नेपाली टोली स्तर सुधारेर फर्कियो

नेपाली टोली स्तर सुधारेर फर्कियो

ओमान, अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि ओमान गएको नेपाली टिम आज स्वदेश फर्किएको हो ।

युवा खेलाडीको बाहुल्यता रहेको टोलीले भ्रमणका चार खेल मध्येका दुई खेलमा जित निकाल्न सफल भयो । साथै आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन–२ को तालिकामा स्थान सुधार समेत गरेर फर्किएको छ ।

घरेलु टोलीलाई उसैको मैदानमा पराजित गर्नु टोलीका लागि राम्रो पक्ष भएको नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले बताए । कप्तान मल्लले सिरिजमा अझै राम्रो गर्नका लागि धेरै वटा खेल युवा खेलाडीका लागि खाँचो रहेको थपे । यस्तै प्रशिक्षक डेभ ह्वाटमोरको छोटो बसाईमा टोलीमा राम्रो छाप परे पनि दीर्घकालिन योजनाअनुसार अगाडि बढ्न नसकेको कप्तान मल्लले तर्क राखे ।

प्रतियोगिताका आठ खेल मध्ये चारमा सफलता हात पारेको नेपालले तालिकामा दुई स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिँदा नेपाली युवा खेलाडीको प्रदर्शन तारिफयोग्य रह्यो । यसअघि ओपनिङमा समस्या देखिँदै आएकोमा ओमान भ्रमणमा भने केही सुधारिएको प्रदर्शन गर्न नेपाली टोली सफल भएको छ ।

ओमान भ्रमणमा गुल्सन झाले राष्ट्रिय टोलीमा डेब्यू गर्दा कप्तान ज्ञानेन्द्र मल्ल एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका छन् ।

साथै कप्तान मल्ल एक दिवसीय करिअरमा चार वटा अर्धशतक पूरा गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् । त्रिकोणात्मक सिरिजअघि नेपाली टोलीले ओमानमा रहँदा पपुवा न्युगिनीविरुद्ध दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो । जसमा नेपालले सिरिज क्लिन स्विप गरेको थियो ।

टिप्पणीहरू