​मधेशी दल र नेताका महाभारत

पूर्व–पश्चिमतिरका थारू मतदाताको विश्वास जित्न नसकेका विजयकुमार गच्छदारले दुई नम्बर प्रदेशका हरेक जिल्लाबाट कम्तीमा एक÷एक वटा स्थानीय तह जित्नुपर्ने निर्देशन आफ्ना कमिटीलाई दिएका छन् । अन्य मधेसी दलको भन्दा कम भीडभाडमा उनको चुनावी तयारी शुरु भएको छ । दोस्रो चरणको निर्वाचनमा गृहनगर विराटनगर महानगरपालिकाबाट समेत रित्तो हात फर्किएका गच्छदारले थारू बाहुल्य कैलालीबाट संसदीय चुनावमा दुई सिट जिते पनि स्थानीय तहमा भने एक सिटमै चित्त बुझाउनुपरेको थियो । 

आफ्नै गृहनगरमा वडाध्यक्ष पनि जिताउन नसकेका गच्छदार त्यही मोरङ जिल्लाको निर्वाचन क्षेत्र नं. ५, ६ र ७ मा पहिलो संविधानसभा चुनावमा तीनवटै क्षेत्र हात पार्न सफल भएका थिए भने दोस्रो संविधानसभासम्म आइपुग्दा प्रमुख प्रतिद्वन्द्वीमा थन्किए । पार्टी नेतृत्व एकपछि अर्को असफल भइरहेका कारण गच्छदारले चुनावी समीक्षा र भावी रणनीतिका लागि कुनै छलफल चलाएका छैनन् । गच्छदारले पशुपति विकास कोषको सदस्य सचिव नियुक्त गर्दा पनि ठूलै पेटी लिएको चर्चा छ । आफू वरपर रहने सबैलाई खामबन्दी पु¥याएर रिझाउने गच्छदारले अहिले भने खामबन्दीमा पनि कटौती गरेका छन् । रामेश्वर यादव र योगेन्द्र चौधरी पलायन भएपछि उनलाई अर्को झड्का लागेको छ । 

योगेन्द्रले पश्चिममा पार्टी पराजित भएको भन्दै नैतिकताका आधारमा राजीनामा दिएका हुन् भने रामेश्वर भूमिसुधार विभागको महानिर्देशक हुसेन थरका सहसचिवलाई बनाउन खोज्दा गच्छदार बाधक भएपछि माओवादीमा छिरेका छन् । रामेश्वरले रामवचन अहिर, रामवीर यादव, कोषाध्यक्ष गुरुवा राने, उमाशंकर अगरिया, कामेश्वर साहलगायत नेता आफ्नो पक्षमा भएको भन्ने गरेका थिए । त्यसैगरी, नागरिक उड्डयनमन्त्री भएका जितेन्द्र देवले कार्यकर्ताको गुनासो नसुनेको आरोप छ । राजपाले तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिने भएपछि दोस्रो संविधानसभामा विजयी भएका चण्डेश्वर झा शरत्सिंह भण्डारीसँगको निकटताको कारण राजपा प्रवेशको तयारीमा छन् ।
– राजकुमार राय

टिप्पणीहरू