बबाल छ अहिले यतातिर

पुनः उद्योग सञ्चालन गर्ने नाममा गैरकानुनी बाटो अबलम्बन गरेपछि अख्तियारले विराटनगर जुट मिलका फायलहरु मन्त्रालयमा तान्न निर्देशन दिएको छ । अख्तियारका उपसचिव दीपक पराजुलीले त्यस्तो व्यहोराको पत्र काटेपछि जुट मिल सञ्चालन समितिका पदाधिकारीहरुको भागाभाग छ । 
 
४८ प्रतिशत शेयरलाई ६८ प्रतिशत बनाउन ०६६ सालमा गरिएको निर्णयको माइन्युट लुकाइएको आरोप छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत पाँच महाशाखाका निर्देशक फेरिएका छन् । एचआइभी एड्स तथा यौनरोग नियन्त्रण महाशाखाका डा.रमेश खरेल आपूर्ति व्यवस्था महाशाखामा सरुवा भएका छन् । उक्त महाशाखा देशभरका अस्पताललाई प्राविधिक उपकरणलगायतका खरिद सामग्री उपलब्ध गराउने निकाय हो । 
 
त्यसलाई स्वास्थ्यको भन्सार भन्ने गरिन्छ । पहिला त्यहीँ रहँदा अख्तियार लागेर मिङ्मार लामाहरुले जेल जानुपरेको थियो । पुनर्जागरण महाशाखाका मोहम्मद दाउद कुष्ठरोग महाशाखा पुगेका छन् । इपिडिमिओलोजी तथा रोग नियन्त्रण महाशाखाका डा.भीम आचार्य मन्त्रालय तानिए । मोहम्मद दाउलाई कर्मचारी पुनर्संरचनाको प्रमुख पनि बनाइएको छ । उनको जिम्मेवारी दोहोरो छ । जिम्मेवारी दोहोरो–तेहेरो हुनसक्छ । तर, सरकारी सेवामा सुविधाचाहिँ दोहोरो पाइँदैन । उनले कुष्ठरोग महाशाखासँगै पुनःसंरचना गरी फरक फरक कार्यालय स्थापना गरेर, फरक फरक सुविधा लिँदै आएका छन् । 
 
विभिन्न राजनीतिक नियुक्तिहरुको क्रम पनि शुरु हुन लागेको छ । मेडिकल काउन्सिलमा केही पद निर्वाचनबाट आएपछि बाँकी पदहरुमा गरिने नियुक्तिको लागि चलखेल शुरु भएको छ । त्यसबाहेक स्वास्थ्य व्यवसायी परिषद्, फार्मेसी परिषद्मा पनि नियुक्तिको होडबाजी शुरु भएको छ ।
 
– महेन्द्र गुरागाईं

टिप्पणीहरू