कर्मचारीलाई कति गाडी,कति तेल !

कर्मचारीलाई कति गाडी,कति तेल !

सरकारी नियमअनुसार सहसचिवभन्दा तलका कर्मचारीलाई गाडी सुविधा छैन तर अरुलाई कानुन र नियमले कस्ने कानुन मन्त्रालयमा भने रात दिन नभनी कानूनका दफा उपदफा पल्टाउनुपर्ने हुँदा उपसचिव तहका लागि ६ वटा गाडी सहुलियत छ । उक्त मन्त्रालयमा भएका १८ वटा चार पांग्रे गाडीलाई अघिल्लो आर्थिक बर्ष राज्यले १२ हजार २४ लिटर इन्धन खर्चेको छ ।

मन्त्रीका लागि दुई वटा गाडी छन् । सचिवका लागि एक वटा,पाँच जना सहसचिवका लागि एक एक वटा र उपसचिवका लागिसमेत गाडी सुविधा छ । पुलमा २ वटा,मन्त्रीका स्वकीयको लागि एक वटा र खाली एक वटा रहेको विवरण मन्त्रालयले उपलव्ध गराएको छ ।कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बा २ झ ७९० र बा २ झ १०८० नम्बरको गाडी प्रयोग गर्दै आएका छन् । मन्त्रीको गाडीलाई ७७/७८ मा १७३३ लिटर तेल खपत भएको छ । साउन एक महिना मात्र २०७ लिटर इन्धन मन्त्री कार्कीको गाडीले खाएको छ । यस्तै मन्त्रीका स्वकीयका लागि प्रयोग भएको बाग्मती बीएए ६७६८ नम्बरको गाडीले बर्षभरिमा ५३० लिटर इन्धन खाएको छ । साउन महिनामा मन्त्रीका स्वकीय चढ्ने गाडीले ६० लिटर इन्धन खाएको छ ।

मन्त्रालयमा इन्धन सुविधा लिने बाइकको संख्या ४८ वटा रहेको छ जसमध्ये १३ वटा निजी प्लेटका छन् । ती बाइकमा मात्र ४ हजार ३५५ लिटर इन्धन खपत भएको विवरण प्राप्त भएको छ । मन्त्रालयमा भएका सवारीले बर्षभरमा १६ हजार ३ सय ७९ लिटर इन्धन खाएको छ । सरकारले सवारी साधनमा खर्च कम गर्न भने पनि अधिकांश कर्मचारीको रोजाईमा कार नै पर्ने गरेको देखिन्छ ।

अहिले सिंहदरबारभित्रका कर्मचारीलाई घरबाट कार्यालयसम्म,कार्यालयबाट घरसम्म ओसार पसार गर्न ९ वटा बस गुड्ने भए पनि अधिकांश कर्मचारी कार वा बाइकमा आफ्नै हिसावले गुड्ने हुँदा ती गाडी प्राय: खाली देखिन्छन् । अर्थ मन्त्रालयको तथ्यांकअनुसार सरकारी गाडी मर्मत तथा तिनको इन्धनको नाममा मात्र राज्यले हरेक बर्ष झण्डै १२ अर्ब हाराहारी रकम खर्चदै आएको छ ।

अर्थका अधिकारीहरुका अनुसार सरकारी नियम र मापदण्ड विपरित सवारी साधन पाउने कर्मचारीको संख्या ६ हजार हाराहारी रहेको छ ।

टिप्पणीहरू