पछि विश्वप्रसिद्ध कलाकार, पहिले पागलप्रेमी

पछि विश्वप्रसिद्ध कलाकार, पहिले पागलप्रेमी

स्पेनिस चित्रकार पाब्लो पिकासो जन्मपर्यन्त विवादित रहे । बीसौं शताब्दीका सबैभन्दा चर्चित र समृद्ध कलाकार । तर, उनले जीवित छउञ्जेल सम्मान पाएनन्, न धन कमाउन सके, नतिजा जीवन अभावमै बित्यो । र, जब बिते सबैले हाइहाइ गरे ।

सन् १९३२ मा एउटा चित्र कोरेका थिए– एउटी महिला झ्यालमा बसिरहेको । त्यो बेला कुनै चर्चाको विषय बनेन तर करिब ९० वर्षपछि अस्ति मेमा यो चित्र १० करोड ३४ लाख डलर (१२ अर्ब २० करोड १२ लाख नेरूमा बिक्री भयो । यही चित्र ८ वर्षअघि लण्डनमा ४ करोड ४८ लाख डलरमा बेचिएको थियो । अहिले आएर दोब्बर दाममा बिक्री भएको हो । न्युयोर्क शहरमा लिलामी प्रक्रिया थालिएको १९ मिनेटमै उक्त चित्र ९ करोड डलरमा बिक्री भएको र पछि कमिसन तथा अन्य शुल्क जोड्दा १० करोड ३४ लाख पुगेको हो ।

उनैद्वारा सिर्जित अर्को चित्र ‘अल्जियर्सका महिलाहरू’ सन् १९१५ मा कतारका प्रधानमन्त्री हमाद बिन जाबोर बिन जसिम अल– थानीले १७ करोड ९४ लाख (नेरू २१ अर्ब १६ करोड ६९ लाखमा लिलामी सकारेका थिए । उनीद्वारा सिर्जित ५ वटा चित्र १० करोड डलरभन्दा बढी मूल्यमा बिक्री भइसकेका छन् ।

ओल्गा स्तेपानोभ्ना खोख्लोभा युक्रेनमा जन्मिएकी रूसी नर्तकी हुन् । बुबा रूसी र आमा युक्रेनी । सानैदेखि ब्याले नृत्यमा रुचि राख्ने । नृत्यकै सिलसिलामा फ्रान्स पुगिन् । त्यसबेला २६ वर्षकी थिइन् । भावुक स्वभावकी अनि कलाप्रेमी । जुन ब्याले कार्यक्रममा नृत्य प्रस्तुत गर्नुपर्ने थियो, त्यहाँ भाग लिने नर्तकीहरूको लुगाको डिजाइन गर्ने जिम्मा पिकासोलाई दिइएको थियो । कार्यक्रमकै दौरान उनीहरूको भेट भयो । पिकासो त्यो बेला ३६ को भैसकेका थिए । प्रेमिका त धेरै बनाए तर बिहे नै भने गरिसकेका थिएनन् ।

ओल्गा पातली थिइन् । मृदुभाषी, कुशल नर्तकी । मिथुन राशिका पिकासोलाई ओल्गाको सुडौल शरीर, मीठो स्वर र नृत्यमा बिजुलीसरहको गतिले तुरन्तै आकर्षित ग¥यो । कार्यक्रम समापनपछि भेटेरै ‘साहै्र राम्रो नाच्नुहुन्छ । बधाई छ तपाईंलाई ! मेरो तर्फबाट यो’ भन्दै फूलको गुच्छा दिए । पिकासोले उनको नृत्य मन पराएका छन् र बधाई दिन आइरहेका छन् भन्ने सूचना ओल्गाले पाइसकेकी थिइन् । पिकासोको फोटो र उनले कोरेका चित्रहरू पत्रपत्रिकामा हेरेकी थिइन् । पिकासोबारे लेखिएका समालोचनात्मक लेख पढेकी थिइन् । त्यसैले उनको हृदयमा पहिल्यैदेखि श्रद्धा, आदर, प्रेमको भावना उर्लिसकेको थियो ।

