​रामरहिमको जात्रा, बलात्कारको मात्रा

  • नारायण नेपाल

भर्खर मात्र भारतमा डेरा सचा सउदा संगठनका प्रमुख गुरमित रामरहिम सिंहलाई अदालतले बलात्कार ठहर गरेपछि केही दिन पञ्जाव हरियाणा दिल्लीलगायत विभिन्न स्थानमा हिंसात्मक झपड भए । भड्किएको हिंसामा ३० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । दुई सयभन्दा बढी घाइते छन् । यो घटना विवरण बाहिर आएसँगै रामरहिमको नेपाल कनेक्सन र राहतमा भएको भारतीय दादगिरीबारे एउटा घटना पुनः मानसपटलमा आएको छ । 

०७२ को महाभूकम्पलगत्तै हामी नुवाकोटकमा राहत उद्धार अभियानमा लागेका थियौँ । 

सबैतिर अस्तव्यस्त थियो । जिल्ला दैवीप्रकोप उद्धार समितिमा सहभागी बन्दै नयाँ योजनासहित निरन्तर खटिरहेका थियांै । त्यति नै बेला त्रिशुलीमा एक जोगी र उनका अनुयायीले डेरा जमाएर बसेका थिए । भारतीय प्रधानमन्त्रीको निर्देशनमा आएका भनिएका जोगीको बिगबिगी थियो । भूकम्पबाट आक्रान्त नुवाकोट पनि अति प्रभावितमध्येको हो । राहत उद्धारको नाममा संघसंस्थाको ओइरो नै लागेको थियो । त्यसलाई व्यवस्थित गर्न दैवीप्रकोप उद्धार समितिमा जिल्लाका प्रशासन र राजनीतिक दल छलफलसहित जाने गरेका थियौँ । 

ती जोगीको अनौठो गतिविधि जिल्लामा देखिएको थियो । राहत र उद्धारको नाममा भारतीयको दादागिरी नेपालमा अलि बढी नै थियो । जोगी जिल्ला आएसँगै तत्कालीन नुवाकोटका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलामाथि ठूलै दबाब परेको थियो । जोगी मलाई भेट्न प्रमुख जिल्ला अधिकारी आउनुपर्छ भन्ने र हामीलाई राहत वितरण गर्न आएको बाबाजीलाई सिडिओले वास्ता गरेन भन्दै कांग्रेसी जलुस उतार्ने रमिता रोचक थियो । हुँदाहँुदै त जिल्ला भ्रमणमा गएका प्रधानमन्त्री सुशील कोइराला मलाई भेट्न किन आएन भन्दै निरौलामाथि नै दबाब दिन थालेका थिए । उनै जोगीको उतिबेला जिल्ला दैवीप्रकोप उद्धार समितिले बनाएको एकद्वार नीतिलाई कांगे्रसका केही नेताले उनै जोगीको आडमा उल्लंघन गरेका थिए । 

अझै रोचक के थियो भने, जो जगदीशनरसिंह केसी त्यसबेला जोगी रामरहिमको साथमा राहतका हर्ताकर्ता भए भने जोगीको संस्था डेरा सजा सउदाका स्वयंसेवकको ड्रेसमा छाँटिएर कांग्रेसका पूर्वसभापति धु्रव अधिकारी, महासमित सदस्य भरत खड्का र शिव गजुरेल एमालेको पूर्वमेयर ठाकुर गजुरेल, एमाले कार्यकर्ता सूर्य कँडेललगायतको धुइरो लागेको तमासा हेर्नलायक थियो । रामरहिमको राहत बाँड्ने पेटी ठेक्का उनीहरूलाई परेझैं उनीहरूको खटन–पटन थियो । 

जोगी पनि के कम ? उनीसामु लम्पसार पर्ने जाने सबैजनालाई विद्यालय निर्माण गरिदिने तथा भूकम्पपीडितका लागि घर बनाइदिने आश्वासन बाँडेका थिए । राहतको राजनीति विस्तारै जोगीकेन्द्रित भएको थियो । त्रिपाल दिने फोटो खिच्ने टिभीका क्यामेरासमेत घुमाउने अनि त्रिपाल खाँबो उखल्ने त्रिपाल बोकेर हिँड्ने गर्न थालेपछि माझीटारका स्थानीयले जोगीलाई लखेटेको थियो । जोगीका राहत सामग्री बोकेको गाडीलाई कांग्रेस कार्यकर्ताले एस्कर्टिङ गरेर लैजाँदै गर्दा दुईपिपलमा स्थानीयले ढुंगामुढा गरी लखेटेका थिए । 

