​दलको मतलब दलाली, विद्वानचाहिँ बेगारी ?

  • संकेत कोइराला 

भगवान् श्रीरामको राज्याभिषेक समारोह भइरहेको थियो । रामले कौशल्यासँग भने– ‘आमा ! म राजा भएँ । मैले आपूmभन्दा सानालाई केही दिनुपर्छ । तपाईं सबैलाई बोलाएर केही न केही माग्न भनिदिनुस् ।’ भरतलाई बोलाइयो । ‘तपाईंको पाउमा मेरो दिन प्रतिदिन प्रेम बढ्दै जाओस्’ भन्दै लिन इन्कार गरिदिए । भरतपत्नी माण्डवीको भनाइ थियो– ‘गुरुकुलकी बुहारी बन्न पाएकी छु । त्यही नै मेरो सौभाग्य हो ।’ अब पालो लक्ष्मणको थियो । उनले भने– ‘सानैदेखि हजुरसँग जीवन बिताएँ, बाँकी जीवन पनि यसैगरी बितोस् ।’ उर्मिलाले भनिन्, ‘जतिसुकै प्रतिकूल परिस्थितिमा पनि धैर्यवान बनौं । शत्रुघ्नले पनि भरतकै बचन दोहो¥याए । अन्तिममा शत्रुघ्न पुत्रीलाई बोलाएर श्रीरामले आग्रह गरे– ‘भन छोरी श्रुतिकीर्ति तिमीलाई के चाहियो ?’ उनले आँखाबाट आँसु बर्साउँदै भनिन्, ‘बनबासमा रहँदा तपाईंले लगाउनुभएको लुगा कृपा गरेर मलाई बक्सियोस् ताकि भोलि आउने दुःखलाई त्याग र समर्पणको सिद्धान्तले परास्त गर्न सकौं । यसैले थोत्रो लुगा बक्स्योस् भन्ने चाहन्छु ।’

यदि राजनीतिभित्र अपराध र दलाली फस्टाएको हुँदैनथ्यो भने यतिबेला शेरबहादुर देउवा, पुष्पकमल दाहाल र केपी ओलीले लगाएका भादगाउँले टोपी प्रसाद मानेर लाउनेहरूको भीड लाग्थ्यो होला । रोल्पामा भूमिगत हुँदा प्रचण्डले भात खाएको त्यो सिल्भरे थाल संग्रहालयमा हुन्थ्यो । झन् फौजी पोसाक किन्न मोल लाउनेहरूको लडाईं चल्थ्यो होला । देउवा र ओलीले कालकोठरीमा विताएका दिनको संस्मरण उच्च माविमा पढ्ने टिनएज पुस्ताका लागि गीता, बाइबल, कुरान हुन्थ्यो । तर, विधिको विडम्बना देशको सफल मेनेजर भएर छोरापुस्तालाई देशको कार्यभार सुम्पनुपर्ने बेला राजनीतिमा सिण्डिकेट खडा गरेर छोराको जवानी समेत पैंचो लिई भोग विलास गर्ने आध्यात्मिक पात्र यायातिको गुण उनीहरूमा थपक्कै सरेको छ । यायाति यस्ता आरिसे ऋषि थिए, जसले गधा पच्चीसी ननाघेका आफ्नै छोरा पुरुको बैंस लिएर भोगविलासमा लिप्त भए । 

यहाँ पनि पुरानो पात यस्तो थेत्तरो भएको छ कि नयाँपातको भाग खोज्न लालायित छ । धेरैका बाआमाले धार्मिक ग्रन्थबाट प्रभावित भएर आफ्ना सन्ततिको नाम राम, कृष्ण, शिव, गणेश, कमल, पशुपति जे राखेपनि त्यसको परागबाट समाज कहिल्यै सुगन्धित भएन । ऐतिहासिक धार्मिक नगरी जनकपुर जहाँ राजा जनकले आफ्नी छोरी सीताको विवाहसमेत सुरवीरहरूको जमघट गराई धनु उचालेर गराएका थिए । जुन प्रजातान्त्रिक अभ्यासको उत्कृष्ट नमुना थियो । त्यही माटोमा जन्मिएका रामवरण यादवलाई पहिलो राष्ट्रपति बन्ने सौभाग्य प्राप्त भयो । विडम्बना तिनै पात्र जीवनको उत्तराद्र्धमा नाना, खाना र छानाको लोभबाट मुक्त हुन सकेनन् । उनले निवृत्त जीवनलाई साधुशैलीमा अनुवाद गरिदिएको भए अब त्यो पदमा आसीन कुनै पनि मानिसमा लोभी नहुन नैतिक दबाब पर्ने थियो । उनका पिताजीले भगवान् श्रीरामको जीवन आफ्नो सन्ततिमा देख्न चाहे पनि सफल भएन । ग्रन्थमा बाहेक यसखाले आदर्श पुरुष बन्ने सौभाग्य नेपालका कुनै नेतालाई प्राप्त भएन ।