त्यो दिन पिकासोलाई प्रत्यक्ष देख्न पाउँदा र आफूले आदर र प्रेम गरेका उनै व्यक्तिले उपहारस्वरूप फूलको गुच्छा दिँदा बिर्सन नसक्ने क्षण बन्न पुग्यो । त्यसैले उनी खुशीले गद्गद् भइन् । पूरै दिन पिकासोसँग बिताइन् । त्यसपछि भेटघाट र घुमघाम नियमित दिनचर्या बन्न पुग्यो । एकदिन घुम्दैफिर्दै एकान्त ठाउँमा पुगे । दुबैले आ–आफ्नो मनको कुरा एकार्कालाई भने । पिकासोको प्रेमिल मन देखेर ओल्गा पग्लिइन् । उनले पिकासोलाई अँगालोमा बेरेर म्वाइँ खाइन् अनि भनिन्, ‘म तिमीसँग प्रेम गर्छु, तिमीलाई धेरै माया गर्छु । मलाई आफ्नो बनाऊ प्रिय !’

पिकासो युवतीहरूको मन जित्न खप्पिस थिए । ओल्गालाई स्विकारे । पिकासोसित संगत शुरु भएपछि ओल्गाले ब्याले टोलीलाई छाडिदिइन् । टोलीका अन्य सदस्य स्वदेश फर्किसकेपछि उनीहरू केही दिनका लागि दक्षिण अमेरिका घुम्न गए । युरोप फर्केर स्पेनको बार्सिलोना पुगे । पिकासोले ओल्गालाई आमा मारिया पिकासो लोपेजसँग भेट गराए । मारियाले छोरोलाई विदेशी केटीसँग बिहे गर्नु राम्रो हो भन्दै उक्साइन् । उनीहरू पेरिस फर्केर रुसी चर्चमा बिहे गरे । बिहेको साक्षी भए– चित्रकार तथा कवि मैक्स जैकोब । यो सन् १९१८ को जुलाई १२ को कुरा हो ।

ओल्गा देवीबाट पिकासोको दासी बनेको ठीक १ वर्षपछि दुवैजना लण्डन गए । ओल्गाले लियोनिद मासिनको संगीतमा प्रस्तुत गरिने नृत्य कार्यक्रम ‘ले तृकोर्ने’ मा भाग लिने अवसर पाएकी थिइन् । प्रसिद्ध रुसी ब्याले निर्देशक सर्गेइ डियागिलेभले उक्त कार्यक्रमको पोशाक डिजाइन गर्ने जिम्मा उनै पिकासोलाई दिए । पछि ओल्गाले ग्रेनाडा, स्पेन र फ्रान्समा पनि नृत्य प्रस्तुत गरिन् । फ्रान्समा उनको प्रस्तुतिलाई सबैले मन पराए । सो निकै सफल बन्यो ।

सन् १९२१ को फेब्रुअरी ४ मा ओल्गा छोरा पाउलको आमा बनिन् । पिकासोको बानी थियो, कुनै युवतीलाई आफ्नो नबनाउञ्जेल देवीको रूपमा पूजा गर्ने अनि दासी बनाइसकेपछि फरक व्यवहार गर्ने । प्रेमी–प्रेमिका होउञ्जेलसम्म मात्र उनीहरूको बीचमा प्रेम, स्नेह, सहयोग आदानप्रदान हुन्थ्यो, जुन दिन पति÷पत्नी बने, झगडा गर्न थाले । हरेक कुरामा मनमुटाव बढ्दै गयो । पाउलको जन्मपछि सम्बन्धमा झन् चिसोपना बढ्यो । एकदिन झगडाकै बीचमा पिकासो चिच्याए ‘आउट’ ।

ओल्गाले पिकासो यसरी बदलिएलान् भनेर सोचेकी थिइनन् । त्यो दिन पिकासोले घरबाट मात्र होइन आफ्नो जिन्दगीबाटै ‘आउट’ भनेका थिए । ओल्गा पिकासोको व्यवहार देखेर क्वाँक्वाँ रोइन् । बाहिर गएर चिच्याउँदै भनिन्, ‘पिकासो नीच मान्छे हो । उसले मलाई स्वास्नी होइन, नोकर्नीसरहको व्यवहार ग¥यो । उसले मेरो जीवनमा विष मिसाइदियो…।’

