​अब खत्तम

अन्ततः भ्रष्टाचारीले चुनाव लड्नै नपाउने भएछन् । चुनावसम्बन्धी कानुनले भ्रष्टाचारीलाई चुनाव लड्न नपाइने व्यवस्था गरेको हो । भ्रष्टाचारीले त यो कानुनलाई पास नगराउन खुब प्रयास गरेका थिए तर सकेनन् । नेपालमा भ्रष्टाचारीहरूले गर्न नसकेको एउटा काम भनेको सम्भवतः यही नै होला । नभए आजसम्म के त्यस्तो भएको छ, जो भ्रष्टाचारीले गर्न नसकेको होस् । 

भ्रष्टाचारीलाई चुनाव नलडाउने कानुन पारित त भयो । तर, यसको असरचाहिँ के होला, त्यो हेर्न बाँकी छ । किनभने भ्रष्टाचारीलाई चुनाव नलडाउने भनेको सानोतिनो कुरो होइन । अब कांग्रेसको त एउटा ठूलै समूहले चुनाव लड्न नपाउने भयो । यसको अर्थ कांग्रेस पार्टी पूरैलाई नै चुनाव लड्न नदिने भन्या जस्तो भयो । कांग्रेसले चुनावमा भाग लिन पाएन भने लोकतन्त्रको के हविगत होला ? यसबारे कसैले सोचेको छ ? कांग्रेसबिनाको चुनाव कस्तो होला ? के कांग्रेसबिना लोकतन्त्र बच्न सक्छ ? यदि सक्दैन भने किन कांग्रेसलाई चुनावबाट बाहिर राख्न खोजेको ? यो लोकतन्त्रकै लागि घातक कुरा हो । यो कानुन त पास भयो तर लोकतन्त्रचाहिँ फेल हुने अवस्था आएको छ । 

टिप्पणीहरू