मुक्का खाएका मेयर भन्छन् ‘सुध्रिने मौका दिन्छु’

मुक्का खाएका मेयर भन्छन् ‘सुध्रिने मौका दिन्छु’

रुपन्देहीको बुटवलस्थित ज्योतिनगरमा केही दिनअघि पहिरो गयो । घटनास्थलको अवलोकन गर्न गएका बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि आक्रोशित स्थानीयहरु एकाएक जाइलागे ।

उनीहरु जाइ मात्र लागेनन्,एक जना युवाले उहाँको अनुहारमा मुक्का नै प्रहार गरे । मेयर सुवेदीमाथि मुक्का प्रहार गर्ने व्यक्ति अरु कोही नभएर उनकै कार्यकर्ता रहेको रहस्य पनि खुल्यो । उनी अनेरास्ववियुको रुपन्देही जिल्ला सदस्य गणेश पँगेनी हुन् ।

पँगेनीलाई प्रहरीले ठाउँको ठाउँ पक्राउ त गर्यो तर,घटनामा संलग्न उनीमाथि कुनै पनि किसिमको मुद्दा नचलाउने भनेर एमाले बुटवल उपमहानगर कमिटीले आज पत्रकार सम्मेलन नै गरेको छ ।

“सुवेदीले, ‘राजनीतिक योजना बनाएर आफ्नै कार्यकर्ताबाट कुटाइएको समेत हुनसक्ने,’ आशंका व्यक्त गर्नुभएको छ ।”

पक्राउ परेका उनीविरुद्ध हालसम्म कुनै पनि जाहेरी नपरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताउनुभयो । जनआस्थाले मुक्काप्रहारबाट पीडित मेयर सुवेदीसँग संक्षिप्त कुराकानी गर्ने क्रममा उहाँले भन्नुभयो, ‘आफू जनताको प्रतिनिधि भएको र नगरवासीहरु सुध्रिउन् भन्ने चाहना छ ।’

हिजोको घटनाबारे धेरै बोल्न नचाहेपनि सुवेदीले आफूले उनलाई सुध्रने मौका दिने तर बाँकी विषय सुरक्षा निकायले आफैँ विश्लेषण गर्नुपर्ने बताउनुभएको छ ।

मुक्का प्रहारमा आफ्नै पार्टीका कार्यकर्ता संलग्न रहेको थाहा पाएपछि एमालेले बचाउन खोजेको भनेर आलोचना भएको छ । तर मेयर सुवेदीले पार्टीको उपमहानगर कमिटीले गरेको भए आफूलाई थाहा नभएको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, ‘म स्वयम् जिल्ला कमिटी अध्यक्ष हो,त्यसबारेमा जिल्लामा केही कुरा उठेको छैन । सकेसम्म त हामी नगरवासी असल बनुन् भन्ने चाहन्छौँ । जुनसुकै पार्टीको भए पनि म जनप्रतिनिधि भएका कारणले सुध्रने मौका दिनु मेरो दायित्व हो ।’

हिजोको घटनालगत्तै एमाले उपमहानगरपालिका कमिटी र जिल्ला कमिटीले घटनामा संलग्नलाई कारबाहीको माग गरेको थियो । सोही आधारमा प्रहरीले पँगेनीलाई पक्रेको हो । मेयरमाथि मुक्का प्रहार गर्ने पँगेनी बुटवलका पहिरो प्रभावितमध्येका एक हुन् । मेयर सुवेदीले, ‘राजनीतिक योजना बनाएर आफ्नै कार्यकर्ताबाट कुटाइएको समेत हुनसक्ने,’ आशंका व्यक्त गर्नुभएको छ ।

टिप्पणीहरू