रात्री बस चढेर झरेकाको काँधमा ४० किलो चाँदी

रात्री बस चढेर झरेकाको काँधमा ४० किलो चाँदी

काठमाडौंबाट रात्री बस चढेर रौतहटको गौर पुगेका एक जना ४० किलो चाँदी बोकेर हिँडिरहेको अवस्थामा पक्राउ परेका छन् । गौर बसपार्कबाट ४० किलो चाँदी बोकेर गएका मलंगवा नगरपालिका २ बस्ने ३५ वर्षीय विद्यानन्द साह सोनारले प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंबाट गौर चल्ने ज्वाला रात्री सेवाको बसबाट झरेर पैदल हिँडिरहेका सोनारलाई प्रहरीले शंका लागि जाँच गर्ने क्रममा उक्त धातु फेला पारेको बताइएको छ । उनलाई बरामद धातुसहित आवश्यक कारबाहीका लागि राजश्व कार्यालय पथलैया पठाइएको छ ।

घरबाटै खुलमखुल्ला गाँजा कारोबार

सर्लाहीको हरिवन नगरपालिका १०, ब्रहमटोल बस्ने ५३ वर्षीय कुलदास घिसिङको घरबाट करिब १२ किलो ५ सय ग्राम गाँजा बरामद भएको छ ।

घिसिङको घरमा गाँजा लुकाई राखेको सुराकीको आधारमा प्रहरी टोलीले छापा मार्दा उक्त परिमाणको गाँजा फेला परेको हो । प्रहरीले घिसिङलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको बताइएको छ ।

यता, काठमाडौंको बुढानीलकण्ठ नगरपालिका १०, बालुवाखानीबाट पनि ४ किलो ६ सय ६४ ग्राम गाँजाको धुलो फेला परेको छ । उक्त गाँजासहित दोलखा तामाकोशी गाउँपालिका ५, बस्ने ४० वर्षीय योगराज पोखरेल पक्राउ परेका छन् ।

बालुवाखानीमा लागुऔषधको कारोबार भइरहेको सुराकीको आधारमा प्रहरी टोलीले छापा मार्दा उनी गाँजासहित पक्राउ परेका हुन् ।

टिप्पणीहरू