ओली र देउवाको निरकुंश चरित्रका विरुध्द

ओली र देउवाको निरकुंश चरित्रका विरुध्द

-कौशल चेम्जोङ

काँग्रेस सभापति शेरबहादुर देउवाले नसोचेको मौका र जिम्मेवारी आइलागेपछि इमान्दारिताका साथ त्यसलाई पूरा गर्न लाग्नु पर्ने हो । तर उनले त्यसो गरेको अनुभूति भएको छैन । उनको असक्षमता पुनः दोहोरिने सम्भावना प्रवल छ ।

अघिल्लो पटक असक्षम कहलिँदा मुलुक तत्कालीन राजा ज्ञानेन्द्रको निरकुंश शैलीको शिकार भएको थियो । र,जनदबावबीच राजाले असक्षमलाई सक्षम बनाउन कर लागेको थियो । गएको निर्वाचनमा जनताले असक्षम नै भनिदिए । तर, नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निरकुंश प्रवृत्ति र सर्वोच्च अदालतको फैसलाको कारण काँग्रेस सभापति देउवा पुनः सक्षम बने ।

त्यसैले निरकुशंताका शिकार भएकाले असक्षम देउवा पुनः सक्षम छु भनेर अघि सरे । त्यसमा सर्वोच्च अदालतले पनि होस्टेंमा हैंसे गर्यो । आफू असक्षम भए पनि अरु बलियो नभएकाले,आफूले नजिते पनि, जित्नेहरु फुटेकाले एकाएक सक्षम बनेका देउवा वास्तवमै असक्षम हुन् त ? कुन देशको के तन्नेरी भनेझैँ प्रधानमन्त्री शेरबहादुर देउवामा देखिएका लक्षणहरुले भन्छन् :

१) आफ्ना नागरिकको सुरक्षा गर्न नसक्ने सरकार, के सरकार ? ? जयसिंह धामीहरुको जोखनाले भन्छ, देउवा गठबन्धनका बुख्याँचा हुन्, तर यो बुख्याँचामा कसले ज्यान भरेको छ ? नेपालका राजनीतिक दल वा अन्यत्रबाट भुँडी भर्नेहरुले ? यदि यस्तो होइन भने छानबिन गर्नेले नै प्रतिवेदन सार्वजनिक किन गर्न सक्दैन ?

२) प्रम देउवाले सरकारलाई पूर्णता दिनका निम्ति एमसीसी संसदबाट पास गर्नु पर्ने,अन्यथा गठबन्धनका दलहरुलाई सामेल नगर्ने गाईंगुईं चलेका छन् । यस्तो हो भने नेपाली काँग्रेस र प्रधानमन्त्री देउवाको लागि यो नै सबैभन्दा ठूलो दुर्भाग्य हो । कोशी र गण्डकी बेचेर कलँकित बनेको काँग्रेसलाई एकलौटी देश बेच्ने अधिकार छैन भन्ने कुरा राम्रैसँग हेक्का हुनु पर्ने हो । र, काँग्रेस एक्लैले चाहेर पनि यतिखेर भने यो सम्भव छैन ।

यस्तो राष्ट्रघाती निर्णयविरुद्ध देशभक्त काँग्रेसजन नै मैदानमा ओर्लिन्छन् । किनभने यो सञ्चारको युग हो,रेडियो बजाउन र टर्च लाइट बाल्न गाउँ पञ्चायतबाट लाइसेन्स लिनु पर्ने सामन्तीप्रथा उहिले आर्यघाटमा बिर्सजन भइसकेको छ ।

३) यो सरकार दुई चार दिन भए पनि ‘बजेट ठप्प दिन’ मनाउन सफल भएको छ । यो कतै कहिले नहुने काण्ड मच्चाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐतिहासिक रेकर्ड राख्न सफल भएको छ । यो रेकर्ड कायम गर्न रचनात्मक प्रतिपक्षको पनि सक्रिय योगदान छ । तर मुख्य कुरा र काम त सरकारको नेतृत्व गर्नेको हो । विपक्षीको त धर्मै हो दुईतिहाईबाट झरेपछि फुईंतिहाई लगाउने । र, यो प्रश्न सरकारलाई गरिने प्रश्न नै हो । किनभने सरकार जहिले पनि सर्वसाधारण र विपक्षभन्दा बलियो र जिम्मेवार हुन्छ ।

अर्को महत्वपूर्ण लक्षण भनेको एमाले अध्यक्ष केपी शर्मा ओली र उनीबीच केही समानता देखिँदै जानु हो । ओलीले नेकपा एमालेको विधानलाई धोती लाएजस्तै उनी काँग्रेसको विधानलाई धोती लाइदिन सक्षम छन् । आसेपासे, हुक्के, चम्चेहरुबाहेक अरुलाई काँग्रेस नदेख्ने रोगले उनलाई पनि च्याप्दै लगेको छ । आफूभन्दा फरक मत राखेर पार्टीलाई जीवन्त राख्न चाहनेलाई पार्टीबाटै उठिबास लगाउन कुनै कसर राख्नेवाला छैनन् । उनको आँखामा फुलो पर्दैछ, फुलो परेको आँखाले आफू मात्र ठीक, अरु सबै बेठीक देख्न शुरु गरेको छ ।

फरक के छ भने ओली ब्राम्हणमा पनि कुमाई भएकाले घुमाइ घुमाइ भन्छन्, देउवा खस भएकाले खसखस गर्दै नबुझ्ने पारामा कुरो राख्न खोज्छन् । तसर्थ यो महारोगले गठबन्धनको नेतृत्व गरेको नेपाली काँग्रेस र सभापति शेरबहादुर देउवालाई लपेट्यो भने दल र नेताप्रतिको विश्वास उठ्छ ।

नेपाली जनताको विश्वास दल र नेताबाट उठ्यो भने भन्नु पर्दैन, पारस शाहले भरतमणि पौडेलमार्फत् हेल्मेट बोल्छ,अनि छाता र जुत्ता पनि खोज्न थाल्यो भने आश्चर्य मान्नु पर्दैन । किनभने लौहपुरुष गणेशमान सिंहले उतिबेलै भन्नुभएको छ, ‘जनता भेंडा हुन्छन् । र, भेंडा बिच्केर हिँड्न थाल्यो भने भेंडीगोठालाले कुकुरले नपाएको दुःख पाउँछ । तसर्थ भेंडीगोठालाले हैसियत बिर्सनु भएन ।’

टिप्पणीहरू