माधवको साथ छाडेर आउनेहरुबारे ओलीको रोचक टिप्पणीः आउँछन्, कराउँछन्, तर्साउँछन्, सुनिराख्ने, हेरिराख्ने

माधवको साथ छाडेर आउनेहरुबारे ओलीको रोचक टिप्पणीः आउँछन्, कराउँछन्, तर्साउँछन्, सुनिराख्ने, हेरिराख्ने

लाग्दो हो, पार्टी फुटसँग सहमति नभएर एमालेमै फर्किएका मान्छेहरुले अब भने–भनेको, रोजे–रोजेको पद, सुविधा पाउने भए । ओलीका लागि आफ्ना पुरानाभन्दा माधव छाडेर जानेहरु हाई–हाई होलान् ! तर, यदि कसैले यस्तो अनुमान गरेको छ भने त्यो कुरालाई ठीक उल्टोसँग बुझ्नुपर्ने एक एमाले नेता बताउँछन् ।

सोमबार विधान अधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि घनश्याम भुषालको फरक मत आएपछि अध्यक्ष केपी ओलीले बालकोटस्थित निवासमा आफू निकट नेतासँग छलफल गर्नुभयो । घनश्यामसहितका १० भाइको प्रसंगमा भन्नुभयो, ‘उनीहरु आउँछन्, कराउँछन्, चिच्याउँछन्, फकाउँछन्, तर्साउँछन्– मलाई यी सबै कुरा थाहा छ । उनीहरुले जे–जे गर्छन्, त्यो सुनिराख्ने, हेरिराख्ने । तर, केही पनि नगर्ने !’ अर्थात्, १० भाइमाथि ‘जिरो रेस्पोन्स’ को नीति ओलीले अबलम्बन गर्नुभएको छ ।

उहाँले अष्टलक्ष्मी शाक्य र भीम आचार्यलाई मुख्यमन्त्री बनेपछि भन्नुभएको छ, ‘मैले बनाउने कुरा बनाइहालेँ, अब जोगिने कुरा तपाईंहरुमा भर पर्छ । तपाईंहरुकै माधव नेपालले के गर्छन्, त्यो तपाईंहरुले जान्ने कुरा हो !’ दुईमध्ये अष्टलक्ष्मीले एकीकृत समाजवादीका केही सांसदले फ्लोर क्रस गरेर भए पनि आफूलाई जोगाउने बचन दिएको सुनाएकी छन् भने भीम आचार्यले केही कांग्रेसका सांसदको सहयोग लिने गरी कुरा अगाडि बढेको बताएका छन् ।

तर, भीमको समस्या अलिक जटिल छ । त्यो हो, एकीकृत समाजवादीमा गएकाहरुले फ्लोर क्रस गर्ने त कुरै भएन, बरु एमालेकै कतिपय सांसद मतदानका बेला अनुपस्थित हुने खतरा बढ्नु । प्रदेश १ का ओलीपक्षीय कतिपय सांसद भीमलाई विश्वासको मत दिने पक्षमा छैनन् । उनले ओलीसँग ती सांसदलाई फोन गरेर भनिदिनुप¥यो भन्ने माग गरेका छन् । तर, ओलीले खासै चासो दिनुभएको छैन । उहाँले दुबैलाई ‘मैले गर्ने गरिसकेँ, अब टिक्ने कि नटिक्ने कुरा तपाईंहरुको हातमा छ’ भन्नुभएको छ ।

उहाँले आफूनिकटस्थसँगको एक भित्री छलफलमा भन्नुभएको छ, ‘हिजो नेकपाको विवादमा को कता थियो भन्ने हिसाब मसँग छ ।’ उहाँले मंसिरको महाधिवेशनबाट आफू अध्यक्ष भएपछि संघीय संसदको एउटा चुनावसम्म मात्रै अध्यक्षका रुपमा काम गर्ने र त्यसपछि नेतृत्व हस्तान्तरण गर्ने भन्नुभएको छ । तर, नेतृत्व कसलाई हस्तान्तरण गर्नुहुन्छ, त्योचाहिँ खुलाउनुभएको छैन ।

टिप्पणीहरू