तारा थप्ने जंगीको तारतम्य

नेपाली सेनामा अहिले सरुवा–बढुवाको मेलै लागेको छ । प्रधानसेनापति राजेन्द्र क्षत्री चिफ अफ डिफेन्स कार्यक्रमका लागि अमेरिका गएकै बेलाबाट सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा ३ लाई प्रयोग गर्दै बलाधिकृत बलदेवराज महत कामु पाए पनि कात्तिक १५ मा जागिर सिध्याएर उनी घर जानुअघि नै उनका भाइसहित उच्च सैनिक अधिकृतहरूले बढुवा पाएका छन् ।

०७५ भदौ २३ मा राजेन्द्र क्षत्री जागिर सिध्याएर घर गएसँगै पूर्णचन्द्र थापा प्रधानसेनापति बनाइने छन् । सेनामा ठूलो संख्याका अधिकृत अबको ६ देखि १० महिनाभित्र अदलबदल हुने कारण तद्नुकूलको जिम्मेवारीमा तयार पार्न अधिकृतहरूको पदोन्नति भएको हो । 

सरकारले दुई साताअघि ११ अधिकृतलाई महासेनानीमा बढुवा गरेको छ भने करिब २०÷२२ जना सरुवा भएका छन् । महासेनानीमा बढुवा पाउनेमा अनिल खड्का, भोला थापा, ज्योतेन्द्र महत, श्याम खड्का, निर्मलज्योति ढुंगाना, धर्म कँडेल, विष्णु खड्का, प्रकाश थापा, भुवन खत्री, कृष्ण भण्डारी र मनोज सिलवाल छन् । यससँगै सेनाले दुईतारे जर्नेल हुने तालिमका लागि प्रारम्भिक नामावली तयार पारी रक्षा मन्त्रालयमा पेस गरेको छ । उक्त तालिमका लागि महासेनानी प्रेमध्वजसहित सुदर्शन सिलवाल, शंकर पण्डित, विजय थापा, गणेश श्रेष्ठ, विष्णु राउत, सागर थापा, आशबहादुर तामाङ, कृष्ण भण्डारी र सुशील भण्डारी छन् ।

केही महिनाभित्र सेनामा दुई र तीनतारे जर्नेलको टुंगो लागेपछि ०५० सालको पीडित टोलीले न्याय पाउने चर्चा चलेको छ । ०५० बेसिकका सेकेन्ड लप्टनलाई मेजर हुनै १४ वर्ष लाग्दा उनीहरू अहिलेसम्म त्यहीँ अल्झिएका छन् । यो बेसिकका निरजञ्जन बस्न्यात, मधुसूदन नरसिंह राणा, सुशील सिलवालहरू हुन् । 

टिप्पणीहरू