गणतन्त्रले त झन राज्यको ढुकुटी लुट्नेहरू राजनीतिका स्वर्णपदकधारी भए । लोकतन्त्रको अभ्यास यसरी गर्न थालिएको छ कि पार्टीका झोले संस्थाहरूको अधिवेशन वर्षैभरि हुन थालेका छन् । उम्मेदवारहरूको खर्च करोडौं नाघ्ने गरेको छ । सवै दलका यस्ता झोले संस्थाको संख्या जोड्दा हजारौं पुग्छ । जुन पद कुनै वेतनभोगी होइन भने चुनावी प्रक्रिया किन महँगो बनाइँदै छ ? औंसीमा गरिएको पीच पूर्णिमामा भत्किनु, तीन दशकसम्म मेलम्ची मिथक बन्नु, लोडसेडिङ बढ्नु, धाराको टुटीबाट पानीको साटो हावा आउनु, शिक्षा र स्वास्थ्यमा कालोबजारी मौलाउनुको मूलजरो यस्तै कथित प्रजातन्त्र दीगो बनाउने कर्ममा गएर ठोक्किन्छ । जब एउटा ठेकेदारले भावी प्रधानमन्त्री जन्माउने ठेक्का पाउँछ भने उसले मजबुत सडक बनाउने कष्ट किन गरोस् ? 

धारामा पानी किन झारोस ? आँखा चिम्म गरेर यस्ता झोले राजनीतिक पसल नहुँदाको क्षण कल्पना गर्ने हो भने नेपाल भूखण्डमा निःसन्देह एक इन्चको पनि प्वाल पर्दैन । यहाँ त डाक्टर, पुजारी, न्यायाधीश, घाटेसमेत पार्टीका झण्डेहरू छन् । दुई पैसाको बुद्धि नभएकाहरू झण्डा बोकेपछि बुद्धिजीवी कहलिन्छन् । दलका नेताले सिलाइदिएको कालो कोट लगाएर बार बेन्चमा न्यायको तराजु बोक्न माथापच्ची चल्छ । न्याय सेवामा काम गर्ने धेरै खरिदार, सुब्बा एलएलएम डिग्रीधारी भइसके । तर, सर्वोच्च अदालतमा बल्लतल्ल बिएल पासको खोस्टो लिएकाहरूको भीड छ । देशका संवेदनशील निकाय भद्र, योग्य, प्राज्ञिक नभएर चट्केहरूको माखेसाङ्लोमा पर्दै गएको छ । पदमाथिको न्याय काम, कर्तव्य र अभिभाराबाट सम्पादन नभई बनभोजमा रूपान्तरण हुँदैछ । पहिला पहिला हारेका मानिसलाई ठूलो अवसर दिइन्थ्यो भने अहिले हारेका दलहरू ठूलो भाग पाएर शासन व्यवस्थाका पांग्रा गुडाउने प्रतिस्पर्धा छ । सरकार प्रमुखको गद्दीमा बस्ने बिरलैले मात्र कुर्सी आरोहणको रंग बचाउन सकेका छन् । नेता खुइलिने र खुइल्याउने चलन सनातनी हो । सबै दलहरूमा दलालको दादागिरी अत्यासलाग्दो छ । 

खाँटी कार्यकर्ताको कुरो नेताको कानमा पु¥याउने ठेक्का स्वयं तिनै ठेकेदारको अभिभाराभित्र परेपछि अब राजनीतिको लक्ष्मणरेखा के नै बाँकी रह्यो र ? सत्ता नटेक्दासम्म क्रान्तिकारी मानिएका गिरिजा, सत्ताको धुरीमा पुग्नासाथ ‘भारततिर छिरिजा’ बनाइए । तिलस्मी पात्रबाट अवतरण गरेका कुचा मुठे जुँगाधारी प्रचण्ड एक दशकमै निगाहका पात्र बने । केपी ओलीका दमदार भाषण बोल्दा ठूलो, हिँड्दा लुलो भन्ने सबैलाई थाहा छ ।

