दश भाइलाई यसरी दिइँदैछ दुःख
अन्तिममा माधव नेपालको साथ छोडेका १० भाइ स्थायी कमिटी सदस्य यतिबेला रनभूलमा परेका छन् । कारण हो, न ‘जेठ २’ न १० बुँदे, लागु भयोचाहिँ के त ? अरु त अरु, प्रवक्ताको पद खोसुवामा परिसकेका सचिव योगेश भट्टराईकै जिल्ला ताप्लेजुङमा ‘जेठ २’ कायम नहुँदा उनका दाइ मात्रिकासमेत बिचल्लीमा परेका छन् । यसबाहेक सुनसरीसहित थुप्रै जिल्लामा ओली पक्षले बनाएका समानान्तर जिल्ला कमिटीलाई नै आधिकारिता दिएर अगाडि बढ्ने बलमिच्याईं हुँदा एमालेभित्र असन्तुष्टि चुलिँदो छ । प्रदेश २ र सुदूरपश्चिममा ओलीको बलमिच्याइँ अलिक बढी रहेको १० भाइको ठहर छ ।
ताप्लेजुङमा ‘जेठ २’ का अध्यक्ष थिए, बलबहादुर साम्सोहाङ । उनी अन्तिममा माधव नेपालको साथ छोड्नेमध्येका अध्यक्ष हुन् । माधव नेपालहरूले नेकपा (एकीकृत समाजवादी) पार्टी बनाएपछि बलबहादुरले एमाले जिल्ला कमिटीको बैठक बोलाए । तर, ओली पक्षका कोही पनि गएनन् । बलबहादुरसँगै उनको कमिटीका उपाध्यक्ष मात्रिका भट्टराई (योगेशका दाजु) पनि एमालेमै फर्किए ।ओली पक्षले पुस ५ पछि भूपेन्द्र थेवे अध्यक्ष र राधा पौडेल उपाध्यक्ष रहेको जिल्ला कमिटी बनाएको थियो । बलबहादुरले बोलाएको बैठकमा नगएका उनीहरूले भूपेन्द्रलाई अध्यक्ष र राधालाई उपाध्यक्ष मानेमात्र बैठकमा सहभागी हुने अडान लिए । राधाले जिल्ला सम्मेलनमा मात्रिकासँग उपाध्यक्षको चुनाव हारेकी थिइन् । ओली पक्षले बलबहादुरलाई अझै पनि अध्यक्ष स्वीकारेको छैन, उपाध्यक्ष पनि मात्रिकालाई स्वीकार्ने पक्षमा छैनन् । उनीहरूको भनाइ छ, असार २७ गतेसम्म पार्टीविरुद्ध लागेका मान्छेहरूलाई पुरानो पदमा सर्लक्कै फिर्ता ल्याएर केही पनि गर्न सकिँदैन ।
सुनसरीमा त्यही हालत छ । ‘जेठ २’ का अध्यक्ष हुन्, रमेश बस्नेत । अन्तिममा माधवको साथ छोडेका । त्यहाँ ओली पक्षले रेवती भण्डारी अध्यक्ष रहेको अर्कै कमिटी बनाएको थियो । ‘जेठ २’ को सूत्रअनुसार रमेशलाई अध्यक्ष कायम गरिनुपर्ने त हो, तर रेवतीहरू मान्दैनन् । रमेश अधिवेशनबाट निर्वाचित अध्यक्ष हैनन् । रमेशअघिका अध्यक्ष द्वारिकलाल चौधरी इटहरीका मेयर छन् । उनले ०७४ मा स्थानीय चुनाव जितेपछि पार्टी अध्यक्षबाट राजीनामा दिएका थिए, उपाध्यक्ष रमेश अध्यक्ष भए । द्वारिकलालभन्दा अगाडि जिल्ला अध्यक्ष रेवती नै थिए ।
तर, उनले ०७० को संविधानसभा चुनाव जितेपछि अध्यक्ष छाडे, त्यसबेलाका उपाध्यक्ष द्वारिकलाल अध्यक्ष बनाइए । ‘जेठ २’ को जिल्ला इञ्चार्ज धर्मराज निरौला थिए । ओलीपक्षीय केन्द्रीय कमिटीले भगवती चौधरीलाई जिल्ला इञ्चार्ज तोकेको थियो । अहिले धर्म पनि एमालेमै फर्किए । तर, उनको जिल्ला इञ्चार्ज फिर्ता भएन ।
काठमाडौंमा चाहिँ ‘जेठ २’ लाई लिएर ओलीपक्षकै मान्छेहरूबीच मारामार छ । यहाँँ जेठ २ का अध्यक्ष निर्मल कुइँकेल हुन् । उनीविरुद्ध अख्तियारमा पशुपतिक्षेत्र विकास कोषसम्बन्धी मुद्दा लागेपछि बिदा लिएका थिए । अख्तियारबाट सफाई पाएपछि अध्यक्षमा बहाली भए । तर, कार्यवाहक अध्यक्ष चलाएका कृष्ण राईले छोड्न मानेनन् । अहिले पनि ‘जेठ २’ भन्दै एकातिर निर्मल, अर्कातिर कृष्ण राई छन् । यी दुबै ओलीपक्षीय हुन् । एकीकृत समाजवादीले भने वसन्त मानन्धर अध्यक्ष रहेको जिल्ला कमिटीलाई रुपान्तरण गरिसकेको छ । काभ्रेमा ‘जेठ २’ का अध्यक्ष टोकबहादुर वाइवा एमालेमा फर्किएनन् । ओलीले पुस ५ पछि अध्यक्ष र केन्द्रीय सदस्य बनाएका धुलिखेलका मेयर अशोक व्याँञ्जुलाई अध्यक्ष मान्ने कि नमान्ने भनेर ओलीपक्षमै घम्साघम्सी छ ।
