​नातेदार घुसाउँदै नानाभाँती

अन्तर्राष्ट्रिय दातृनिकायले नेपाललाई सौर्यऊर्जा, लघु जलविद्युत्, बायोग्यासजस्ता क्षेत्रको विकासमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई दिएको सहयोगको ठूलो हिस्सा भ्रष्टाचार हुने गरेको छ । १४ वर्षदेखि लेखापरीक्षण हुन नसकेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमा लेखाप्रमुखले प्रमाण कागजात तयार गरी नियमित गराई फस्र्योट गर्नुपर्ने बेरुजु ६ अर्ब ९२ लाख २० हजार २ सय ९४ रुपैयाँ ९८ पैसा देखिएको छ ।

आर्थिक वर्ष ०७१/७२ मा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताललाई यो बेरुजु असुलउपर गर्न व्यवस्थापिका संसद्को सार्वजनिक लेखासमितिले पटक–पटक निर्देशन दिएको छ । तर, उनले अटेर गर्दै आएका छन् । बैंकले गर्ने कारोबारतर्फको पेस्की र असुल गर्नुपर्ने बेरुजुबाहेक १ अर्ब ८२ करोड ८ लाख १२ हजार ७ सय ४८ रुपैयाँ ४१ पैसा छ । यसैगरी, दुवैतर्फको पेस्की र असुल गर्नुपर्ने बेरुजुबाहेकको कुल ८ अर्ब ८१ करोड ३३ हजार ४३ रुपैयाँ ३९ पैसा छ । उक्त बेरुजु फस्र्योट गर्न महालेखा परीक्षक कार्यालयले पनि औंल्याएको छ । तर, कार्यकारी निर्देशक धिताल ३४ करोड रुपैयाँ मात्र बेरुजु रहेको भन्दै लेखासमितिदेखि वातावरण मन्त्रालयलाई समेत गुमराहमा पारिरहेका छन् । यति धेरै बेरुजु रहेकोमा ९० करोड रुपैयाँ भन्दा बढी त बिल भर्पाई केही नै नभएका बेरुजु भनेर लेखाप्रमुख पुष्पहरि गुरागाईंले नै प्रमाणित गरेका छन् । आर्थिक वर्ष ०६०÷६१ देखि ०७१÷७२ सम्म लेखापरीक्षण हुन सकेको छैन । केन्द्रमा ०५३÷५४ देखि ०५९÷६० सम्मका बेरुजुका लगतै गायब पारिएको छ । 

९० करोड रुपैयाँ खर्च गरेको पुष्टि हुने कुनै कागजात नभएकाले कार्यकारी निर्देशक धिताल र केन्द्रका वरिष्ठ अधिकृत(लेखा)का चन्द्रकिशोरप्रसाद चौधरीले महालेखा नियन्त्रक कार्यालयबाट सरुवा भएका लेखानियन्त्रक पुष्पहरि गुरागाईंलाई कामै गर्न नदिई तीन महिनामा लखेटेका थिए । 

केन्द्रलाई दिएको बजेटमा यति धेरै बेरुजु रहेको वैकल्पिकमा सौर्य ऊर्जाको क्षेत्रमा पनि उत्तिकै भ्रष्टाचार हुने गरेको छ । निश्चित सोलार कम्पनीलाई मात्र टेण्डर पार्नेगरी स्पेसिफिकेसन तयार गरी धितालले करोडौं घोटाला गर्दै आएका छन् । लेखापरीक्षण प्रतिवेदनले कालोसूचीमा राखी हर्जाना तिराउनू भनेर प्रतिवेदन दिएपछि पाँचवटा सोलार कम्पनीलाई ४ करोड रुपैयाँ भुक्तानी दिइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यी विषयमा छानबिन गरिरहेको छ भने लेखासमितिले पनि डरलाग्दो बेरुजुबारे चासो देखाउन थालेको छ ।

धितालले एकपछि अर्को अनियमितता गर्दै गएका छन् । अख्तियार, सतर्कता केन्द्र, वातावरण मन्त्रालय, अर्थमन्त्रालय, कानुन मन्त्रालयका उच्च अधिकारीदेखि पहुँचवाला पत्रकार, राजनीतिक पार्टीका नेताले भ्रष्टाचारबारे चासो नराखून् भनेर उनले उनीहरूका नातेदारलाई करारमा जागिर लगाइदिएका छन् । यसरी जागिर लगाएका कर्मचारीको संख्या ५० जना भन्दा बढी छ । भ्रष्टाचार ढाकछोप गर्न राज्यका निकायमै प्रभाव पार्नसक्ने धितालले न्यायक्षेत्रका प्रतिष्ठित अधिकारीको परिवारका सदस्यलाई जागिरमा हालिदिएका छन् र अख्तियारमा काजमा पठाएका छन् । भन्ने नै गरेका छन् कि, ‘अदालत मैसँग छ ।’ 

९० करोड पुष्ट्याइँ हुने कागजात नै नभएको बेरुजु र ४० करोड धरौटी खाता माइनस भएको कुरामा समेत अख्तियारले गम्भीरपूर्वक छानबिन सुरु गरेको छ ।

टिप्पणीहरू