दरबारका प्याराहरू गणतन्त्रका उत्तिक्कै वफादार कसरी भए ? देशकै भाग्यनिर्माता मानिने अरुण नदीबाट जलविद्युत निकाल्न खोज्दा काम गर्न गएकाहरूलाई घाँस कोच्याउने तिनै एमाले नेता आज हाइड्रोपावर आयोजनाका हर्ताकर्ता कसरी भए ? प्रधानन्यायाधीश प्रधानमन्त्री भएको नजिर अब बढ्दै गएर अख्तियार प्रमुख हुँदै सेनापतिले सत्ता सम्हाल्ने तर्पm अघि बढेर शासन सत्तामा प्रयोगमाथि प्रयोग थपियो भने भोलि पाकिस्तान, थाइल्याण्ड, बंगलादेशको ककटेल चरित्र नेपालमा नदेखिएला भन्ने के ग्यारेन्टी ? यहाँ एउटा त्यस्तो निकाय बाँकी छैन, जहाँ चलखेल नभएको होस् । अरु त अरु देशको अन्तिम अस्त्र मानिने सेनाका सेनापतिहरू असल सिपाहीभन्दा पनि संसार थेगेको भ्रममा बाँचेका हुँदारहेछन भन्ने त उनीहरूकै लेखनीबाट पुष्टि हुन्छ । नियति कस्तो भने डा. रामवरण यादवले उर्जाशील जिन्दगी मेडिकल साइन्सको पढाई र अभ्यासमा बिताए । दिनभर घर बसेर पट्यारलाग्दो जीवन बाँचेका उनलाई मर्यादासँगै सीप बाँड्न कसैले उत्प्रेरित गर्दैन ? 

प्रधानमन्त्री भएका डा. तुल्सी गिरीको सीप पनि राजनीतिरूपी शेषनागले निल्यो । आँखाका सिद्धहस्त डा. सशांक हजारौँको आँखामा ज्योति छर्ने सीपलाई घात गर्दै आँखामा खरानी छर्ने राजनीतिमा होमिए । रुसका शक्तिशाली राष्ट्रपति मिखाइल गोर्भाचोभ र अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले कलेज पढाएकोमा आत्मगौरव गर्नेहरू रामवरणलाई पढाउने सल्लाह किन दिँदैनन् ? 

सरकारभित्रको सिस्टम हेरौँ न, घुस खाने प्रबन्ध मिलाउने सचिव र खाने मन्त्री दुबै पढे–लेखेका हुन्छन् । तर, समस्याको निदान भने अपठित बस्तीमा खोजिन्छ । ट्राफिक नियम पालन नगर्ने हजुरबा कि नाति ? पुलिसलाई सोधे स्पष्ट हुन्छ । जुन घरमा नामुद् जँड्याहा छ, त्यो घरमा गरिबी निवारणका लागि बोको बाख्रा दिइन्छ । कागजमा बाख्राले दर्जनौं बोका पाएको देखिन्छ । तर, उसले हप्ता दिनमै बोको सितन बनाएको राज्यका निकायलाई पत्तै हुन्नँ । ज्योतिष, पुराणवाचक, बास्तुविद्, धामीलाई विकासको मोडल बनाउने हो भने त्यसले केही समयमै सकारात्मक परिणाम दिने पक्का छ । विकासको यस्तो मोडेल परिवर्तन गर्नुपर्छ भन्ने हेक्का कसैलाई छैन । जागिर खाने बढेपछि स्वभावतः काम गर्नेहरू घट्ने नै भए । 

कलकलाउँदो पूmलको मालासँगै स्वार्थका झुसिलकिरा लिएर सिंहदरबार पस्नेहरूको झुण्डबाट सबै नेता रंगहीन, ढंगहीन हुन पुगे । आपूmले भनेको नमानेको झोंकमा सचिव, सहसचिवसम्मलाई ‘कू’ गर्न पछि नपरेका बाघ गिरिजाप्रसाद अदालतको वैशाखी टेकेर आएका तिनै कर्मचारीको बाख्रे घेराउमा परेर देउरालीको ढुंगोमा सीमित भए । कर्मचारी थर्काएर हैन, फकाएर काम लिने शक्ति हो भन्ने थोरै विवेक राख्न नसक्दा राजनीतिक परिवर्तनलाई न हाँस न बकुल्लो बनाउनमा तिनै शक्तिको लाहा छाप देखियो । बालुवा पेलेर तेल निकाल्नेसरहको पसिना बगाएर नेपालबाट गएका खाडी मजदुरहरूले आफ्ना सन्तानलाई आइफोन संस्कृतिमा पु¥याएका छन् । 

सूचना प्रविधिको पहुँच दूरदराजसम्म पुगेको छ । तर आइफोन सेभेन बोकेका कर्मचारीहरू उडुस, उपियाँ र साङ्ला लुकेको फाइलभित्र प्रतिष्ठा खोजेर कहिल्यै पार नपाउने चक्रव्यूहमा फसेका छन् । समस्यालाई समाधान हैन, समस्याको दृष्टि हेर्ने मनोविज्ञानका कारण कर्मचारी संयन्त्र बुझेर भेउ नपाउने कठिन महाजाल भएको छ । सदाचार, हार्दिकता, शिष्टाचार र सम्मान शासनभित्र समाहित भएन् । बरु कर्मचारी कर्मचारीबीच अंश मुद्दा नमिलेको दाजुभाइ जस्तो अवस्था सिर्जना भयो । लोकसेवाको एउटा कोर्स पढेर राष्ट्रसेवक बनेका भन्सार र भूमिसुधारका कर्मचारीबीच भेदभावपूर्ण खाडल स्वयं राज्यले खन्यो । 

