नेकपा एकीकृत समाजवादीमा महासचिव र उपाध्यक्ष को ?

नेकपा एकीकृत समाजवादीमा महासचिव र उपाध्यक्ष को ?

राजधानीमा जारी नेकपा एकीकृत समाजवादी,केन्द्रीय समितिको पहिलो बैठकले नेतृत्वलाई पूर्णता दिने भएको छ । हिजोदेखि शुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि पाँच वटा समूह बनाएर आज छलफल चलेको हो ।

आजको बैठकमा अध्यक्षले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि उठाइएका जिज्ञासाको अध्यक्षले जवाफ दिनुभएको छ । बालुवाटारमा मन्त्रिपरिषद् विस्तारको लागि गठबन्धन दलको बैठकमा भाग लिनुपर्ने भएकाले अपरान्हबाट अध्यक्ष नेपाल त्यता जानुभएको छ ।

बैठकमा कमिटी विस्तारको एजेण्डामाथि छलफल अझै बाँकी छ । मिडिया क्षेत्रबाट वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ र बालकृष्ण चापागाईं एकीकृत समाजवादीको केन्द्रीय सदस्य बन्ने सम्भावना छ ।

जारी बैठकमा नेताहरुबीच महासचिवबारे अनौपचारिक तर गहनरुपमा छलफल भएको छ । महासचिवमा सबैभन्दा धेरै चर्चा नेता राजेन्द्रप्रसाद पाण्डेको भएको छ । अध्यक्ष माधवकुमार नेपालले भने केपी ओली बराबर १४ बर्ष जेल बस्नुभएका स्थायी समिति सदस्य बेदुराम भुसाललाई बनाउँदा कसो होला ? भनेर सोध्नुभएको बताइन्छ ।

नेता पाण्डे छिट्टै बागमती प्रदेशको मुख्यमन्त्री बन्नुहुने भएकाले भुसालको नाममा सहमति हुने अवस्था बन्दै गएको हो । पार्टीमा योगदान र वरिष्ठताको हिसाबले भुसाल महासचिव बन्नु कुनै नौलो नभएको एक जना केन्द्रीय सदस्यले बताएका छन् । यसबीच डा.विजय पौडेलले पनि महासचिवमा चाहना राख्नुभएको बुझिएको छ ।

उपाध्यक्ष भने हाललाई खाली राखिनेछ । त्यो पद नेता वामदेव गौतमको निम्ति खालि राख्न लागिएको हो । उहाँले पार्टीले जनताको बहुदलीय जनवादलाई मार्गनिर्देशक सिद्धान्त मानेपछि मात्र आउने भन्नुभएकाले हाललाई उपाध्यक्ष खालि राख्न लागिएको हो ।

गौतमलाई मनाउन मंगलबार राती उहाँको निवासमा झण्डै आधा दर्जन शुभचिन्तकहरु पुगेका थिए । टोलीमा बलदेव चौधरी, केशवलाल श्रेष्ठ,सावित्रा भुसाल, महेश रेग्मी,शारदा सुवेदीलगायत हुनुहुन्थ्यो ।

उहाँहरुले गौतमलाई तपाईंको अनन्य मित्र हरि पराजुलीसमेत यता आइसक्नुभएकाले अब धेरै दिन नलम्ब्याउनुस् भनेर सुझाव दिएको स्रोतको दाबी छ ।

टिप्पणीहरू