेर राति दोहा हुँदै पाकिस्तान फर्किने छन् ।इपिएल मुलककै सर्वाधिक ठूलो क्रिकेट लिग हो । यसअघि तीन वटा संस्करण सम्पन्न भइसकेको छ । यसअघि राष्ट्रिय खेलाडीहरुमात्र सहभागी हुने यो लिगमा यो वर्षदेखि एउटा टिममा बढीमा चार जनासम्म विदेशी खेलाडी सहभागी गराउन पाइने व्यवस्थाको कारण अफ्रिदीको सबैभन्दा बढी चर्चा भएको हो ।

उनको नेपाल यात्रालाई दराज,शिवम सिमेन्ट र बजाज पल्सर टीभीएसले प्रायोजन गरेका छन् ।

टिप्पणीहरू