कर्मचारीको बीउ चाकरीतन्त्रबाट शुरु भएको हो । पुस्तैनी चाकरीमा जुटेको परिवारभित्रको पाँच पासेलाई न्यायाधीश बनाइदिने तर निर्धो,सहाराविहीन पढेलेखेकालाई विचारीमा थन्क्याइदिने राणाकालीन तदर्थवादको ऐंजेरु छिमल्ने प्रयास कसैले गरेन् । अयोग्यहरूको भीडमा योग्यहरू हराउँदै गए । पदीय कर्मभन्दा पनि ठूलाहरूलाई रिझाउने विशेष योग्यता भएकाहरूको पहुँच दिन दुईगुना रात चारगुनाका दरले बढ्यो । समस्याको गाँठो फुकाउने विन्दुमा सवै निरपेक्ष रहँदै आए । 

राजनीतिमा विज्ञता सधैं फापसिद्ध नहुन सक्छ । त्यसैले कहिलेकाहीँ देश हितमा सरकारमा पुगेकाहरूले आफ्नो विगत बिर्सिएर सकारात्मक मुख्र्याइँ गर्नु पनि वाञ्छनीय हुन्छ । पृथ्वीनारायण शाहले योग्य मानिसलाई उचित पदमा राखे । न्यायलाई जनताको अधिकारका रूपमा स्थापित गराए । राज ज्योतिष कूलानन्द ढकालदेखि विज्ञ, विद्वान, सूरवीर मात्र हैन, बिसे नगर्चीलाई पनि साथ लिएर हिँडे । जसको फलस्वरूप गोर्खामा जन्मिएका पृथ्वीनारायण शाह मुलुकको आधिपत्य जमाएर ५२ वर्षको उमेरमा त देहत्याग गरे । 

भिमसेन थापाका पालाका कवि सुन्दरानन्द बाँडाले राजाका भारदार दुनियाँ पनि गाँजा तान्ने गँजडी जुवाडे थिए भनेर लेखेका छन् । उनी भन्छन– ‘खेल्छन् रात्दीन जूवा कति कति विजया (गाँजा) फुक्तछन् कोही रुन्छन् । निःशंकै बात हाक्छन् कति अति खुशि छन, कोही रात्दिन घोरिन्छन् । ऐलेका भारदार दुनियाँसमेत रातबिरात जुवा खेलनामा लाग्याका छन् कोही गाँजा लि खान्छन्, गाँजाले मातियाका भारदारले क्या सहि राख्छन्, कोही बक्सिस भया पनि बस्तु पाउँदैनन्, कोहि सन्दुक भरी राख्दछन् ।’ 

प्रकृतिमा निर्विल्प प्रकृति मात्र हो । हामीले मान्दै आएको मृत्युलाई पनि कतिपयले अन्तिम होइन भनेर व्याख्या गर्न थालेका छन् । उनीहरूको तर्क छ– अक्टोपसले शंखेकिरा खान्छ । तर अक्टोपसले पेटमा पार्नुअघि नै शंखेकिराले आपूmलाई हड्डीको खोलभित्र हालेर सुरक्षित गरिसकेको हुन्छ । जब शंखेकिरा अक्टोपसको पेटमा पुग्छ तब खोलबाट निस्कने शंखेकिराले अक्टोपसलाई सिध्याउँछ । अन्तिममा अक्टोपस मर्छ । तर शंखेकिरा जस्ताको तस्तै † हाम्रो सन्दर्भमा राजनीतिक परिवर्तन पनि त्यस्तै भएको छ । 

घटनाक्रम जे सुकै होस्, तर प्रकारान्तरमा पञ्चायती राजनीति अर्थात् राजसंस्थाका अनुचरहरू नै अरुभन्दा सुकिला देखिँदै आएको परिस्थिति छ । गणतन्त्र नामको गोलचक्करले जितेर हार्नुपर्ने अनौठो चक्रव्यूह खडा गरेको छ । देशभित्रै जनता शरणार्थी बनेका छन् । विवेकका आँखा दिनदहाडै बन्द छन् । इतिहासका यी हरफबाट नेतृत्वले पाठ सिकून । नत्र उही हो, ‘पुनर्मूसिको भवः !’ 

टिप्पणीहरू