महिलाको आधा शरीरको रहस्य खुल्यो

महिलाको आधा शरीरको रहस्य खुल्यो

एघार दिनअघि झापाको माइखोलामा विभत्स हत्या गरी अर्ध नग्न अवस्थामा फालिएको बेवारिसे लाशको रहस्य झापा प्रहरीले सुल्झाएको छ । झापा गाउँपालिका माइखोला -१ मा भदौ २५ गते नाम, थर र वतन स्पष्ट नभएको महिलाको विभत्स शव फेला परेको थियो ।

लाशको टाउको,घाँटी,पेट (कम्मरभन्दा माथिको भाग) तथा घुँडाभन्दा मुनीको भाग नभएको अवस्था थियो । सो शव झापा गाउँपालिका-१ माईती घर भई भारत किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने ५५ बर्षीया डोली भन्ने धोन्नी टुडुको रहेको प्रहरीले पत्ता लगाउनुका साथै उनका हत्यारासमेतलाई पक्राउ गर्न सफल भएको छ ।

प्रहरीले डोलीको हत्याको अभियोगमा भारत किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायतका २३ बर्षीय ऐतवार सोरेन,झापा गाँउपालिका-१ का ३७ बर्षीय लखन टुडु सतार ,५६ बर्षीय सिरी साईला भन्ने सोमाई हेमरम सतार र २७ बर्षीय श्री हेमरम सतारलाई समातेको छ ।

अभियुक्तहरु सबै जना डोलीका नातेदार हुन् । प्रहरीका अनुसार जग्गाको विषयमा विवाद भएपछि चारै जना मिलेर भदौ २५ गते उनको हत्या गरी लाशलाई टुक्रा-टुक्रा पारेर खोलामा फालेका थिए ।

पक्राउ परेका चारै जनाविरुद्ध कर्तब्य ज्यान मुध्दामा कानुनी कारबाही अगाडि बढाई घटनाबारे थप अनुसन्धानसमेत भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अभियुक्तहरुलाई आजै पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको हो ।

टिप्पणीहरू