जोगीको मनलाग्दी चल्न थालेपछि जिल्लाको बैठकमा मैले बोल्ने क्रममा विषय राखेको यो देशको प्रधानमन्त्री सुशील कोइराला हो कि नरेन्द्र मोदी ? कांग्रेस सभापति केसी मुसुक्क मुस्कुराए तर प्रजिअले भने मनमनै राहत महसुस गरेछन् । केहीले जोगीको असुरक्षा भएको भन्दै बैठकमा बोले बैठक हल बाहिर एक थान छद्म कांग्रेसी झुण्डले जोगीको पक्षमा नारा जुलुससमेत गरेका थिए । बैठक समापनसँगै प्रहरी प्रमुख अरुण पौडेलले इशारा गर्नुभयो, त्यहाँ बसेका होचो कदका गोरा प्रहरी अधिकारी रहेछन् एसपी सुबोध घिमिरे परिचयसँगै चिया गफको सहमति भयो । बैठकको चित्र र जिल्लाको जोगी जात्राबारे कुराकानी भयो । बैठकमा हामीले राखेको कुराबाट उहाँ केही प्रभावित हुनुभएको रहेछ । प्रहरीले पनि जोगीको शंकास्पद गतिविधिमा उच्च निगरानी गरिरहेको थियो । 

त्यसबेला चीनको सीमा रहेका जिल्लामा अमेरिका र भारतले निगरानी बढाएको । भूकम्पपछिको अवस्थामा राज्य कमजोर थियो । भूराजनीतिक सन्तुलनमा गैरसरकारी संस्थाको आडमा पश्चिमाहरू हाबी हुने कि राहतको नाममा भारतीय भन्ने होड नै थियो । चीनको सीमा रहेका जिल्लामा चिनियाँ चिन्ता भारत अमेरिकाको थियो । चीनको भूगोलको नक्सा तथा स्थितिको डाटा संकलन गरिरहेको आरोप लागिरहेको थियो । अवस्था नियन्त्रण गर्न सेना अगाडि आउने हल्लासमेत चलेको थियो । 

यसै क्रममा दोलखा जिल्लामा अमेरिकी जासुरी विमान चीनले खसालेको आरोपसमेत लागेको थियो । त्यो प्रकरण उत्तिकै सेलायो । यस्तो अवस्थामा भारतीय नुवाकोटमा ओइरिँदा विभिन्नखाले अफवाह आइरहेकै थिए । जोगीको भेषमा मोदीले नेपाल र चीनको गोप्यता संकलन गरिरहेको समेत भनेका थिए । हामीले पनि जोगीको निगरानीलाई बढाएका थियौं । 

सामाजिक सुधारमा देखावटी सक्रियता जनाउने र भित्री स्वार्थ बेग्लै भएको जोगीका अनुयायीले स्थानीयसँग भन्दै थिए, ‘महाराजजी आइसक्नुभएको छ, अब भूकम्प आउँदैन ।’ भूकम्पको धक्का आउनासाथ उनै महाराजका दूत त्रिपालबाट समेत आत्तिँदै बाहिर निस्केर भागेकोे दृश्य रोचक थियो । उनीहरू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लेखिएको ब्यानर टाँगेका ५९ वटा सवारीसाधन लिएर आएको स्थानीय रामचन्द्र आचार्य सम्झन्छन् । त्यसमा ३४ वटा ट्रक, दुई मोबाइल अस्पताल, पाँच एम्बुलेन्स, एक दमकल, नौ बस र आठ वटा साना सवारीसाधन थिए । 

जोगी रामरहिमको संगठनका भारतभर ४६ केन्द्र छन् । भारतसहित विश्वका ६ करोड मानिस सो संगठनमा आबद्ध भएको उनको दाबी थियो । रामरहिम प्रकरणसँगै भारतमा उनका समर्थकले वितण्डा मच्चाएपछि यता नेपालका रामरहिमका चेलाले पनि उपद्रो मच्चाउने हुन् कि ? भन्ने लागेको थियो तर मौन देखिए । 

के २०औं वर्षपछि न्याय मिलेको होला त पीडितलाई ? रामदेव र आदित्यनाथको उदयसँगै रामरहित उपयोगिता सकिएको हो भारतीय लोकतन्त्रमा । आजसम्म भारतका विभिन्न राज्यमा उनको बलियो प्रभावका कारण विभिन्न राजनीतिज्ञ निर्वाचनका बेला उनको समर्थन पाउन होडबाजी नै गर्छन् । उनको संगठनले विभिन्न समयमा भारतीय जनता पार्टी (भाजपा) र प्रमुख विपक्षी कंग्रेस पार्टीको समर्थन गरेको छ । त्यही आडमा उनको हरामी राज भारतमा चलिरहेको थियो । अझ रोचक त के छ भने, त्यही आजतक टेलिभिजन उतिबेला मोदीका जोगीलाई नेपालमा देवदूत भन्दै प्रचार गरेको थियो यतिबेला उनैको खोइरो खन्दै भण्डाफोर गर्दै थियो । 

टिप्पणीहरू