यसबीच, सन् १९२७ मा ४६ वर्ष पुगिसकेका पिकासोले १७ वर्षीया फ्रान्सिसी महिला मेरी थेरेसा वाल्टरलाई प्रेम गर्न थाले । सन् १९३५ मा ओल्गाले वाल्टर गर्भवती बनेको थाहा पाइन् । ओल्गाले हृदयदेखि नै पिकासोलाई त्याग्ने सोच बनाइन् र छोरो पाउललाई लिएर दक्षिण फ्रान्सतर्फ हिँडिन् । उनले पिकासोविरुद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गरिन् । पिकासोले सम्बन्धविच्छेद गर्न त चाहे तर सम्पत्ति बाँडफाँड गर्न मानेनन् । नतिजा, ओल्गा सम्बन्धविच्छेद नगरी कानुनी तवरमा पिकासोकी पत्नी नै बनेर बसिन् ।

ओल्गा सम्पत्ति नपाइएला भन्ने डरले कानुनी तवरमा पिकासोदेखि छुट्टिनन् तर चुप लागेर पनि बसिनन् । पिकासो जहाँ जान्थे, छायाँ बनेर पछि लाग्थिन् । नानाथरी व्यवहार गर्दै पिकासोलाई हायलकायल पार्थिन् । पिकासोको नाउँ जुनजुन महिलासँग जोडिन्थ्यो, तिनलाई खोजीखोजी कुट्थिन् । एकदिन पिकासो समुद्रको किनारमा आधा दर्जन युवती वरिपरि राखेर आनन्द लिँदै थिए, लोग्नेलाई पिछा गर्दै पुगेकी ओल्गाले देखिहालिन् । रिसलाई नियन्त्रण गर्न सकिनन् । दगुर्दै बालुवामा अर्धनग्न पल्टिराखेका पिकासो भएको ठाउँमा पुगिन् । एउटी युवतीको जगल्टा समातेर भुत्ल्याइन्, लछारपछार पारिन् अनि लतारेर परसम्म पु¥याइन् । ओल्गाको यो पारा देखेर पिकासो निकै क्रुद्ध बने तर गर्न पनि के सक्थे र ! टुलुटुलु हेरी बसे ।

यथार्थमा पिकासोले घर र जिन्दगीबाट ‘आउट’ गरेको घटनालाई ओल्गाले जीवनभरि बिर्सन सकिनन् । पिकासोको अन्य स्त्रीसितको सामीप्यलाई पनि कहिल्यै पचाइनन् । नतिजा समयसमयमा उनी विक्षिप्त बनिन् र उस्तै व्यवहार गर्न थालिन् । यसबीच, फ्रान्सिसी चित्रकार फ्रांकोइस गिलोट पिकासोको जीवनमा प्रवेश गरिसकेकी थिइन् । सन् १९४३ मा पिकासोसित पहिलो पटक भेट हुँदा गिलोट मात्र २१ की थिइन् जबकि पिकासो ६२ पुगिसकेका थिए । तैपनि, ती दुई जना प्रेमी–प्रेमिका बने । एकपटक उनै गिलोटको पनि ओल्गाले कपाल लुछिन् । लात्तीले हानिन् । ओल्गाको निधन सन् १९५५ मा क्यान्सरबाट भयो । त्यसबेला उनी ६४ वर्षकी थिइन् ।

पिकासोले जीवनमा धेरै स्त्रीसँग सम्बन्ध जोडे । छोराछोरीको बाउ बने । तर, बिहे मात्र २ जनासित गरे । ओल्गाको निधनपश्चात् सन् १९६१ मा ज्याकलिन रोक्युसँग बिहे गरे । त्यो बेला पिकासो ८० वर्षका थिए । ज्याकलिनसित उनले ११ वर्ष जीवन बिताए । सन् १९७३ मा पिकासोको निधन हुँदा ज्याकलिन ४६ की थिइन् । ज्याकलिनको निधन सन् १९८६ मा भयो । उनले गोली हानी आत्महत्या गरेकी थिइन् ।

टिप्पणीहरू