ढुकुटीभरि माल,बजार भने बेहाल

ढुकुटीभरि माल,बजार भने बेहाल

एकातिर तरलताको अभावले व्याजदर बढ्ने र लगानीजन्य पुँजीको अभाव हुने,अर्कोतिर सरकारी ढुकुटी भरिएर पैसा राख्न ठाउँ नहुने गजवको विन्दुमा देशको अर्थतन्त्र पुगेको छ । पछिल्लो समय तरलता अभावको सङकेतले बैंकहरु निक्षेप तान्ने होडवाजीमा लागेका छन् । सवैजसो बैंकले दिन दिनैजसो नयाँ स्कीमसहित निक्षेप आफूतिर आकर्षित गर्ने होडवाजी नै चलाइरहेका छन् । पछिल्ला आर्थिक गतिविधिहरु हेर्दा देशमा लगानीजन्य पुँजीको अभाव चर्किदै जाने पूर्व सङकेत देखिइरहेको अर्थ तथा योजनाविदहरुको अनुमान छ ।

नेपाल राष्ट्र बैंकले पछिल्लो पटक उपलव्ध गराएको तथ्याङकअनुसार एक खर्ब दुई अर्ब रुपियाँभन्दा बढि पैसा सरकारको ढुकुटीमा थन्किएर बसेको छ । तर तत्काल उक्त पुँजी बजारमा पठाउनसक्ने अवस्थामा सरकार नरहेको अर्थ मन्त्रालयका उच्च अधिकारीहरु बताउँछन् । गाँउघरतिर प्रचलित एक उखान हातैमा बत्ती,आगो खोज्ती भनेझैं देशको ढुकुटी भरिभराउ छ तर त्यो ढुकुटी लगानीकर्ता र सर्वसाधारणका लागि भने आकाशको फल,आँखा तरी मर् जस्तै भएको छ ।

केहि दिनअगाडि ३० अर्बको रिपो जारी गरेको राष्ट्र बैंकले केहि दिनभित्रै ७० अर्ब रुपियाँको रिपो जारी गर्ने तयारी छ ।

पछिल्ला तथ्याङकहरुलाई हेर्ने हो भने बजारमा तरलता दिनदिनै घटिरहेको छ । राष्ट्र बैंकका अधिकारीहरुले उपलव्ध गराएको तथ्याङकलाई मान्ने हो भने पछिल्लो हप्ता दैनिक दुइ अर्ब रुपियाँको दरमा बजारबाट लगानीयोग्य पुँजी घटिरहेको छ । भदौ ३० गते २० अर्ब रुपियाँभन्दा बढि तरलता थियो । यो अङक असोज ३ मा आइपुग्दा २ अर्बले घटेर १८ अर्बको हाराहारीमा रह्यो । असोज ५ मा त लगानीयोग्य पुँजी घटेर बजारमा जम्मा १६ अर्ब मात्रै रह्यो ।

पछिल्लो समय राष्ट्र बैंकले तरलता व्यवस्थापनकालागि रिपो जारी गरिरहेको छ । केहि दिनअगाडि ३० अर्बको रिपो जारी गरेको राष्ट्र बैंकले केहि दिनभित्रै ७० अर्ब रुपियाँको रिपो जारी गर्ने तयारी छ । तर राष्ट्र बैंकको एकल प्रयासले मात्रै बजारमा तरलता व्यवस्थापन नहुने निश्चित छ ।

गम्भीर सङकेत

अर्थ तथा योजनाविदहरुले लगानी योग्य पुँजीको सङकुचन र निेक्षेपमा बढिरहेको व्याजदरले देशको अर्थतन्त्र गम्भीर र नकारात्मक मोडतर्फ जान लागेको अनुमान गरेका छन् । योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर गोविन्द पोखरेल अर्थतन्त्रमा पछिल्लो अवस्था आउनुलाई सरकारको कमजोरी मान्दछन् । तालुक मन्त्रालयमा मन्त्री नियुुक्त हुन नसक्नु,सरकारले समयमा खर्च गर्न नसक्नुले बजारमा तरलता अभावको अवस्था आएको बताउँछन् ।

अर्का अर्थशास्त्री डिल्लीराज गौतमले क्रमश: सरकारहरु कमजोर हुँदै जानु,सरकारी सँयन्त्रले ठीक समयमा काम गर्न नसक्नुले वर्तमान अवस्था आएको बताए । डा.पोखरेलले तत्कालै सरकारले चालु परियोजनाहरुमा खर्च नबढाउने हो भने अर्थतन्त्र भयावह मोडमा पुग्न सक्ने अनुमान लगाए ।

पोखरेल भन्छन्- तत्काल अनगोइङ्ग प्रोजेक्टहरुमा खर्च बढाउनु जरुरी छ । अपर तामाकोशी,काठमाण्डौ-निजगढ फाष्ट ट्रयाक जस्ता अनगोइङ्ग परियोजनामा खर्च बढाउँदा तरलता अभाव व्यवस्थापन हुने पोखरेलको सुझाव रहेको छ ।

मन्त्री-गभर्नर शीतयुध्द

पछिल्लो समय देशको अर्थतन्त्र हाँक्ने दुई तालुक निकायका प्रमुखहरु शीतयुध्दमा छन् । खासगरी अर्थमन्त्री जनार्दन शर्मा जसरी पनि गभर्नर महाप्रसाद अधिकारीलाई असफल बनाउने या ट्रयापमा पारेर काम लगाउने मनस्थितिका साथ अगाडि बढेका देखिन्छन् । मन्त्री शर्माले मौद्रिक नीतिमा हस्तक्षेपको प्रयास गरेर पूर्व सङकेत देखाएका थिए । पछिल्लो समय राष्ट्र बैंकका कर्मचारीहरुलाई आन्दोलन गराएर अधिकारीलाई काबुमा राख्ने प्रयासमा अर्थमन्त्री शर्मा लागेको शकतिपयले बताएका छन् ।

टिप्पणीहरू