‘जेठ २’ लागू गर्न सबभन्दा जटिल भएको छ, प्रदेश २ र सुदूरपश्चिममा । प्रदेश २ का आधा केन्द्रीय सदस्य एकीकृत समाजवादीमा गएका छन् । सबैजसो जिल्ला कमिटीमा एमाले हुँदै माधवपक्षीय अध्यक्षले जितेका थिए । ओली पक्षले माओवादीबाट गएकी ज्वाला साहलाई प्रदेश अध्यक्ष बनाउनुपर्ने अवस्था छ । सप्तरीमा ‘जेठ २’ का अध्यक्ष तथा प्रदेश सांसदहरू गोविन्द न्यौपाने, सिराहाका प्रमोद यादव एसतिरै छन् । धनुषाका उपाध्यक्ष रामचन्द्र पण्डित नेकपा (एस) को अध्यक्ष भए । महोत्तरीका अध्यक्ष रामदयाल मण्डल कतै लागेका छैनन् । एसले विजय यादवलाई अध्यक्ष बनायो । सर्लाहीमा झलनाथ प्रतिष्ठानका अध्यक्ष रेवती पन्त नै पार्टी अध्यक्ष हुन् । रौतहटमा ‘जेठ २’ को सिंगो जिल्ला कमिटी एकीकृत समाजवादीमा रुपान्तरण भएको छ । पर्साका विचारी यादव बीचमा छन् । बाराका अध्यक्ष सुन्दर विक एसको अध्यक्ष भएका छन् ।
सुदूरपश्चिममा विभाजनकालीन संरचनालाई नै वैधानिकता दिनुपर्ने कर्ण थापाहरूको अडानका कारण ‘जेठ २’ लागु भएको छैन । देखिँदा भीम रावलको इञ्चार्ज खोसिएको र लेखराज भएको देखिए पनि यी दुबै मिलेर नेकपाकालमा कर्ण थापालाई पेलेकै हुन् । अहिले भीम रावल कति ‘फाल्टु’ हुन पुगे भने, माधवसँग भएका एकजना मान्छे पनि उनको साथमा बसेनन् । ओलीका मान्छेहरूको बीचमा उनी कसरी टिक्लान्, त्यसमाथि कर्णले खुलेआम भनिसके, ‘हाम्रो आँगनमा भीम रावललाई नाच्न दिँदैनौँ । यहाँ उनका मान्छे कोही पनि छैनन् । भएका जति समाजवादीतिर गइसके ।’
‘जेठ २’ को सबैभन्दा ठूलो बेहाल छ, जनसंगठनमा । विभाजित भएका जनसंगठनका मुख्य नेतामध्ये खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेलबाहेक कोही पनि एमालेमा फर्किएनन् । फर्किएका पुरुषोत्तमलाई पनि महासंघको अध्यक्ष दिइएको छैन । अध्यक्ष ओलीले रमेश पौडेललाई अध्यक्ष बनाएर गठन गरेको महासंघलाई नै आधिकारिकता दिनुपर्ने बताउनुभएको छ । अखिलमा माधव समूहबाट एकजना फर्किए ।
तर, भएकै अध्यक्षलाई हटाएर सुनिता बराललाई अध्यक्ष बनाइँदा ओलीपक्षीय नेताबीचमै घम्साघम्सी चलिरहेको छ । ‘जेठ २’ की अध्यक्ष नवीना लामा हुन् । उनी अहिले सांसद छिन् । उनको अध्यक्षतामा एउटा बैठक राखेर बाँकी निर्णय हुनुपर्ने हो । बालकोटले एकाएक सुनिता बराललाई अध्यक्ष तोकेपछि असोज २ गते नवीनाले फेसबुकमा ‘न्यायको ढोका बन्द भएकाले चाकडी, चाप्लुसी जिन्दावाद’ को उद्घोष गरिन् । अखिलमा महेश बर्तौला, रश्मी आचार्य, आरसी लामिछानेहरू अध्यक्षका दावेदार थिए ।
व्यक्ति व्यवस्थापनका मामिलामा सबैभन्दा बिजोगमा परेका नेता हुन्, ईश्वर पोखरेल । उनका निकटस्थमध्ये कसैले पनि आफूहरू संरक्षित भएको अनुभूति गर्न पाएनन् । आरसी लामिछाने अखिलको उपाध्यक्षमा थन्क्याइए । प्रभातविक्रम कटुवाल खेलकुद महासंघमा थन्क्याइए । कसैले पनि अध्यक्ष पाएनन् । पत्रकार लोकेन्द्र केसी ईश्वरको साथ छोडेर उपप्राध्यापकको जागिर खान गए ।
यसैबीच, अष्टलक्ष्मीको मुख्यमन्त्री पद सुरक्षित राख्न बागमती प्रदेशमा एकीकृत समाजवादीमा सनाखत गरेकी सांसद रमा आलेलाई फ्लोर क्रस गराउने योजना जारी छ ।
टिप्पणीहरू